साह्रौं पञ्चवर्षीय योजनामा भ्रष्टाचार न्यूनीकरणको मुद्दा प्राथमिकतामा राख्न हुन्नः खतिवडा

Advertisement

काठमाडौं । पूर्वअर्थमन्त्री युवराज खतिवडाले आर्थिक समृद्धिका आधारभूत तत्वहरुलाई पहिलो प्राथमिकतामा राखेर १६ औं पञ्चवर्षीय योजना बनाउनुपर्ने सुझाव दिएका छन् । 

बिहीवार भएको राष्ट्रिय विकास परिषद्को बैठकमा उनले भ्रष्टाचार न्यूनीकरणलाई पहिलो प्राथमिकतामा दिनुले विश्वमा गलत सन्देश जाने तर्क गर्दै सुशासनका कुराहरुलाई जोड दिन र आर्थिक समृद्धिका कुरामा बढी आवश्यक रहेको बताए । 

Advertisement

खतिवडाले निरन्तर ५ प्रतिशतभन्दा माथि १० वर्ष आर्थिक प्रगति हासिल गर्ने हो भने गरिबी १० प्रतिशत घट्ने दाबी पनि गरे । कम लगानीबाट बढी प्रतिफल लिने बाटोमा जानेकुरामा ध्यान दिन आवश्यक रहेको उनले बताए । 

संविधानमा लेखिएको समाजवाद उन्मुख राज्यप्रणाली निर्माणको आधार तयार गर्नेकुरा योजनामा समावेश गर्न केले रोकेको हो ? भन्दै खतिवडाले सबैको एजेण्डालाई समावेश नगर्दा बजेटमा पहिलो चरणमा बिरोध गर्नुपर्ने स्थिति सिर्जना हुने बताए । 

उनले समृद्ध नेपाल, सुखी नेपाली हामी सबैको साझा एजेण्डा भएको पनि बताए । खतिवडाले बजेटमा समाजवाद उन्मुख राज्य प्रणाली भनेर लेख्ने तर पञ्चवर्षीय योजनामा चर्चा नै नगर्ने हो भने पहिलो चरणमा नै योजनाभन्दा फरक बजेट बन्ने बताए । उनले संविधानले आत्मसाथ गरेका विषयहरु, त्यहाँ भित्रका मौलिक हक, राज्यका सिद्धान्तहरुलाई राम्रो र खुलेर समावेश गरेर जानुपर्ने बताए । 

खतिवडाले भने, ‘यो योजना तर्जुमा गरिरहँदा मैले यसअघि पनि भेनेका थिएँ, हामीलाई हाम्रो संविधानले नै भनेको हामी सबैले स्वीकारेको, संविधानमा लेखिएको समाजवाद उन्मुख राज्यप्रणाली निर्माणको आधार तयार गर्नेछौँ भन्नेकुरा लेख्नलाई केले छेक्यो होला ? त्यो मैले अहिले पनि बुझिराखेको छैन । त्यो हामी सबैको साझा एजेण्डा हो । समृद्ध नेपाल, सुखी नेपाली हामी सबैको साझा एजेण्डा हो । त्यही नारालाई अघि बढाउँदा कसैलाई काखा, कसैलाई पाखा हुँदैन थियो होला, त्यो लेख्न हामी किन हिच्किचाइरहेका छौँ ?’ 

उनले थपे, ‘हामीले संविधानमा जे—जे प्रण गरेका छौँ, त्यसलाई कार्यान्वन गर्ने आवधिक योजना यही १६ औं योजना हो । अब यसलाई अंकमा ढालेर लक्ष्य समेत राम्रोसँग तोकेर जाने मध्यकालीन खर्च योजना र वार्षिक योजना बन्छ । वार्षिक बजेट एक वर्षको बन्छ, त्यसलाई आवधिकमा दोहो¥याउनुपर्छ, पाँच वर्षको लागि सुनिश्चित गर्नुपर्छ विकासका रणनीति, उद्देश्य कार्यक्रम भनेर नै यो १६ औं योजना बनाएको हो । भोलि बजेट लेखौँला हामीले समाजवादउन्मुख राज्य प्रणाली निर्माण गर्ने भनेर योजनामा त्यसको कुनै लामो चर्चै गरेनौँ, समाजवादको आधार तयार गर्ने चर्चा नै गरेनौँ भने त बजेट त पहिलो स्टेपमै योजना भन्दा फरक हुन्छ त । यदी त्यो लेखिएन भने बजेटको आलोचना त हामीले पनि गर्नुपर्ने हुन्छ । त्यसो भएकाले यस्ता कुराहरु हाम्रो संविधानले आत्मसाथ गरेका विषयहरुलाई, त्यहाँ भित्रका मौलिक हक, राज्यका सिद्धान्तहरुलाई राम्रो र खुलेर समावेश गरेर जाऔँ ।’

पूर्वअर्थमन्त्री खतिवडाले देशको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार रहेको तर भ्रष्टाचार नै निर्मुल गर्नेकुरा योजनाको पहिलो प्राथमिकतामा राख्नुले विश्वमा गलत सन्देश जाने बताए । 

Advertisement