फर्निचर तथा फर्निसिङ व्यवसाय धरासायी हुनलाग्योः व्यवसायी, ‘उधारो कारोबार ठूलो समस्या’

Advertisement

काठमाडौं । फर्निचर तथा फर्निसिङ व्यवसायीले आफूहरुको व्यवसाय धरासायी हुन लागेको बताएका छन् । उनीहरुले यो व्यवसाय जोगाउन पनि सरकारसँग आग्रह गरेका छन् । 

नेपाल फर्निचर तथा फर्निसिङ संघको २४ औं वार्षिक साधारणसभाका सहभागीहरुले काठका फर्निचर उत्पादनका लागि आवश्यक नीति नबन्दा फर्निचर तथा फर्निसिङ व्यवसाय धरासायी अवस्थामा पुगेको बताएका हुन् । 

Advertisement

संघका अध्यक्ष दिनेश अग्रवालले फर्निचर निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थ–काठ तथा काठ जन्य वस्तु कुहिएर खेर गइरहेको अवस्थामा समेत सरकारले चासो नदिएको गुनासो गर्दै काठजन्य वस्तुको लिलामी प्रक्रियामा फर्निचर तथा फर्निसिङ व्यवसायीलाई सहभागी हुने किसिमको नीति निर्माण गर्न आग्रह गरे । 

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई पटकपटक आह्वान गर्दा समेत सरकारले नीति निर्माणमा ध्यान नदिएको उनको गुनासो छ । अग्रवालले प्लास्टिक, फर्निचर, कार्पेट, फ्लोरिङका सामग्री उत्पादनमा नेपाल आत्मनिर्भर हुने चरणमा पुगेता पनि काठका फर्निचर उत्पादनका लागि आवश्यक नीति नबन्दा र व्यवसायीलाई काठ लिलामीमा सहभागी नगराउँदा आयातित कच्चा पदार्थमा निर्भर हुनुपर्ने बाध्यता रहेको बताए । 

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ अध्यक्ष सुजिल श्रेष्ठले फर्निचर व्यवसाय मूलतः काठमा आधारित व्यवसाय रहेका कारण काठको सहज पहुँचको सुविधा मिलाउन सरकारलाई आग्रह गरे । 

काठबाट निर्मित फर्निचरका लागि नेपालमै कच्चा पदार्थ उपलब्ध भएता पनि आवश्यक नीतिको अभावमा मुलुक अन्य देशमा भर पर्ने अवस्था बनेको बताउँदै उनले व्यवसायीहरुलाई उत्पादनको स्तर गुणस्तरीय बनाउन समेत आग्रह गरेका छन् । 
श्रेष्ठले स्वदेशी फर्निचरको प्रयोग बढाउने हरेक सरकारी कार्यालयमा स्वदेशी फर्निचरको प्रयोग गर्न र स्वदेशी उत्पादनलाई नै प्राथमिकतामा राख्न समेत आग्रह गरे । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले फर्निचर तथा फर्निसिङ व्यवसायीले भोग्दै आएका समस्या समाधानका निमित्त आफूहरुले सरकारी तथा निजी तबरबाट सहयोग गर्न तयार रहेको बताए ।

नेपालमा आफ्नो उत्पादनको ब्रान्डिङ गर्ने, कम्पनीको लोगो बनाउने कार्य भएको पाइँदैन् भन्दै उनले यसकारण स्वदेशमै उत्पादित सामाग्री समेत भारतबाट आयात भएको हो कि भन्ने किसिमको आशंका बढ्दै गएको बताए । मल्लले फर्निचर तथा फर्निसिङ व्यवसायीहरुलाई ब्रान्डिङ र लोगो निर्माणमा काम गर्न सुझाव दिए । 

उनले पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाउन सुरु गरेकोले यसबाट उद्योग व्यवसाय सञ्चालनका लागि सहज हुने बताउँदै बैंकबाट कर्जा लिँदा संयुक्त रुपमा लिन समेत सुझाव दिए । व्यवसायीहरु समस्यामा पर्नुको कारण उधारो कारोबार बढ्दै जानु हो भन्दै मल्लले व्यवसायीहरुलाई डिजिटल रुपमा कारोबार गर्न पनि आग्रह गरे । 
 

Advertisement

Advertisement