शहरमा भन्दा गाउँमा उच्च मूल्य

सबैभन्दा महंगो प्रदेश सुदूरपश्चिम, सस्तोमा कर्णाली

Advertisement

काठमाडौं । नेपालका सात प्रदेश मध्य सुदुर पश्चिम प्रदेशमा बस्तु तथा सेवाको मूल्य सबै भन्दा धेरै देखिएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त साउन महिनाको प्रदेशगत ‘उपभोक्ता मूल्य सुचकांक’ मा सुदुर पश्चिम प्रदेशको सुचकांक (इन्डेक्स) सबैभन्दा धेरै देखिएको हो । 

साउनमा नेपालको समग्र उपभोक्ता मूल्य सुचकांक १०३.२३ विन्दुमा छ । त्यसमा प्रदेशगत रुपमा हेर्दा सुदुर पश्चिमको इन्डेक्स १०५.३७ विन्दुमा पुगेको छ, जुन अन्य प्रदेशको तुलनामा सबै भन्दा बढी हो । 

Advertisement

null
त्यसपछि कोशी प्रदेश सबै भन्दा महंगो देखिएको छ । कोशी प्रदेशको मूल्य सुचकांक १०३.७३ विन्दुमा छ । त्यसपछि लुम्बिनी प्रदेश महंगो देखिएको छ । त्यहाँको मूल्य सुचकांक १०३.४३ विन्दुमा देखिएको छ ।

यसैगरि मधेश प्रदेशको १०३.४०, गण्डकी प्रदेशको १०२.७९ र बागमती प्रदेको १०२.५६ विन्दुमा यस्तो सुचकांक देखिएको छ । 

कर्णाली प्रदेशको मूल्य सुचकांक भने सबै भन्दा कम अर्थात् १०२.३३ मात्रै देखिएको छ । योअनुसार अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेश सस्तो रहेको देखिन्छ । 

सुदुर पश्चिम प्रदेशमा उपभोग हुने अधिकांश बस्तु तथा सेवाहरु काठमाडौं लगायतका देश बिभिन्न ठाउँबाट खरिद गर्नूपर्छ । साथै, भारतदेखि पनि आयात गर्नुपर्छ । त्यसमाथि सुदुर पश्चिममा सडक पुर्वाधार पर्याप्त मात्रामा बनेका छैनन् । त्यसले गर्दा ढुवानी लागत उच्च हुने गरेको छ । त्यसले गर्दा त्यहाँको मूल्य सुचकांक उच्च हुन गएको जानकारवालाहरु बताउँछन् । 

यस्तै, कर्णालीमा उपभोग हुने बस्तु तथा सेवाहरु पनि बाहिरबाटै लैजानुपर्छ । तर, अधिकांश खाद्य बस्तुहरु कर्णाली प्रदेश भित्रै उत्पादन हुन्छन् । मूल्य सुचकांकमा सबै भन्दा धेरै भारित हिस्सा आवासको छ । तर, कर्णालीमा आवासमा अर्थात् घरभाडाको दरहरु सस्तो छ । यी यस्ता कारण कर्णाली प्रदेश सस्तो देखिएको बताइएको छ ।

देश संघीय अर्थात् प्रदेश संरचनामा गएको ७–८ बर्षपछि राष्ट्र बैंकले पहिलो पटक प्रदेशगत मूल्य सुचकांक निकाले को हो । यसअघि राष्ट्र बैंकले आधार बर्ष २०७१–७२ अनुसार मूल्य सुचकांक गणना गर्दै आएको थियो । त्यसबेला नेपाल संघीय संरचनामा गइसकेको थिएन । चालु आव २०८१–८२ को साउन देखि भने आधार बर्ष २०८०–८१ अनुसार मूल्य सुचकांक गणना गर्न थालिएको छ । त्यसमा प्रदेशगत सुचकांक पनि निकाल्न थालिएको छ । त्यसमा ७७ जिल्लाको ८७ वटा मार्केट सेन्टरबाट तथ्यांक संकलन गरिएको छ ।

यसअघि ५० जिल्लाको ६० मार्केट सेन्टरबाट मात्रै तथ्यांक संकलन गरिन्थ्यो । साथै, ५२५ बस्तु तथा सेवाको आधारमा मूल्य सचकांक गणना गरिएको छ । पहिला ४९६ वस्तु तथा सेवाको आधारमा यस्तो तथ्यांक गणना गरिएको छ । अहिले यसमा १३५ बस्तु तथा सेवा थपिएको छ । १०६ वटा वस्तु तथा सेवा भने हटाइएको छ । यहीअनुसार राष्ट्रिय, प्रदेशगत, शहरी र ग्रामिण क्षेत्रको मूल्य सुचकांक निकालीएको छ । 

मूल्यबृद्धि दर पनि सुदुर पश्चिममै उच्च 
मूल्य बृद्धिदर (मुद्रास्फीति) पनि सुदुर पश्चिम प्रदेशमै उच्च देखिएको छ । साउन महिनामा नेपालको औसत मूल्य बृद्धिदर ४.१० प्रतिशत छ । प्रदेशगत रुपमा हेर्दा सुदुर पश्चिमको मूल्य बृद्धिदर ६.६९ प्रतिशत देखिएको छ, जुन अन्य प्रदेशको तुलनामा सबै भन्दा धेरै हो । 

null
 
दोस्रो नम्बरमा भने कोशी प्रदेश रहेको छ, कोशी प्रदेशको मूल्य बृद्धिदर ४.६१ प्रतिशत देखिएको छ । यसैगरि मधेश प्रदेशमा ४.१७ प्रतिशत, गण्डकीमा ३.९० प्रतिशत, लुम्बिनीमा ३.८१ प्रतिशत, बागमतीमा ३.४९ प्रतिशतको मूल्य बृद्धि देखिएको छ । मूल्य बृद्धिदर पनि कर्णाली प्रदेशकै कम देखिएको छ । समिक्षा महिनामा कर्णालीको मूल्य बृद्धिदर ३.४६ प्रतिशत मात्रै छ, जुन अन्य प्रदेशको तुलनामा कम हो । 

शहर भन्दा गाउँ महंगो 
तथ्यांकले नेपालको शहर भन्दा गाउँमा महंगी उच्च देखाएको छ । तथ्यांकअनुसार अहिले शहरको मूल्य सुचकांक १०३.१५ विन्दुमा छ । तर, गाउँको सुचकांक भने १०३.४३ विन्दुमा देखिएको छ । 

तथ्यांकअनुसार मूल्य बृद्धिदर पनि गाउँमै उच्च देखिएको छ । शहरी क्षेत्रको मूल्य बृद्धिदर ४.०३ प्रतिशत हुदाँ ग्रामिण क्षेत्रमा ४.२८ प्रतिशत देखिएको छ । 

बढ्दो विदेश पलायनले गाम्रिण क्षेत्रमा हुने उत्पादन घटेको छ । त्यसले गर्दा गाउँ–गाउँमा आयातित खाद्यन्न सामग्री पुग्न थालेका छन् । त्यसले गर्दा ढुवानी खर्च बढी हुन गई मूल्य पनि उच्च हुन गएको जानकारवालाहरु बताउँछन् ।

Advertisement

Advertisement