भरिन लाग्यो कुलेखानी ड्यामः हिउँदमा विद्युत् उत्पादन गर्न सहज, तल्लो तटीय क्षेत्रमा भने खतरा !

Advertisement

काठमाडौं । भारी बर्षाका कारण नेपालको एक मात्रै जलविद्युत् ड्याम कुलेखानी ड्याम भरिन लागेको छ । 

उक्त जलविद्युत ड्याममा पानी भर्न मिल्ने सतह १५३० मिटर छ, शुक्रबार साँझ ५ः४५ सम्म त्यस ड्याममा पानीको सतह झण्डै १५२७ मिटरसम्म पुगी सकेको छ । अब पूर्ण रुपमा ड्याम भरिन तीन मिटर मात्रै बाँकी छ ।

Advertisement

अहिलेकै अनुपातमा बर्षा भएमा अबको ८–९ घण्टा वा शनिबार बिहानसम्म ड्याम पूर्ण रुपमा भरिनेछ । 

उल्टो पिरामिड जस्तै शैलीमा रहेको उक्त ड्याममा जति माथि गयो, पानी भरिन त्यति नै समय लाग्छ । तर, अहिले माथिल्लो सतहमा पनि उच्च गतिमा पानीको सतह बढेको छ । 

बिहीबार बिहान ड्याममा एक घण्टामा पानीको सतह पाँच सेन्टी मिटरसम्म बढ्ने गरेको थियो । तर, अहिले एक घण्टामा ३० सेन्टी मिटरसम्म पानीको सतह बढ्ने गरेको छ । 

शुक्रबार बिहान ९ बजे ड्याममा पानीको सतह १५२५ मिटर थियो । अहिले त्यो बढेर १५२७ मिटर पुगीसकेको छ । अहिले पनि ड्याम क्षेत्रमा भारी बर्षा भइरहेको आयोजना प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

‘अहिले पनि यहाँ बर्षा भइरहेको छ । बिहान एक घण्टामा पानीको सतह ५ सेन्टीमिटर मात्रै बढ्ने गरेको थियो । तर, अहिले प्रतिघण्टा ३० सेन्टीमिटरको दरमा पानीको सतह बढेको छ,’ उनले भने, ‘पर्सिसम्म बर्षा हुने अनुमान गरिएको छ । यही अनुपातमा पानी परेमा अबको ८–९ घण्टा वा शनिबार बिहानसम्म ड्याम भरिनेछ ।’

यसअघि आव २०७८–७९ र आव २०७९–८० मा ड्याम पूर्ण रुपमा भरिएको थियो । गत आव भने ड्याम भरिएको थिएन । चालु आवमा ड्याम पुर्ण रुपमा भरिने सम्भावना देखिएको छ । यसले हिउँदमा विद्युत् उत्पादनमा सहज हुने अनुमान गरिएको छ । बर्खाको पानी जम्मा गरेर हिउँदको समयमा विद्युत् उत्पादन गर्न यो ड्याम बढाइएको थियो । 

यद्यपि, यही अनुसार बर्षा भएकै अवस्थामा ड्याम भरिएमा तल्लो तटीय क्षेत्रमा जोखिम भने बढ्नेछ । सोही अवस्थालाई लक्षित गर्दै राष्ट्रिय बिपत् जोखिम न्यूनकीकरण तथा व्यवास्थापन प्राधकिरण, नेपाल विद्यत् प्राधिकरण, परियोजना रहेको पालिका इन्द्रसरोवर गाउँपालिकाले तल्लो तटीय क्षेत्रमा सतर्क रहन सूचना प्रकाशन गरेका छन् ।

ड्याम भरिएपछि बढी हुने पानी फाल्न वा ‘ओभर फ्लो’ का लागि छुट्टै संरचना छ । तर, यही अनुसार बर्षा भएको अवस्थामै ड्याम भरिएमा ओभर फ्लोको संरचनाले मात्रै पुग्दैन । ड्यामबाट पानी पोखिने सम्भवना पनि हुन्छ । त्यो अवस्थामा ड्याममा भएको गेट खोलेर पानी छोड्नुपर्ने अवस्था पनि आउन सक्छ । त्यो अवस्थामा तल्लो तटीय क्षेत्रमा पानीको सतह थप बढ्नेछ । 

