बाढी पहिरोको क्षतिको बीमा दाबी भुक्तानी तत्काल दिन अध्यक्ष सिलवालको निर्देशन

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बाढी पहिरोबाट भएको क्षतिको बीमा दाबी भुक्तानी तत्काल दिन बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् ।

आइतबार ललितपुर स्थित बीमा प्राधिकरणमा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई छलफलमा डाक्दै अध्यक्ष सिलवालले यस्तो निर्देशन गरेका हुन् ।

Advertisement

बिहीबारदेखि आएको अविरल वर्षाले उग्र रुप लिदा देशैभरी बाढी पहिरो गएको छ । जसबाट ठूलो जनधनको क्षति हुन पुगेको छ । सो सम्बन्धमा छलफल गर्नेगरी आइतबार अध्यक्ष सिलवालले बीमा प्राधिकरणमा सीईओहरुलाई बोलाएकामा बाढी तथा पहिरोबाट नागरिकको घर, सम्पत्ति तथा संरचनाहरूमा भएको क्षतिको बीमा दाबी भुक्तानी यथासम्भव छिटो गर्न निर्देशन दिएका छन् ।

सोही अवसरमा अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले दाबी भुक्तानी दिँदैनन् भन्ने भ्रमलाई हटाउन पनि बीमा कम्पनीहरूले छिटो दाबी भुक्तानी दिनुपर्ने बताए ।

हालको विशेष परिस्थितिमा बीमा दाबी विस्तारै थपिँदै जानसक्ने र बाढी तथा पहिरोका कारण बीमालेख हराएको पनि हुनसक्नेतर्फ बीमा कम्पनीहरूले ध्यान दिनुपर्ने उनले बताए । 

कार्यक्रममा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले हालैको बाढी र पहिरोको कारण क्षति भएका जलविद्युत कम्पनी, गोदाम, पसल, मोटर, मोटरसाइकल सम्बन्धी बीमा दाबीहरू बीमितहरूबाट धमाधम आउन थालेको जानकारी दिए ।

हाल विशेष परिस्थिति सिर्जना भएकाले बीमा दाबी प्रक्रियालाई सरलीकरण गर्न, निश्चित दाबी भुक्तानीका लागि न्यून कागजात भए हुने व्यवस्था गर्न र सर्भे प्रतिवेदनलाई छिटोछरितो तुल्याउनका लागि आवश्यक सहजीकरण गर्न उनीहरुले अध्यक्ष सिलवालसँग आग्रह गरे ।

अध्यक्ष सिलवालले हाल विशेष परिस्थिति भएकाले सामान्य अवस्थामा आवश्यक पर्ने दाबी भुक्तानी सम्बन्धी कागजातहरू मध्ये प्रहरी प्रतिवेदन र सम्बन्धित निकायको सिफारिश लगायतका कागजातहरू आवश्यक नपर्ने व्यवस्था मिलाइने, अन्य कागजातहरूको सूची समेत छोटो पारिने र बीमा सर्भेयरहरूलाई तोकिएकै समय सीमाभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिने समेत जानकारी दिए ।  

Advertisement

Advertisement