पुँजीबजारमा लगानीकर्ताभन्दा पनि टेण्डर गर्ने शेयर व्यापारी हावी भएः लगानीकर्ताका नेताहरु

Advertisement

काठमाडौं । नेपालको धितोपत्र बजारलाई लगानीकर्ताहरुले आफू अनकुल चलाउन खोज्दा शेयर बजारमा निरन्तर गिरावट देखिएको लगानीकर्ताका नेताहरुले बताएका छन् । 

नयाँ सत्ता समिकरण र विष्णु पौडेल अर्थमन्त्री भएसँगै दुई हजार अंकमा रहेको पुँजीबजार छोटो समयमा तीन हजार अंक माथि पुगेको थियो । अर्थमन्त्री पौडेललाई देखाएर उचाई लिएको पुँजीबजार अहिले बिना कारण निरन्तर ओरालो लागेर २५ सय अंकको हाराहारीमा झरेको छ । 

Advertisement

बजारमा देखिएको यो उतारचढाबमा स्वयम लगानीकर्ता दोषी रहेको भन्दै शेयर बजारका अगुवाहरुले लगानीकर्ताले आफू अनुकुल बजारलाई चलाउन खोजेको बताएका हुन् । 

पुँजीबजारप्रति सकारात्मक भएको सरकार एवं अर्थमन्त्री र राष्ट्र बैंकले समेत पुँजीबजारमैत्री मौद्रिक नीति ल्याएपनि बजारमा देखिएको सुधार क्षणिक बन्न पुगेको छ । तीन हजारमाथि पुगेको पुँजीबजार २५ सय अंकमा झरेसँगै अर्थमन्त्री आफैँले पुँजीबजार सुधारको लागि नेप्से लगायतका निकायहरुमा पुगेर निर्देशन समेत दिएका थिए । 

तर पनि बजारले सुधारको गति लिन सकेको छैन । अर्थमन्त्रीले नेपाल स्टक एक्सचेञ्ज लि. (नेप्से)मा पुगेर गरेको अनुगमनसँगै बिहीवार उच्च अंकको सुधार देखिएको थियो । तर पनि पुँजीबजारले गति लिन सकेको छैन । 

गत असार १६ गते २०३७.०९ बिन्दुबाट ९६३.७२ अंकले बढेर साउन ३१ गते ३०००.८१ बिन्दुमा पुगेको बजार अहिले निरन्तर ओरालो लागिरहेको छ । बजार लगातार न्यून बिन्दुतर्फ झर्नुको पछाडी नीतिगत र सरकारको कारण भन्दा पनि लगानीकर्ताको कारण देखिएको उनीहरुको भनाई छ । 

बजार घटबढ हुनु स्वाभाविक भए पनि दल जानु ठूला लगानीकर्ताले बजारलाई आफू अनकुल चलाउनु खोजेको देखिन्छ । दुई हजार अंकको शेयर बजार तीन हजारभन्दा माथि पुग्नुलाई अधिकांश लगानीकर्ताले पुँजीबजार करेक्शनपछिको बाउन्सको रूपमा लिएका थिए । 

सरकारले नीतिगत सुधार र बजारलाई पारदर्शी रुपमा लैजानसके पुँजीबजार सुधारको बाटोमा जाने लगानीकर्ताका नेताहरुको विचार छ । पछिल्लो समय पुँजीबजारमा देखिएको गिरावट लगानीकर्ताको अस्थिरताको कारण भएको उनीहरुले समेत स्वीकार गरेका छन् । 

पुँजीबजार लगानीकर्ताहरुले बजारलाई स्वतःस्फुर्त भन्दा पनि लगानीकर्ता अनकुल चलाउन खोज्दा बजारमा असर परेको पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् । ठूला, पुराना र अनुभवी लगानीकर्ताले बजारलाई आफू अनकुल चलाउँदा पुँजीबजार सुधार हुन नसकेको उनको बुझाई छ । 

नानसँगको कुराकानीमा पोखरेलले बजारलाई स्वतन्त्र छोड्नुपर्ने भएपनि बजारलाई ठूला लगानीकर्ताले नियन्त्रणमा लिन खाजेको आरोप लगाइन् । उनले शेयर बजार सानो कुराले पनि दीर्घकालिन असर पर्ने गरेको भन्दै लगानीकर्ता अनुकुल चलाउने प्रयासले बजार माथि जान नसकेको बताइन् । 

