पूर्वाधारमा चिनियाँ लगानीका लागि उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

Advertisement

छेन्दु (चीन) । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा जलविद्युत्, कृषि तथा पूर्वाधार क्षेत्रमा उच्च सम्भावना रहेको जनाउँदै ती क्षेत्रमा लगानीका लागि चिनियाँ पक्षसँग आग्रह गरेका छन् ।  

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठले आइतबार सिचुवान प्रान्तीय जनसरकारका गभर्नर हुवाङ क्वाङसँगको भेटमा सिचुवानका लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्न आग्रह गरे ।  नेपालमा विदेशी लगानीलाई प्रोत्साहित गर्न कानुनी, संरचनात्मक तथा प्रक्रियागत उल्झन हटाइएको जानकारी दिँदै उनले विदेशी लगानीलाई खुला हृदयले स्वागत गरिने बताए ।  

Advertisement

नेपालको विकास प्रक्रियालाई तीव्र गतिमा अघि बढाउन के गर्न सकिन्छ भनेर आफू चीन भ्रमण आएको उल्लेख गर्दै उनले विकासलाई तीव्रता दिन छिमेकीको सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । चीनसँगको व्यापार घाटा न्यूनीकरणका लागि सहयोग गर्न चिनियाँ पक्षसँग आग्रह गरे । नेपालले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा ठूलो मात्रामा सहभागिता जनाउन आग्रह गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सरकार र निजी क्षेत्रका तर्फबाट सहभागिताका लागि अनुरोध गरे । उनले नेपाल र चीनबाट भएका उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाएको बताए ।  नेपालले चीनसँगको सम्बन्धलाई अत्यन्त महत्व दिएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीनबीच समस्यारहित सम्बन्ध रहेको बताए ।  

चीनले नेपालको विकास प्रक्रियामा सदियौँदेखि सहयोग गर्दै आइरहेको स्मरण गर्दै उहाँले चीनलाई नेपालले सङ्कटको साथीका रूपमा लिँदै आएको बताए । परराष्ट्रमन्त्री श्रेष्ठले चीनलाई अत्यन्त असल छिमेकीका रूपमा लिइएको र नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको दोहोर्याए । राजनीतिक परिवर्तपछि आर्थिक विकासलाई मुख्य कार्यभार बनाएर अघि बढिरहेको तथा सरकार आर्थिक विकासमा केन्द्रित भएको उल्लेख गर्दै उनले समृद्धिको यात्रामा छिमेकी राष्ट्र चीनको विशेष सहयोगको अपेक्षा गरिएको बताए ।  

उपप्रधानमन्त्री दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा पारस्परिक लाभ हासिल हुने गरी सहयोगात्मक सम्बन्धलाई अभिवृद्धि आफूले चीन भ्रमण गरेको उल्लेख गरे । उनले दुई देशबीचको सम्बन्धलाई उच्चस्तरीय भ्रमणले थप प्रगाढ बनाएको बताए । उनले आफ्नो चीन भ्रमणले नेपाल र सिचुवान सरकारको सहयोगात्मक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।  

सिचुवान प्रान्त सरकारका गभर्नर हुवाङले द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन उच्चस्तरीय भ्रमण र भेटवार्ताले महत्वपूर्ण सघाउ पु¥याउने विश्वास व्यक्त गरे । उनले नेपालको विकासमा सिचुवान साझेदारी गर्न तयार रहेको प्रतिबद्धता जनाए । प्रतिनिधिमण्डलस्तरमा भएको सो भेटमा नेपालका तर्फबाट चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयमा सहसचिव कृष्णप्रसाद ढकाल, छेन्दुस्थित नेपाली महावाणिज्यदूत सुरेश राउतलगायत सहभागी थिए । भेटमा चीनका तर्फबाट सिचुवान प्रान्तीय जनसरकारका उपगभर्नर पुबु दुनझाउ, महासचिव चेन क्विङ्गलगायत सिचुवान प्रान्तीय जनसरकारका अधिकारीहरू सहभागी थिए ।  

उपप्रधानमन्त्री श्रेष्ठ आज स्वदेश फर्कदै
यसैबीच जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कदै छन् । 

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए । भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको थियो । सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल तीव्र आर्थिक विकासको यात्रामा अघि बढिरहेको जानकारी दिँदै त्यसका लागि छिमेकी मुलुक चीनको सहयोग महत्वपूर्ण हुने बताएका थिए ।  

उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन हाइयानसँग पनि भेट गरेका थिए । सो भेटवार्तामा उहाँहरुबीच नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई प्रगाढ बनाउनेबारेमा छलफल भएको थियो । उपप्रधानमन्त्री श्रेष्ठ माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष एवं विदेश विभाग प्रमुखसमेत हुन् ।  

बेइजिङमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली दूतावासमा आयोजित पूर्वलगानी सम्मेलनलाई सम्बोधन गरेका थिए । सो क्रममा उहाँले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान गरेका थिए । । सोही दौरान उनले चीनकै दक्षिण पश्चिमी सहर छोनछिन नगरपालिकाको अवलोकन भ्रमण गरेका थिए । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ कम्युनिष्ट पार्टी छोनछिन कमिटीका सचिव युयान जाइजुनबीच प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता भएको थियो । उक्त भेटमा उपप्रधामन्त्री श्रेष्ठले नेपाल र चीन आर्थिक समृद्धिको यात्रामा सँगसँगै अघि बढ्नुपर्ने बताएका थिए ।  
    
यसैगरी उपप्रधानमन्त्री श्रेष्ठले चीनको सिजाङ्ग स्वायत्त क्षेत्रका पार्टी सचिव वाङ झुङहेङसँग भेट गरी नेपाल–चीन सीमा क्षेत्रका नागरिकले व्यहोर्नुपरेको समस्या समाधान गर्न आग्रह गरेका थिए । उनले ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन गरी आर्थिक कूटनीतिमा ध्यान दिन निर्देशन दिएका थिए ।  

उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले तिब्बतमा रहेको कैलाश मानसरोवर क्षेत्रको अवलोकनसमेत गरेको थियो । भ्रमणका क्रममा सिचुवान प्रान्तको छेन्दु पुगेका उनले सिचुवान जनसरकारका गभर्नर हुवाङ सियाङसँग पनि भेट गरी नेपालमा चिनियाँ लगानीका लागि आग्रह गरेका थिए ।  

नेपाली प्रतिनिधिमण्डलमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख  एवं सहसचिव कृष्ण ढकाल, बेइजिङस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन सुरेन्द्र यादव, उपप्रधानमन्त्रीका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, नायब शिष्टाचार महापाल उत्तमकुमार शाही, परराष्ट्र मन्त्रालयका उपसचिव अरुणा घिसिङलगायत सहभागी थिए । उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत १२ गते चीनको भ्रमणमा आएका हुन् ।  

Advertisement

Advertisement