ड्यामबाट निस्कने पानी बागमती नदीमा निस्कनेछ । अहिलेको बर्षाले बागमती लगायतका नदीमा यसैपनि पानीको सतह बढेको छ । त्यो अवस्थामा ड्यामको गेट खोल्नुपर्ने अवस्था आएमा तल्लो तटीय क्षेत्रमा जोखिम बढ्नेछ । तल्लो तटीय क्षेत्रमा बाढीको समेत जोखिम हुनेछ । 

विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एक सूचना जारी गर्दै तल्लो तटीय क्षेत्रमा उच्च सतर्क रहन आग्रह गरेको छ । 

‘कुलेखानी ड्याम केही घन्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने अवस्था देखिएको छ । तसर्थ, कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू समेत हाइ एलर्टमा बस्नुहुन अनुरोध गरिन्छ,’ प्राधिकरणको सचूनामा भनिएको छ ।

यस्तै, नेपाल विद्युत् प्राधिकरणले पनि मकवानपुर जिल्लालाई जोखिम व्यवस्थापनका लागि अनुरोध गरेको छ ।  ‘उपरोक्त सम्बन्धमा हाल भैरहेको अविरल वर्षाको कारण कुलेखानी ड्याममा पानीको सतह बढी स्पील हुन सक्ने साथै चखेल, सिम, मुख्य ड्यामको ढोकाहरु पनि खोल्न पर्न सक्ने हनाले बागमति खोलाको बहाव बढ्न गई तटीय क्षेत्रमा कुनै पनि समयमा डुबानमा पर्ने सम्भावना रहेको व्यहोरा जानकारी गराउदै सो क्षेत्र वरिपरिका स्थानियहरुलाई समयमै सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन आवश्यक जानकारी गराईदिनुहुन अनुरोध छ,’ प्राधिकरणले मकवानपुर जिल्ला प्रशासन कार्यालयलाई लेखेको पत्रमा उल्लेख छ । 

प्राधिकरणका उप कार्यकारी निर्देशक मदन तिम्सिनाले पनि सर्तक रहन आग्रह गरेका छन् । ‘प्राधिकरणको एक मात्र जलाशययुक्त जलविद्युत उत्पादन केन्द्र कुलेखानीको इन्द्रसरोवर जलाशय आज रातीदेखि अविरल परेको वर्षादको कारण भरिनै लागेको छ । बिहान ९ बजे १५२५ मिटर रहेको पानीको सतह अहिले ५ बजे १५२६।७७ मिटर पुगिसकेको छ र लेभल बढ्ने क्रम एक्स्पोन्सीयल छ । १५२० मिटर पुगेपछि स्पील (पोखिने) हुने तर ड्याम सुरक्षाको लागि सो अगावै आज राती वा भोली बिहानतिर गेट खोलेर पानी छोड्नुपर्ने अवस्था पनि आउनसक्ने भएकोले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण जनसमुदायहरूलाई सतर्क र सुरक्षित रहन अनुरोध गरिन्छ,’ उनले समाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् । 

undefined

यस्तै, इन्द्रसरोबर गाउँपालिकाले पनि सर्तक रहन सूचना निकालेको छ । ‘अहिले परिरहेको अविरल वर्षाका कारण कुलेखानीको इन्द्रसरोबर ताल पुरै भरिने अवस्था छ । कुलेखानी प्रथम जलविद्युत केन्द्रको जानकारी अनुसार सो ताल भरिएपछि ओभर फ्लो हुने तथा ड्यामको ढोका जुनसुकै वेलापनि खोल्न सकिने अवस्था आउने भएकोले कुलेखानी खोला आसपास घर भएका वडा नम्बर २ र ३ का स्थानीय वासिन्दाहरु नदी आसपास नजानु हुन जानकारी लागि अनुरोध गरिन्छ । साथै, उच्च सतर्कता अपनाइ सुरक्षित स्थानमा वस्नुहुन यो सूचना प्रकाशन गरिएको छ,’ पालिकाको सूचनामा भनिएको छ । 

undefined
 

Advertisement

Advertisement