मुक्तदाद्धारा एनआरएनए सहकोषाध्यक्षमा चुनावी प्रतिवद्धतासहित उम्मेदवारी घोषणा

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न ११औं महाधिवेशनमा एनआरएनए कतारका निवर्तमान अध्यक्ष मोहम्मद मुक्तदाले सहकोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । 

उनले आफ्ना चुनावी प्रतिवद्धताहरुसहित संघको २०२३–२५ कार्यकालका लागि सहकोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । संघको महाधिवेशन यही आउँदो अक्टोबर १७–२० सम्म काठमाडौमा हुँदैछ । 

Advertisement

विगत १४ वर्षदेखि गैरआवासीय नेपाली अभियानमा सक्रिय रही नेतृत्वदायी भूमिका खेलेका मुक्तदाले कतारमा रहेर सामाजिक सेवा र सामुदायिक क्रियाकलापमा सक्रिय रहँदै आप्रवासी कामदारहरुको समस्या समाधान गर्न, नेपालमा समेत सरसहयोग पठाउन सक्रिय रहँदै आएका छन् । 

एनआरएनए कतारको सदस्य, सचिवालय सदस्य, सल्लाहकार हुँदै दुई कार्यकाल अध्यक्ष भइसकेका उनले संघप्रतिको आफ्नो लामो अनुभव, प्रतिवद्दता, क्रियाशीलता र थप केही योगदान गरौं र दिन सकिन्छ भन्ने इच्छाले सह–कोषाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् । 

मुक्तदा भन्छन्, ‘२००३ मा स्थापित संस्थाले दुई दशक पार गर्दै गर्दा हालसम्म अनेकौं आरोहअवरोह पार गर्दै गैरआवासीय नेपालीहरुका हकहितका लागि ठूलो सम्भावना र केही उपलब्धीसमेत हाँसिल गरेको छ । संघको ११ औं महाधिवेशन हुन अब केही दिन मात्र बाँकी रहँदा आगामी नेतृत्वका लागि एनआरएनएका अग्रज अभियान्ताहरुले विभिन्न पदहरुमा आफ्नो इच्छा जाहेर र दावी गर्ने क्रम पनि चलिरहेको छ । संघमा मैले गरेको योगदान, दिएको समय र आगामी दिनमा संस्था एंवम् गैरआवासीय नेपालीको लागि मैले खेल्ने भूमिकालाई मूल्यांकन गरी मलाई साथ, सहयोग, समर्थन, सद्भाव र सुभेच्छा प्रदान गरिदिनु हुने सम्पूर्ण अग्रज अभियान्ता महानुभाव, सहकर्मी साथीहरु, विश्वभरिका राष्ट्रिय समन्वय परिषदका अध्यक्ष, पदाधिकारी तथा सदस्य र सम्पूर्ण महाधिवेशन प्रतिनिधि ज्यूहरुमा विनम्र आग्रह गर्दछु ।’

उनका चुनावी प्रतिवद्धता यस्ता छन्ः 
१) सबल र सफल एनआरएनएका लागि स्थायी रूपमा बलियो कोष निर्माणमा मेरो विशेष पहल र प्रयास रहनेछ ।

२) संघको कोषलाई फजुल खर्चबाट जोगाएर मितव्ययी र पारदर्शी रूपमा संचालन गर्न मेरो प्रयत्न रहनेछ ।

३) आइसिसी र एनसिसीको कोषको सबलीकरणका लागि आइसिसीका कोषाध्यक्ष र सह–कोषाध्यक्षको नेतृत्वमा सबै एनसिसीका कोषाध्यक्ष र सह–कोषाध्यक्ष रहेको एक संयन्त्र गठन गर्न प्रयत्न गर्नेछु ।

४) वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका श्रमिकहरुको कुनै कारणले निधन हुन गएमा उनीहरूको शव नेपाल पुर्याउने प्रबन्धको लागि अनिवार्य रूपमा नेपाल सरकारले जीवन बिमाको रकमबाट भुक्तानी मिलाउन पहलकदमी गर्नेछु। यसैगरी परिवारले पाउनुपर्ने क्षतिपूर्तिलाई पनि सुनिश्चित गर्न पहल गर्नेछु ।

५) विदेशमा रहेको दोश्रो वा तेश्रो पुस्तालाई नेपालको भाषा, संस्कार, संस्कृति, नेपालीपन र नेपाली माटोसंग भौतिक र भावनात्मक रूपमा जोड्न भाषा, संस्कृति प्रवर्द्धन र जगेर्नाका लागि एउटा छुट्टै कोषको अवधारणा बनाइ सोही प्रयोजनका लागि मात्र खर्च गर्ने प्रवन्ध गर्न मेरो पहल रहनेछ।

६) ‘नेपालीका लागि नेपाली’ भन्ने संघको मूल नाराको भावनाबमोजिम सधैं सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु ।

Advertisement

Advertisement