बाढी पहिरोबाट जलविद्युत र सिंचाई क्षेत्रमा चार अर्ब ३५ करोडको क्षति भएको प्रारम्भिक अनुमान

Advertisement

काठमाडौं । दुई दिनको निरन्तरको वर्षाका कारण मुलुकभर आएको बाढी तथा पहिरोले ऊर्जा क्षेत्रमा करिव साढे ४ अर्ब ३५ करोड बराबरको प्रारम्भिक अनुमान गरिएको छ । 

आईतवार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पत्रकार सम्मेलन गर्दै ऊर्जातर्फ दुई अर्ब ४५ करोड, सिंचाईतर्फ एक अर्ब ३५ करोड र नदी नियन्त्रणतर्फ करिव एक अर्ब १६ करोड २० लाख रुपियाँ गरी समग्रमा करिव चार अर्ब ३५ करोड रुपियाँ बराबरको क्षति भएको जनाएको हो । 

Advertisement

पत्रकार सम्मेलनमा उर्जामन्त्री दीपक खड्काले बाढी र पहिरोका कारण एक हजार एक सय मेगावाटका जलविद्युत आयोजनाको उत्पादन बन्द भएको पनि बताए । उनले जलविद्युत र प्रशारणलाइनतर्फ दुई अर्ब ४५ करोड बराबरको क्षति भएको बताए । 

मन्त्री खड्काले सिंचाईतर्फ एक अर्ब ३५ करोड बराबरको क्षति भएको उल्लेख गरे । उनले बाढी र पहिरोले निजी क्षेत्रका २६ वटा भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुगेको पनि बताए । दुई दिनसम्म लगातार परेको अविरल वर्षाका कारण तामाकोशी जलविद्युत आयोजनामा काम गर्ने विद्युत प्राधिकरणका दुई जना कर्मचारी र सुरक्षामा खटिएका नेपाल सेनाका दुई जना गरी चार जना बेपत्ता भएको उनले बताए । 

खड्का निजी क्षेत्र र सरकारको लगानीमा निर्माण भएका जलविद्युत, ट्रान्समिसन लाइनमा ठूलो क्षति भएको जानकारी दिए । उनले मौसम विभागले गरेको पूर्वअनुमान गरी दिएको सूचनाको कारण क्षति कम भएको उनले बताए । 
 
मन्त्री खड्काले भने, ‘दुई दिनसम्म लगातार परेको अविरल वर्षाका कारण तामाकोशी जलविद्युत आयोजनामा काम गर्ने विद्युत प्राधिकरणका दुई जना कर्मचारी र सुरक्षामा खटिएका नेपाल आर्मीका दुई जना बेपत्ता भएका छन् । ऊर्जा मन्त्रालय अन्तर्गत भएको क्षतिको पनि विवरण आएको छ । बाढीको कारण ११ सय विद्युत अवरुद्ध भएको छ । पूर्णरुपमा क्षति भने होइन । निजी क्षेत्र र सरकारको लगानीमा निर्माण भएका जलविद्युत, ट्रान्समिसन लाइनलाई जोड्दा करिव साढे दुई अर्ब ४५ करोड बराबरको क्षति भएको हो ।’ 

उनले थपे, ‘यो अनुमान मात्रै हो । बढ्न पनि सक्छ । सिंचाई तर्फका आयोजनाहरुमा पनि एक अर्ब ३५ करोड भन्दा बढी क्षति भएको छ । मौसम विभागले गरेको पूर्वअनुमानले पनि कम क्षति भएको हो । लगातार वर्षाले क्षति हुने जानकारी गराउँदा गराउँदै पनि केही क्षति भएको छ । गत वर्ष पूर्वमा भएको बाढीमा मात्रै ऊर्जा क्षेत्रमा १० अर्बको थियो । जनधनको पनि ठूलो क्षति भएको थियो । सरकारले निर्माणाधिन आयोजनामा राती नबस्न र यातायात बन्द गर्ने जानकारी दिएकाले कम क्षति भएको छ ।’

मन्त्री खड्काले गत वर्ष पूर्वमा भएको बाढीमा मात्रै ऊर्जा क्षेत्रमा १० अर्ब रुपियाँ र ठूलो जनधनको पनि क्षति भएको बताए । मन्त्री खड्काले जलविद्युत आयोजनाहरु पूनःनिर्माणको कामलाई प्राथमिकता राखेर काम गर्ने प्रतिवद्धता जनाए । सरकारले विभिन्न क्षेत्रमा नदी कटान,डुबान तथा बाढीले नदी नियन्त्रणतर्फ करिव एक अर्ब १६ करोड २० लाख रुपियाँ बराबरको क्षति भएको अनुमान गरेको छ ।

Advertisement

Advertisement