रामग्राम क्षेत्र प्रधानमन्त्रीका घरबेटी ठेकेदारलाई ९९ बर्षका लागि दिने विवादित निर्णय खारेज

Advertisement

काठमाडौं । चर्को विरोधपछि लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रमा निजी कम्पनी द प्रमिस्ड ल्यान्डसँग गरिएका सबै सम्झौता खारेज गरेको छ । उक्त कम्पनीसँग रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तूप निर्माण गर्नेलगायत सम्झौता भएको थियो ।

कोषका अध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा मंगलबार बसेको कार्यकारिणी बैठकले रामग्राम क्षेत्र विना प्रतिस्पर्धा ९९ बर्षका लागि निजी कम्पनीलाई दिने सम्झौता तथा निर्णयहरु खारेज गरेको हो । 

Advertisement

द प्रमिस्ड ल्यान्ड प्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटी ठेकेदार शारदा अधिकारीका छोराको कम्पनी हो । संसदको सार्वजनिक लेखा समितिले यही गएको माघ २८ मा उक्त सम्झौता खारेज गर्न निर्देशन दिएको थियो । उक्त दिनको बैठकमा साँसदहरुले यस सम्झौताको चर्को आलोचना गरेका थिए ।  

रामग्राम क्षेत्र गौतम बुद्धको अस्थिधातु समाधिस्थ गरिएको स्थल हो । नवलपरासीस्थित यो क्षेत्रमा कोषले आफ्नो जग्गा र थप ११६ बिघा जमिन अधिग्रहण गरी उत्खनन तथा बौद्ध स्तूप निर्माण गर्नेलगायतका लागि निजी कम्पनीलाई जिम्मा दिएको थियो । 

कोषका अनुसार हाल रामग्राम स्तूप वरिपरि पुरातत्व विभागको १० कठ्ठा र कोषको तीन बिघा १५ कठ्ठा जमिन संरक्षित छ । बाँकी जग्गा अधिग्रहण गर्न मात्र करिब एक अर्ब ५० करोड र अन्य संरचना निर्माणका लागि साढे पाँच अर्ब रूपियाँ लाग्ने अनुमान कोषको छ ।

Advertisement

Advertisement