काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब २० करोड रुपियाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
राष्ट्र बैंक उपदान तथा पेन्सन कोषको रकम २०८० फागुन ६ गतेदेख २०८१ फागुन ५ गतेसम्म मुद्दती निक्षेपमा लगानी गर्न लागिएको हो ।
उक्त रकम मुद्दती निक्षेपमा लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुलाई ब्याजदर प्रस्ताव गरी यही माघ २३ गते साँझ ७ बजेसम्म आवेदन दिन आह्वान गरिएको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ७६ करोड, विकास बैंकहरुमा ३३ करोड र फाइनान्स कम्पनीहरुमा ११ करोड रुपियाँ लगानी गर्न लागेको जनाएको छ ।
यसैबीच राष्ट्र बैंकले अवकाश कोष अन्तरगत रहेको कर्मचारी सुरक्षण कोषको २५ करोड रुपियाँ पनि मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
वाणिज्य बैंकहरुमा २० करोड, विकास बैंकहरुमा ३ करोड ७५ लाख र फाइनान्स कम्पनीहरुमा १ करोड २५ लाख रुपियाँ लगानी गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।
उक्त रकम मुद्दती निक्षेपमा लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुलाई ब्याजदर प्रस्ताव गरी यही माघ २३ गते साँझ ७ बजेसम्म आवेदन दिन आह्वान गरिएको छ ।