विद्युत प्राधिकरणको आम्दानी खर्चको हिसाब ‘गोलमाल’, नक्कली भ्याट बिल भेटियो

Advertisement

काठमाडौ। नेपाल विद्युत प्राधिकरणको आम्दानी खर्चको विवरणमा गोलमाल भएको भेटिएको छ । प्राधिकरणले आम्दानी र खर्चको हिसाब स्पष्टरुपमा व्यवस्थापन नगरेको छानविनका क्रममा भेटिएको हो ।

आन्तरिक राजस्व विभागले चार्टर एकाउन्टेन (सीए) नै हायर गरेर प्राधिकरणको वासलात (ब्यालेन्स सिट) परीक्षण गरेको थियो । परीक्षणका क्रममा प्राधिकरणको कारोबार निकै अव्यवस्थित भेटिएको हो । 

Advertisement

प्राधिकरणको कारोबारमा गम्भीर आर्थिक विचलन भेटिएको कर परीक्षणमा सहभागी एक कर्मचारीले कर्पोरेट नेपाललाई बताए । उनले भने, ‘प्राधिकरणको शाखा पाँच सय भन्दा बढी रहेछन् । यी शाखाले मनपरी खर्च गरेर एकमुष्ठ खर्चको विवरण मात्रै पेश गर्ने गरेको छ । खर्चका केही बिलहरु नक्कली समेत भेटिएका छन् ।’

सरकारी निकायमै मूल्य अभिवृद्धि कर (भ्याट) बिल नक्कली भेटिनुलाई सामान्यरुपमा लिन नहुने ती कर अधिकृतको भनाई छ। प्राधिकरणले ठेक्का लगाएको काममा लिएको बिल नक्कली भेटिएको विभागले जानकारी दियो ।

प्राधिकरणकै बिल नक्कली भेटिएपछि विभागले प्राधिकरणलाई पत्राचार गरेको छ । पत्रमा नक्कली भ्याट बिल दिने कम्पनीको विस्तृत विवरणसहित नक्कली बिल लिनुको कारण पनि माग गरेको छ ।

नक्कली बिलको विषयमा आफूलाई कुनै जानकारी नभएको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए । उनले भने, ‘प्राधिकरणमा नक्कली भ्याट बिलको विषयमा मलाई कुनै जानकारी छैन् । लेखा शाखालाई सोध्नुस् ।’

प्राधिकरणका पाँच सय शाखाहरुले मनोमानी खर्च गर्ने गरेको कर परीक्षणका क्रममा भटिएका छन् । कुनै एक शाखाले एक करोड रुपियाँ खर्च गरेको छ भने उसले कुन शीर्षकहरुमा खर्च गर्यो ? छुट्याएर राखिएको छैन् । यस्तै, एकल हिसाब खाता समेत बनाएको छैन् ।

प्राधिकरण पनि अब भ्याटमा दर्ता हुनुपर्ने राजश्व अनुसन्धान विभागको तर्क छ । भ्याटमा दर्ता हुँदा भ्याट क्रेडिट समेत लिन पाउने हुँदा प्राधिकरणलाई नै नाफा हुने विभागको भनाई छ ।

विभागको प्रस्तावमा प्राधिकरणले भने कुनै चासो दिने गरेको छैन् । विभाग स्रोतले भन्यो ‘प्राधिकरणलाई भ्याटमा दर्ता भएर भ्याट क्रेडिट लिन मानिरहेका छैन् । प्राइभेट फर्म भएको भए अनिवार्य आउँथे । अब सरकारी पर्यो । धेरै कर तिर्नु परे पनि सरकारकै नपरे पनि सरकारकै भन्ने जवाफ दिने गरेका छन् ।’

सरकारकै स्वामित्व भएको कम्पनी भए पनि कर कानुनअनुसार सञ्चालन हुनुपर्ने विभागको भनाई छ ।

भ्याटमा दर्ता नहुँदा कर छली बढ्यो
प्राधिकरण भ्याटमा दर्ता नहुँदा प्राइभेट कम्पनीहरुले नक्कली बिल भिडाउने गरेको तथ्य कर परीक्षणबाट देखिएको छ । यदी प्राधिकरण भ्याटमा दर्ता भएको भए उसले खरीद गरेका सामग्री र बिक्री गरेको सामग्रीको बिल भिडाएर चेकजाच गर्न सजिलो हुन्थ्यो । तर नहुँदा उसले भ्याट विवरण पेश गर्नुपर्दैन् ।

यसरी विवरण पेश नगर्दा बिल सक्कली हो कि नक्कली ? छुट्याउनै कठिन पर्ने गरेको छ । प्राधिकरणकै कर्मचारीहरुले समेत बदनियतपूर्ण ढंगले आर्थिक प्रलोभनमा यस्ता नक्कली बिललाई प्रशय गरेको हुनसक्ने पनि विभागको अनुमान छ । विभागले विज्ञ प्राविधिक नै करारमा लिएर अनुसन्धान गरेपछि नक्कली बिल भेटिएको हो ।

Advertisement

Advertisement