व्यवसायीहरुको ‘बिजनेस’ भ्रमण घाटामा, एक महिनामा खर्च २९ करोड, आम्दानी जम्मा सात करोड

Advertisement

काठमाडौं । नेपालबाट बिजनेस भिसामा बाहिरिने रकम बढ्दै गएको देखिएको छ । चालु आर्थिक बर्ष २०८१–८२ को साउन महिनामा मात्रै बिजनेस भिसामा विदेश जाने व्यवसायीहरुमार्फत २९ करोड १० लाख रुपियाँ बाहिरिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको शोधनान्तर स्थितिसम्वन्धी पहिलो पटक सार्वजनिक तथ्यांकअनुसार बिजनेस भिसामार्फत बाहिरिने रकम निराशाजनक देखिएको हो ।

Advertisement

चालु आवको पहिलो महिनामा यस अन्तरगत २९ करोड १० लाख रुपियाँ बाहिरिएको छ । यसअघि आव २०७९–८० को साउनमा १२ करोड ३७ लाख रुपियाँ र २०८०–८१ को साउनमा २२ लाख ७१ रुपियाँ बिजनेस भिसामा बाहिरिएको थियो । यसको बार्षिक तथ्यांक भने आउन बाँकी छ ।

राष्ट्र बैंकले यो तथ्यांकलाई ‘ट्राभल’ शीर्षकअन्तर्गत राखेको छ । आयात–निर्यात सम्बन्धी काम गर्न, व्यवसायीक बैठक, व्यवसाय विस्तार लगायतका प्रयोजनका लागि नेपाली व्यवसायीहरुले बिजनेस भिसामा बिभिन्न देश जाने गर्छन् । 

यस्तो भिसामा जाने व्यक्तिको संख्या न्यून हुन्छ । त्यसको तुलनामा भने बिजनेस भिसामार्फत बाहिरिने रकम धेरै देखिन्छ । समीक्षा महिनामा बिजनेस भिसामा नेपाल आउने विदेशी व्यवसायीहरु सात करोड १७ लाख रुपियाँ खर्च गरेका छन् । 

यसअघि आव २०७९–८० मा १७ लाख रुपियाँ र आव २०८०–८१ मा नौ करोड ९३ लाख रुपियाँ भित्रिएको छ । यो तथ्यांकअनुसार बिजनेस भ्रमणमा नेपाल घाटामा देखिन्छ । 

यस्तै, समीक्षा अवधीमा व्यक्तिगत भ्रमण भिसामा २२ अर्ब २० करोड ७२ लाख रुपियाँ बाहिरिएको छ । त्यसअन्तरगत स्वास्थ्य उपचारका लागि एक करोड ६६ लाख रुपियाँ, शिक्षाका लागि १४ अर्ब ९२ करोड २३ लाख रुपियाँ र अन्य (भ्रमण)मा सात अर्ब २६ करोड ८३ लाख रुपियाँ बाहिरिएको छ । स्वास्थ्य उपचारका लागि बाहिरिने रकमको तथ्यांक पनि पहिलो पटक प्रकाशन गरिएको हो । 

यस्तै, यही अवधीमा व्यक्तिगत भ्रमण भिसामार्फत चार अर्ब ६९ करोड २१ लाख रुपियाँ भित्रिएको छ । त्यसमा स्वास्थ्य सेवामा ३१ लाख, शिक्षामा १६ करोड ७६ लाख र अन्य (भ्रमण)मा चार अर्ब ५२ करोड १३ लाख रुपियाँ भित्रिएको छ ।

Advertisement

Advertisement