संदीपबिनाको नेपाली क्रिकेट टिम टि–ट्वान्टी विश्वकप खेल्न आज राति अमेरिका प्रस्थान गर्दै

Advertisement

काठमाडौं । दश वर्षपछि टि–ट्वान्टी विश्वकप खेल्न नेपाली क्रिकेट टिम आज (शनिबार) राति अमेरिका प्रस्थान गर्दैछ । टोलीमा लोकप्रिय खेलाडी संदीप लामिछाने छुट्ने छन् । 
अदालतले मुद्दा टुंगो नलगाइदिँदा संदीप खेल्नबाट बन्चित भएका हुन् । उनलाई खेल्न बन्चित गरिएकोमा अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । स्वयम संदीपले आफूमाथि ठूलो षडयन्त्र भएको भन्दै यसको पर्दाफास गर्ने चेतावनी दिएका छन् । 

प्रस्थान गर्नुअघि टिमलाई शुक्रबार नेपाली क्रिकेट टिमको विदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले एक समारोहका बीच नेपाली राष्ट्रिय क्रिकेट टोलीका विदाई गरेको हो । आफू टिममा सहभागी हुन नपाए पनि संदीप नेपाली क्रिकेट टिमलाई बिदाई गर्न कार्यक्रममा सहभागी भएका थिए । 

Advertisement

उनीहरूलाई गृहमन्त्री रवि लामिछाने, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिद्का उपाध्यक्ष शिव कोईराला, परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतले विदाई गरेका हुन् । 

नेपालले आगामी जुन ६ देखि २९ सम्म अमेरिका र वेस्ट इण्डिजमा संयुक्तरुपमा आयोजना हुने आईसीसी‌ ट्वान्टी–२० विश्वकप खेल्दैछ । नेपालले सन् २०१४ पछि विश्वकप खेल्न लागेको हो । विदाई कार्यक्रममा गृहमन्त्री रवि लामिछानेले खेलले सम्पूर्ण नेपालीलाई एक ठाउँमा ल्याउने उल्लेख गर्दै घृणा र तृष्णाको फोहोर राजनीतिबाट पर राख्ने बताए । 

उनले राष्ट्रिय खेलाडीहरुले प्राप्त गर्नुपर्न सुविधाका लागि समेत खेलाडीहरुले संघर्ष गर्नु परिरहेको स्वीकार गरे । लामिछानेले भने, ‘खेलले सम्पूर्ण नेपालीलाई एक ठाउँमा ल्याएको छ । एक ठाउँमा उभिएको छ । सरकारका तर्फबाट तपाईंहरुले पाउनुपर्ने कयाँै कुरा पाउनुभएको छैन । एउटा राष्ट्रिय खेलाडीहरुले प्राप्त गर्नुपर्न सुविधाका कुरा, आफूले पाएको र सरकारले घोषणा गरेको पुरस्कार प्राप्त गर्न समेत संघर्ष गर्नुपरेको अवस्थामा यो तपाईंहरुको बलले नै गर्नुभएको छ ।’

सन् २०१४ को विश्वकप हेरेर नै हामी उत्प्रेरित हुँदै क्रिकेटमा आएको उल्लेख गर्दै कप्तान रोहित पौडेलले अब नयाँ पुस्तालाई उत्प्रेरित गर्ने जिम्मेरवारी आफ्नो टोलीमा रहेको बताए । उनले यहाँसम्म पुग्न साथ सहयोग गर्ने सबै सरोकारवालाप्रति धन्यवाद दिए । 

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद नीति संशोधन गर्न मन्त्रालयले काम गरिरहेको बताए । सदस्यसचिव टंकलाल घिसिङले प्रतिवन्ध, नेपाली खेलकुदको अस्थिरता र महामारीका कारण नेपाली क्रिकेटले पुनः विश्वकपमा पुग्न दशक लागेको उल्लेख गर्दै यो सफलता दोहोर्याउन कडा मिहेनत गर्ने खेलाडीलाई धन्यवाद दिए । 

उनले निरन्तर विश्व कप खेल्ने र एक दिन विश्वकप जित्ने वातावरण निर्माण गर्न आवश्यक रहेको उल्लेख गरे । सदस्यसचिव घिसिङले आगामी विश्व कपमा नेपाली टोलीको साथमा १२ औं खेलाडीको रूपमा सिंगो तीन करोड जनता नै रहने उल्लेख गर्दै उच्च आत्मबलका खेल्ने शुभकामना दिए । 

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालले दश वर्ष अगाडि नै विश्वकप खेलेको उल्लेख गर्दै यस पटक नयाँ इतिहास रच्न नेपाली टोली जान लागेको बताए । क्यानका सचिव पारस खड्काले नेपाली राष्ट्रिय क्रिकेट टिमले एउटा म्याच हार्दा सामाजिक सञ्जालमा धेरै प्रतिक्रिया आउने गरेको भन्दै हरेक पटक नै नयाँनयाँ टिम फेरबदल गर्नुपर्ने परिस्थिति सिर्जना भएको बताए । 

उनले नेपाली क्रिकेटका लागि यो राम्रो रहेको पनि बताए । खड्काले सरकार, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्का सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताए । वेस्ट इण्डिज एका कप्तान रोस्टन चेजले विश्वकप खेल्न जाने नेपाली टोलीलाई शुभकामना दिँदै आगामी दिनमा पनि आफ्नो टोली नेपाल आउन आतुर रहेको विश्वास व्यक्त गरे । 

Advertisement

Advertisement