एनआरएनए आरके समूहले भूकम्प पीडितको नाममा पैसा उठाएको भन्दै केसी समूहको आपत्ति

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को बद्री केसी समूहले संघको नाममा आरके शर्मा समूहले पैसा उठाएर व्यक्तिगत खातामा जम्मा गरेको भन्दै आपत्ति जनाएको छ ।

बद्री केसी समूहले विज्ञप्ति जारी गर्दै यसरी रकम उठाउने काम बन्द गर्न पनि चेतावनी दिएको छ । गएको निर्वाचनबाट विभाजित भएको संघको दुई वटा समूहबीच अहिले द्धन्द्ध जारी रहेको छ ।  

Advertisement

बद्री केसी समूहले जाजरकोट र रुकुमलगायतका स्थानमा गएको भूकम्पपश्चात प्रभावित क्षेत्रमा राहत वितरणका लागि भन्दै संघको नाममा उठाएको रकम व्यक्ति विशेषको खातामा जम्मा भइरहेको  जानकारी विभिन्न सञ्चारमाध्यममार्फत प्राप्त भएको भन्दै आफ्नो विज्ञप्तिमा मानवीय संवेदनशीलतासँग सम्बन्धित विषयलाई ध्यानै नदिई व्यक्तिगत खातामा रकम जम्मा गर्न लगाउने, संघसँग समन्वय नगरी आफूखुशी राहतका लागि रकम संकलन गर्ने लगायतका गतिविधि तत्काल रोक्न आग्रह गरेको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘राहत तथा सहयोगका लागि गैरआवासीय नेपाली संघको विभिन्न बैंकहरुमा रहेका बैंक खाताका साथै अन्य सम्पूर्ण बैंकिङ कारोबारहरु नियमित रुप सञ्चालनमा रहेको जानकारी गराउँदछु  । तसर्थ राहत तथा सहयोग सम्बन्धी रकम व्यक्तिगत खातामा जम्मा नगरी संघको आधिकारीक खातामा मात्र जम्मा गरिदिन हुन सबै राष्ट्रिय समन्वय परिषदहरु, सरोकारवाला तथा संघका अभियन्ताज्यू समक्ष हार्दिक अनुरोध गर्दछु । सहयोगका लागि तल उल्लेखित खाताको प्रयोग गर्नुहुन अनुरोध गर्दछु ।’ 

Advertisement

Advertisement