‘खड्काल्याण्डले प्रयोग गरेको स्काउटको जग्गा र भवनमा सिल गरेर सरकारले आतंक मच्चायो’

Advertisement

काठमाडौं । नेपाली काँग्रेस सांसद दीपक खड्काले व्यवसायीमाथि सरकारले आतंक मच्चाएको आरोप लगाएका छन् । 

शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले स्काउटको लैनचौरस्थित जग्गामा बनाएको पार्टी प्यालेसलगायत सटरमा ताला लगाएर सरकारले व्यवसायीहरुलाई आतंकित बनाएको बताएका हुन् । 

Advertisement

बिहीवार सरकारले १५ वर्षदेखि कब्जा गरेको भन्दै लैनचौरस्थित स्काउटको जग्गा र भवनमा सिल गरी नियन्त्रणमा लिएको थियो । तर सांसद खड्काले स्काउटको जग्गा आफूले नहडपेको दाबी गरे । उनले आफू खड्काल्याण्ड डेभलपमेण्ट प्रालिमा विगत दुई वर्षदेखि आवद्ध नरहेको भन्दै राजनीतिक प्रतिशोध साध्न राज्य लागेको बताए । 

स्काउटको जग्गा लिजमा लिएर व्यापारिक प्रयोजनका लागि अन्य व्यावसायिक संस्थाहरूलाई भाडामा लगाएको स्वीकार गर्दै उनले स्काउटको भुक्तानी हिसाव गरेर तिर्न तयार रहेको बताए । खड्काले १५ वर्षअघि स्काउटले सटर बनाउन लिएको ऋण तिर्न नसक्दा आफूले जग्गा लिजमा लिएर सहयोग गरेको बताए । 

नेता खड्काले अहिले राज्यले समय अवधि हुँदाहुँदै पनि व्यवसायीहरुलाई गरिखाने वातावरण समेत नदिएको बताए । उनले जग्गा भाडामा लिएको १२ वर्षसम्म कुनै समस्या नभएको ठाउँमा एमालेको सरकार हुँदा स्काउटको कार्यकारी भुमिकामा लोकबहादुर भण्डारी आएपछि समस्या भएको बताए । 

भण्डारी आएसँगै आफूहरुमाथि विभिन्न हतकण्डाहरु अपनाएर हटाउने वा बिस्थापित गर्ने योजनाका साथ लागेको खड्काको भनाई छ । उनले राती १० बजे विवाहको पार्टी चलिरहेको अवस्थामा राज्यले व्यवसायीहरुलाई आतंकित बनाउने गरी सिल गर्नु गैरजिम्मेवारी भएको बताए । 

खड्काले भने, ‘नेपाल स्काउटले कर्जा लिएर बनाएका सटरहरु भाडामा लगाउन पटक–पटक टेण्डर लगाउँदा कसैले नलिएर तिर्ने पैसा नभएपछि मसँग भेटभएपछि सहयोग गरिदिनु पर्यो भनेपछि म आएर प्रक्रिया गरेर शुरु गरेको हो । अहिले करिव १५ वर्ष भयो । दोस्रो टेण्डरमार्फत फेरि पनि काम भइरहेको छ । स्काउटको यो जग्गा फोहार फाल्ने ठाउँ जस्तो थियो । त्यस्तो ठाउँलाई व्यवसायिक भवनमा परिणत गर्ने काम भयो । १२ वर्ष समय पार गर्दा समेत कुनै समस्या भएन । तर जब साढे पाँच वर्ष पहिला ६ महिनाका लागि भनेर एमालेको सरकार हुँदा स्काउटको कार्यकारी भूमिकामा लोकबहादुर भण्डारीलाई पठाइयो । त्यहाँदेखि हामी माथि विभिन्न हतकण्डाहरु अपनाउन थाल्नुभयो ।’ 

उनले थपे, ‘यहाँबाट मलाई विस्थापित गर्ने जग्गा कब्जा गर्ने नियतका साथ काम गरेको छन् । स्काउटले यो जग्गा हत्याउन खोज्नुभयो । हामी टेण्डर लिएर बसेका छौं । यसै किन छाड्ने ? नेपाल सरकारलाई चाहियो वा स्काउटलाई चाहियो भने उहाँहरुको जग्गाको जतिखेर पनि लान सक्ने सम्झौतामा उल्लेख छ । यहाँका ४८ परिवारले व्यवसाय सञ्चालन गर्नु भएको छ । उनीहरुलाई राज्यले गरिखान दिएन । स्काउटलाई तिर्नुपर्ने रकम कम्पनीले तिर्छ । म कम्पनीमा छैन । तर म जिम्मा लिएर तिर्छु भनेको छु । राज्यलाई यति ठूलो के गर्न मन लागे छ । व्यवसायीहरुलाई दुःख दिएर राज्यले आतंक गर्नुपर्ने विषय के बनेछ । कानूनी हिसाव त्यस्तो देखिँदैन । सबै हिसाव गर्न तयार छु भन्दा पनि राती १० बजे आएर ताला लगाउनुपर्ने कारण के रहेछ । म भाग्ने सूचना पाउनुभयो की ? राज्यप्रति चिन्ता लागेको छ । राज्य देशमा के गरिरहेको छ । सरकार देशमा किन आतंक मच्याउन खाजेको छ ।’

नेता खड्काले सरकारले सूचना समेत नदिई, बुझ्दै नबुझी व्यवसायी बन्द गर्नु गलत प्रक्रिया भएको बताए । उनले सरकारले  स्काउटको जग्गामा व्यवसाय गर्ने ४८ परिवारलाई व्यवसाय गर्न नदिएर आतंक फैल्याएको बताए । 

Advertisement