नेपालको पुँजीबजार आर्थिक सूचकांकले भन्दा पनि राजनीतिक इण्डिकेटरले चलाइरहेको बताउँदै पोखरेलले पुँजीबजार सुधार हुन नसक्नु लगानीकर्ता नै दोषी रहेको बताइन् । उनले पछिल्लो समय सानादेखि ठूला लगानीकर्ता समेत शेयर बजारका लगानीकर्ता भन्दा पनि व्यापारी बन्न खोज्दा बजार समस्यामा पुगेको बताइन् । 

पुँजीबजार माथि जाँदा ६२ लाख लगानीकर्ता बजार प्रवेश गरे जस्तो लाग्ने र बजार तल जाने बित्तिकै बजार सुस्ताएको जस्तो देखिने बताउँदै पोखरेलले बजार बढेको समयमा ब्रोकरलाई भुक्तानी नगरी ठूला लगानीकर्ताले नाफा कमाएको आरोप लगाइन् । 

उनले त्यही समयमा बजारमा गिरावट आउँदा ब्रोकरलाई व्यवस्थापनमा समस्या हुँदा बजारमा कारोबार रकम कम र अंक दुवैमा गिरावट आएको बताइन् । सरकारले पुँजीबजार सुधारको लागि अझै थप नीतिगत सुधार गर्न जरुरी रहेको पोखरेलले उल्लेख गरिन् । 

उनले भनिन्, ‘साधारण रुपमा बजार चल्छ भने त्यसलाई साधारण रुपमा लिइन्छ । सरकारको नयाँ समीकरण र अर्थमन्त्रीलाई लगानीकर्ताले रुचाएको अवस्था हो । विष्णु पौडेल अर्थमन्त्री भएकै कारण बजार माथि गएको थियो । तर बजारलाई व्यवस्थित बनाउन नीतिगत सुधार गर्नुपर्ने कुराहरु धेरै छन् । त्यो हुन सकेको छैन । नेपालको पुँजीबजार परिपक्क भइसकेको छैन । अहिले पुँजीबजारमा लगानीकर्ता भन्दा पनि टेण्डर भएका छन् । अर्थात लगानीकर्ताभन्दा पनि शेयर व्यापारी भएका छन् ।’

पोखरेलले थपिन्, ‘पछिल्लो समय जसरी बजार उकालो लाग्यो त्यही रुपमा बजार ओरालो पनि लायो । यसमा अर्थमन्त्री र सरकारलाई दोष दिने होइन । लगानीकर्तामा लगानी गर्ने प्यासन छैन । आज बजार घट्नुमा लगानीकर्ता नै दोषी छन् । बजारमा प्रवेश गर्ने बेच्ने प्रचलन बढी भयो । लगानीकर्ता पनि दोषी छन् । पुँजीबजारमा लगानीको उपयुक्त वातावरण हुँदा पनि शेयरलगानी कर्ताले बजारलाई आफू अनकुल चलाउन खोज्दा बजारमा समस्या भएको छ ।’

स्टक ब्रोकर एशोसिएशनका पूर्वअध्यक्ष प्रियराज रेग्मीले पनि शेयर बजारमा लगानी गरेपछि कमाउनको लागि धैर्यता आवश्यक रहेको बताए । उनले पछिल्लो समय लगानीकर्तामा पुँजीबजारमा लगानी गरेपछि कति समयको लागि लगानी गर्ने ? कति समय धैर्य गर्ने ? भन्ने दीर्घकालिन योजना विना लगानी गर्दा बजारमा समस्या देखिएको बताए । 

रेग्मीले शेयर बजार लगानीकर्ताहरुले लगानी गर्ने बित्तिकै तत्काल रिटर्न खोज्न थालेकाले बजार दीर्घकालिन रुपमा सुधार हुन नसकेको उल्लेख गरे । उनले शेयर बजारमा गरेको लगानी बैंकमा पैसा राखेर आजको भोलि ब्याज आउने जस्तो सोच राख्न नहुने बताए । 

लगानी, लगानीकर्ता भन्दा पनि पूर्वाधार र अन्य औजार कमी भएको बजारमा साना लगानीकर्ता पनि टेण्डर हुन खोज्दा पुँजीबजारमा नकारात्मक प्रभाव परेको रेग्मीले उल्लेख गरे । उनले भने, ‘दुई हजार २२ सयको बजार ५० दिनमा ३ हजार पुग्यो । करिव १ हजार अंकको वृद्धि भयो । जुन छोटो समयमा भयो । त्यसले गर्दा विगतदेखि लगानी गर्ने लगानीकर्तालाई पनि पर्याप्त नाफा भयो । तीन हजार २ सय अंकबाट बजार तल आउँदै गर्दा डुबेका लगानीकर्ताको पनि लागत रिकभरी भयो । लगानी उठेका लगानीकर्ताले पनि शेयर बेचे । साना लगानीकर्ताले लगानी गरेका नाफा भएको शेयर बेच्यो ।’ 

