नेपाल बैंकर्स संघमा दिगो वित्त विभाग स्थापना

Advertisement

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) र इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आईआईएन) द्वारा संयुक्त रूपमा ‘सेमिनार अन इन्टिग्रेटिङ क्लाइमेट फाइनान्स एण्ड ग्रीन फाइनान्स ट्याक्सोनोमी इन टी बैंकिङ इण्डष्टी अफ नेपाल कार्यक्रमको आयोजना गरियो । 

नेपालको वित्तीय क्षेत्रलाई सस्टेनेबल फाइनान्सिङ उन्मुख बनाउन, यसको वर्तमान अवस्थाको मुल्यांकन तथा यससंग सम्बन्धित अन्तर्राष्ट्रिय अभ्यास तथा चुनौतीहरुलाई कसरी समाधान गर्दै अगाडि बढ्न सकिन्छ भन्ने विषयमा कार्यक्रम केन्द्रित थियो ।

Advertisement

नेपालका लागि स्विट्जरल्याण्डका राजदूत महामहिम डा. डेनियल मेउलीले स्वागत मन्तव्यका क्रममा दिगो बैंकिङको लागि सुरुवात गरेको पहल महत्वपूर्ण रहेको बताए । 

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपालको बैंकिङ उद्योगमा जलवायु वित्तको महत्वमा जोड दिँदै दिगो वित्त प्रवद्र्धन गर्न नेपालको बैंकिङ क्षेत्र प्रतिबद्ध रहेको बताए । 

एफएमओ नेदरल्याण्डका प्रमुख कार्यकारी अधिकृत मिखेल योङ्गनिलले बैंकिङ क्षेत्रले जलवायु परिवर्तनको असरलाई कम गर्न अन्तर्राष्ट्रिय स्तरमा निभाइरहेको भूमिका र यसले सृजना गरेको चुनौतीलाई कम गर्दै अवसरबाट कसरी फाइदा लिन सकिन्छ भन्ने बारेमा आफ्नो दृष्टिकोण राखे । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले दिगो बैंकिङलाई प्रवद्र्धन गर्न गरेको नीतिगत व्यवस्था र नेपालको वित्तीय क्षेत्रलाई अन्तर्राष्ट्रिय मापदण्डसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको बताए । 

नेपालको बैंकिङ क्षेत्रले  दिगो विकासमा सामना गरिरहेको चुनौतीहरूलाई  समाधान गर्दै बैंकङ क्षेत्रलाई सस्टेनबल फाइनान्स  उन्मुख गराउनको साथै उनीहरूको ज्ञान, शिप र क्षमता अभिवृद्धि गर्ने उद्देश्य अनुरुप कार्यक्रमको अवसरमा संयुक्त रुपमा नेपाल बैंकर्स संघमा दिगो वित्त विभागको स्थापनाको उद्घाटन गरियो ।  

कार्यक्रमको प्राविधिक सत्र डीबीएस सिंगापुरका पूर्व प्रबन्ध निर्देशक तथा स्ट्यान्डर्ड चार्टर्ड बैंक यूकेका सस्टेनेबिलिटी विशेषज्ञ युलान्डा चुङले गरेका थिए । उनले अन्तर्राष्ट्रिय परिदृश्यलाई केलाउँदै जलवायु परिवर्तनले नेपाललाई पार्न सक्ने प्रभाव, यसको जोखिम र नेपालको बैंकिङ क्षेत्रमा यसको सान्दर्भिकता बुझ्न महत्वपूर्ण सिद्धान्तहरूलाई सम्बोधन गरे । 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, जीसुन हान (प्रबन्धक, ऊर्जा–एशिया र ईसीए एफएमआ), एन्टोनिया फ्लक (कार्यक्रम प्रबन्धक, स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड   कोअपरेशन), काट्जा सिल्वा–लिएण्डर (प्रबन्ध निर्देशक, क्याडमस यूके) र दीपक कुमार डे (कार्यकारी समिति सदस्य, नेपाल बैंकर्स एशोसिएसन) लगायतका प्रमुख व्यक्तिहरूले जलवायु वित्त रणनीतिहरूलाई बैंकिङ सञ्चालनमा एकीकृत गर्ने सम्बन्धी संवाद प्रस्तुत गरे । यस सत्रमा  नियामक ढाँचाहरू, जोखिम व्यवस्थापन र नवीन हरित वित्तीय उत्पादनहरूको महत्व बारेमा छलफल भएको थियो । 

कार्यक्रममा सरकारी अधिकारीहरू, विकास साझेदार, वाणिज्य बैंकका प्रतिनिधि, सञ्चार माध्यम र सम्बन्धित सरोकारवालाहरू लगायत २०० भन्दा बढी सहभागी रहेका थिए ।
 

Advertisement

Advertisement