दोस्रो दिनसम्म पनि पुग्न सकेनन् उद्दार टोली

माथिल्लो तामाकोशीका तीन कर्मचारी र सेनाका दुई जवानको अवस्था अझै अज्ञात

Advertisement

काठमाडौं ।  शनिबार पहिरोमा परेर बेपत्ता भएका ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् परियोजनामा कार्यरत दुई कर्मचारी, नेपाली सेनाका दुई जवान र एक सुरक्षागार्डको अवस्था अझै अज्ञात रहेको छ । आइतबार दिउँसो एक बजेसम्म पनि उनीहरुको अवस्था अज्ञात नै छ । 

दोलखा स्थित उक्त परियोजनाको बाँधस्थल सञ्चालन गर्न बिगु गाउँपालिका–१ लामावगर छुट्टै भवन बनाइएको थियो । शनिबार बर्षाका कारण आएको पहिरो बाँध परिसरमै भएको उक्त ‘हेडबक्स कन्ट्रोल विल्डिङ’ लाई क्षतिग्रस्त बनाएको थियो । त्यससँगै भवन भित्र रहेको परियोजनाका दुई कर्मचारी, नेपाली सेनाका दुई जवानहरु र एकजना सुरक्षा गार्ड पनि पहिरोमा परेका थिए । तर, अहिलेसम्म त्यहाँ उद्दार टोली पुग्न सकेको छैन । साथै, त्यहाँ कुनै टेलीफोन सम्पर्क पनि हुन सकेको छैन । उनीहरुको अवस्था अझै पनि अज्ञात नै रहेको छ । 

Advertisement

बाढीले परियोजना स्थल पुग्ने सडक पनि अवरुद्ध बनाएको छ । त्यसले गर्दा गाडीबाट त्यहाँ जान सक्ने अवस्था छैन । नेपाल विद्युत् प्राधिकरणले शनिबार नै  नेपाली सेनालाई पत्र लेख्दै हेलीकप्टर मार्फत उद्दार गर्न आग्रह गरेको थियो । साथै, त्यसमा लाग्न सम्पुर्ण खर्च पनि बेहोर्ने प्राधिकरणको पत्रमा उल्लेख थियो । तर, खराव मौसमका कारण सेनाले अझै पनि त्यहाँ हेलीकप्टर लैजान सकेको छैन । साथै, त्यहाँ टेलीफोन सम्पर्क पनि हुन सकेको छैन । त्यसले गर्दा त्यहाँको बर्तमान अवस्थाबारे कुनै जानकारी नआएको प्राधिकरणका एक कर्मचारीले बताए । 

‘अहिले त्यहाँ फोन पनि लागेको छैन । सडक अवरुद्ध भएपछि उद्दार टोली जान सकेका पनि छैनन् । खराब मौसमका कारण सेनाले हेलीकप्टर लैजान सकेको छैन,’ उक्त अधिकारीले भने, ‘समग्रमा अहिले त्यहाँको अवस्था अज्ञात छ । उद्दारको लागि सक्दो प्रयास भइरहेको छ ।’ यो नेपालमा सबै भन्दा ठूलो जलविद्युत् परियोजना हो, जुन बाढीका कारण अहिले बन्द अवस्थामा छ । त्यसले विद्युत् उत्पादन र आपुर्तिमा समेत समस्या ल्याएको छ ।

Advertisement

Advertisement