पूर्वअध्यक्ष रेग्मीले दुई ठूला राजनीतिक पार्टी मिलेर सरकार बन्दा बजारमा सुधार देखिएको भएपनि आश्वसनले मात्रै बजार सुधार नहुने बताए । उनले लगानीकर्ता पनि स्मार्ट भएकाले पुँजीबजारमा लगानीमैत्री वातावरण हेरेर लगानी गर्ने बताए । 

रेग्मीले अहिले पुँजीबजार माथि उठेर पनि टिक्न नसकेको अवस्था रहेको बताए । उनले  बजार करेक्शन भएर लयमा फर्किन थालेको बताए । रेग्मीले सरकारको आश्वसन र नीतिगत परिवर्तनले केही सुधार भएपनि छोटो समयमा धेरै बढेर करेक्शन हुन राम्रो भएको बताए । 

उनले सरकारले थप नीतिगत र प्राविधिक सुधार गर्दै जाने हो भने नेपाली पुँजीबजारको भविष्य राम्रो रहेको बताए । रेग्मीले लगानीकर्ताले हल्लाको आधारमा भन्दा पनि कम्पनीहरुको वित्तीय अवस्था अध्ययन गरेर दीर्घकालिन सोचका साथ लगानी गर्न आवश्यक रहेको बताए । 

शेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा फुलेलले पनि बजार तल आउनुको मुख्य कारण लगानीकर्ताले नाफा बुक गर्नु रहेको बताए । उनले बजार करेक्शन हुनु राम्रो भएपनि अहिलेको स्थितिमा आउनु राम्रो नभएको बताए । 

फुलेलले पछिल्लो समय बजारमा शेयर बेच्ने लगानीकर्ताहरुले अफवाह फैल्याउने खालका कार्यले बजार तल झरेको बताए । उनले शेयर बजारलाई लगानीकर्ता अनकुल चलाउन खोज्दा पनि बजार माथि जान नसकेको बताए । 

बजार अनुकुल लगानीकर्ता चल्नुपर्ने भएपनि बजारलाई लगानीकर्ताले आफू अनकुल चलाउन खोज्दा शेयर बजार प्रभावित भएको बताउँदै फुलेलले आगामी दिनमा पनि पुँजीबजार सुधार हुँदै जाने बताए । उनले भने, ‘शेयर बजारमा रुचाएका अर्थमन्त्री आएकाले पनि दुई वर्षदेखि शिथिल बनेको शेयर बजारमा सुधार भयो । नयाँ सरकार बनेसँगै केही नीतिगत सुधार हुने अपेक्षाका साथ शेयर बजार लगानीकर्ता उत्साहित हुँदा बजार सुधार देखियो ।’

फुलेलले थपे, ‘शेयर बजारको विशेषता केही समय बुलमा जाने र बेरिसमा जाने ट्रेन हुन्छ । त्यो अनुसार नेपाली पुँजीबजार बेरिसको अन्त्यतिर थियो । त्यो बेलामा नयाँ सरकार बन्यो । त्यसपछि पुँजीबजार माथि गयो । तर पछिल्लो समय लगातार बजार तल आयो । बजार तल आउनुको मुख्य कारण लगानीकर्ताले नाफा बुक गर्नु हो । त्यसलाई करेक्सन मान्नुपर्छ । तर यति तल आउनु पर्ने होइन बजारमा शेयर बेच्नेहरुले बजारमा अफवाह फैल्याउने खालका कार्यले बजार तल झ¥यो । अहिले बजारमा तरलता प्रशस्त छ । वेसरेट पनि कम हुँदै आएको छ । बैंकहरुमा शेयर कर्जा प्रवाह गर्न तयार छन् । तर लगानीकर्ताहरु अस्थिरता हुने आशंकाका कारण पनि कर्जा लिन जान सकेका छैनन् । त्यसको लागि सरकारले केही कुराहरु तत्काल सम्बोधन गर्नुपर्छ । तत्काल सरकारले पुँजीबजारसम्बन्धी नीतिगत सुधारका प्रक्रिया अघि बढाउनुपर्छ । धितोपत्र बोर्डको अध्यक्ष तत्काल नियुक्ति गर्नुपर्छ ।’

Advertisement

Advertisement