झन् बलियो बन्दै डलर, नेपाली रुपियाँ एकै महिना ०.५ प्रतिशतले अवमूल्यन

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना नेपाली रुपियाँ अमेरिकी डलरसँग ०.५ प्रतिशतले अवमूल्यन हुन पुगेको छ । 

२०८१ असार मसान्तमा अमेरिकी डलर एकको विनिमय दर रु. १३३.३६ रहेकोमा साउनमा सो दर बढेर रु. १३४.०२ पुगेको हो । 

Advertisement

खासगरी अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर घट्दैगर्दा यता डलर र सुनको मूल्य बढिरहेको छ । रुस र युक्रेन, इजरायल र प्यालेसटाइन लगायतका खाडी मुलुकहरुबीच तनावको स्थिति चलिरहेका बेला बढीभन्दा बढी लगानी सुन र डलरमा हुँदा अमेरिकी डलरको मूल्य बढ्न पुगेको हो । 

अन्तर्राष्ट्रिय बजारमा २०८० साउन मसान्तमा प्रतिब्यारल अमेरिकी डलर ८५.२४ रहेको कच्चा पेट्रोलियम (क्रुड आयल)को मूल्य २०८१ साउन मसान्तमा ४.३ प्रतिशतले कमी आई अमेरिकी डलर ८१.५६ कायम भएको छ ।

त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०८० साउन मसान्तमा प्रतिआउन्स सुनको मूल्य अमेरिकी डलर १८९६.३५ रहेकोमा २०८१ साउन मसान्तमा ३१.१ प्रतिशतले वृद्धि भई अमेरिकी डलर २४८५.८० पुगेको छ । यसको प्रभाव नेपाली मुद्रामा समेत परेको छ । 

अमेरिकी डलर शक्तिशाली बन्दा भारतीय रुपियाँ कमजोर बनिरहेको छ । नेपाली मुद्रा भारतीय मुद्रासँग प्यक गरिएको छ जसले गर्दा भारतीय मुद्रा कमजोर बन्दा स्वतः नेपाली मुद्रा पनि कमजोर बन्न पुग्छ । यस्तै भारतीय मुद्रा बलियो बन्दा नेपाली मुद्रा पनि बलियो बन्छ । 

Advertisement

Advertisement