आगलागीबाट १५ घर नष्ट हुँदा दुई करोड २६ लाखको क्षति

Advertisement

धुलिखेल । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ स्थित सानोपोटा गाउँमा मङ्गलबार दिउँसो भएको आगलागीमा परी १५ घर नष्ट हुँदा रु दुई करोड २६ लाख ३० हजार बराबरको क्षति भएको छ । बस्ती नजिकै रहेको सामुदायिक वनमा लागेको आगलागीबाट सानोपोटा गाउँमा क्षति पुगेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आगलागीबाट १५ घर, सात गोठ र चार शौचालय नष्ट भएको छ । आगलागीबाट रोशी–४ सानोपोटा बस्ने वर्ष ४२ वर्षीय प्रेम तामाङ, जनक तामाङ, रामबहादुर तामाङ, सत्यलाल तामाङ, तीर्थलाल तामाङ, धनकाजी तामाङ, पदमबहादुर तामाङ, प्रशान्त थिङ तामाङ, माया तामाङ, पलबहादुर तामाङ र साइली माया तामाङका घर, गोठ, नगद, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा  र सरसामान नष्ट भएको प्रहरीले जनाएको छ ।

Advertisement

वडा नं ४ का वडाध्यक्ष तेजबहादुर मगरका अनुसार घर नष्ट भएपछि पीडितहरु खुल्ला आकाशमुनि बस्दै आएका छन् । उनीहरुको बसाइ व्यवस्थापनका लागि गाउँपालिकाबाट त्रिपाललगायत सामान ल्याउने क्रममा रहेको उनले बताए । आगलागी भएको जानकारी पाएपछि नेपाली सेना, स्थानीय बासिन्दा र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।

जङ्गलमा लागेको आगो घरमा सल्किँदा घर नष्ट
यता, चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित कोटारीमा दुई घरमा आगलागी भएको छ । 

जङ्गलमा लागेको डढेलोका कारण घरमा आगो सल्किँदा स्थानीयको दुई घरमा क्षति पुगेको हो । मङ्गलबार साँझ ७ बजेतिर जङ्गलमा लागेको आगो स्थानीयको घरसम्म आइपुग्दा एक घर पूर्णरुपमा नष्ट भएको छभने अर्को एक घरको आधा भाग जलेको स्थानीय अनिल बुढाथोकीले जानकारी दिए ।   

स्थानीयले आगो नियन्त्रणमा लिएपछि अन्य घर आगलागीबाट बचेको उहाँले बताउनुभयो । आगलागीमा परी स्थानीय रामबहादुर चेपाङको घर पूरै जलेको र रु २० हजार नगद, २० डोको मकै, चार घार मौरी, लत्ताकपडालगायत सामग्री जलेर पूर्ण रुपमा नष्ट भएको स्थानीय अनिल बुढाथोकीले बताए । उनका अनुसार  चेपाङका छोरा कर्ण चेपाङको घर आधा जलेको र घरमा रहेको एक घार मौरी, लत्ताकपडालगायत जलेर नष्ट भएका छन् । रासस

Advertisement

Advertisement