बालेनको कारवाहीमा परेको भवनमा नक्सा पास नभए पनि सर्यो नागरिक उड्डयन प्राधिकरण

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि सिनामंगलमा बनाएको भवनमा सरेको छ । 

निकै ठूलो लगानीमा निर्माण गरिएको सुविधा सम्पन्न यो भवन नक्सा पास नगरी बनाइएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कारवाही गरेका थिए । नक्सा पास नहुँदैको अवस्थामा प्राधिकरणका पाँच सय कर्मचारी नयाँ भवनमा स्थानान्तर भएका छन् । 
   
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले नक्सा पासको प्रक्रिया जारी रहेको बताए । उनले नक्सा पासका लागि आवश्यक कागजाजसहित महानगरपालिकामा पेश गरिएको बताउँदै चाँडै पास हुने आशा व्यक्ति गरे । निरौलाले बबरमहलको पूरानो भवनमा हवाई सुरक्षा विभाग र राष्ट्रिय गौरव आयोजना निर्देशनालय मात्रै रहने बताए । 

Advertisement

उनले भने, ‘कर्मचारी स्थानान्तरणको काम सुरु भइसकेको छ । महानिर्देशकसहित इन्जिनियरिङ, मेकानिकल, नियमनकारी लगायतका विभागका कर्मचारी स्थानान्तरण भइसक्यो । । कर्पोरेट डिपार्टमेन्ट सर्न बाँकी छ । नयाँ भवनमा सरसफाइको काम थोरै बाँकी छ । सक्किएलगत्तै उद्घाटन गरिनेछ ।’ 

एक अर्ब ७० करोड रुपियाँ लागत अनुमान गरिएको यो भवन २०७२ सालको विनाशकारी भूकम्प आउनुभन्दा १२ दिनअघि सुरु गरिएको थियो । भूकम्प, नाकाबन्दी, कोरोना महामारी जस्ता समस्याका कारण निर्माण कार्य ढिलो भई लागत पाँच अर्ब पुगेको प्राधिकरणको भनाई छ । 

प्राधिकरणले पूरानो भवनको केही अंश आफूले प्रयोग गरेर बाँकी भाडामा लगाई आयस्रोत बढाउने योजना बनाएको छ । पूरानो भवनबाट नियमनसम्वन्धी काम हुने र नयाँ भवनबाट सेवा प्रवाहका बाँकी सबै काम हुने जनाइएको छ । नयाँ भवनको तल्लो दुई तहमा ‘बेसमेन्ट’ पार्किङ छ । कार्यालय अगाडि पनि पार्किङको सुविधा छ । यस भवनमा चार सयभन्दा बढी कर्मचारी काम गर्नसक्छन् । प्राधिकरणको नयाँ भवन चार रोपनी दुई आना क्षेत्रफलमा निर्माण भएको छ । 

Advertisement

Advertisement