मन्त्रीसमेत रहेका पार्टी अध्यक्ष विदेश रहेको बेला अशोक राईले ७ जना साँसदसहित पार्टी फुटाए

Advertisement

काठमाडौं । जनता समाजवादी पार्टी विभाजित भएको छ । सो पार्टीका वरिष्ठ नेता अशोक राईले ७ जना सांसदहरुले पार्टीबाट अलग्गिएर नयाँ दल दर्ताको निवेदन दिएका छन् । 

आईतवार निर्वाचन आयोगमा पुगेर पार्टीका राईसहितका नेताहरुले जनता समाजवादी पार्टी नामक दल दर्ताको निवेदन दिए । पार्टी अध्यक्ष उपेन्द्र यादवले पार्टीको विधान विपरित काम गरेको भन्दै पार्टीबाट अलग्गिनुपरेको नेता राजेन्द्र श्रेष्ठले बताए । 

Advertisement

उनले जसपामा रहेका १२ जना सांसदमध्ये ७ जना सांसद आफूहरुसँग रहेको दाबी गरे । श्रेष्ठले सरकारलाई समर्थन जारी राख्ने पनि बताए । स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका उपेन्द्र यादव अहिले अमेरिका भ्रमणमा छन् । 

श्रेष्ठले भने, ‘हाम्रो पार्टीको नाम जनता समाजवादी पार्टी हो । हाम्रो यो निरन्तरता हो । हिजोको जुन घोषणापत्र, विधान, नीति, कार्यक्रम जे जति छन्, पार्टीको त्यो सबैलाई हामी निरन्तरता दिन्छाँै । राजनीतिक दल सम्बन्धी ऐन र राजनीतिक दलसम्बन्धी नियमावली २०७८ बमोजिम २० प्रतिशत भएको खण्डमा नयाँ पार्टी दर्ता गर्नसक्ने अवस्था थियो, त्यो अध्यादेशबाट आएको थियो । अध्यादेश हाउसबाट प्रतिष्थापन भएको छैन । त्यसअन्तर्गत बनेको नियमावली जुन छ, त्यस अनुसार हो । हामीसँग प्रतिनिधि सभाको १२ जना सांसदमध्ये ७ जना हुनुहुन्छ । बहुमत सांसद हामीसँग हुनुहुन्छ । अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि हो । अहिले बनेको सरकारको निरन्तरताको पक्षमा छाँै । विधान विपरितका कुराहरु भए त्यसैले हामीले यो निर्णय लिएका हौँ ।’

राईलाई नवलकिशोर साह, रेणुकुमारी यादव, हसिना खातुन, डा. वीरेन्द्र महतोले साथ दिएका छन् । त्यस्तै प्रदीप यादव र सुशीला श्रेष्ठले राईलाई साथ दिएका छन् । अध्यक्षमा राई रहेका छन् भने रेणुकुमारी यादव, नवलकिशोर साह, रणध्वज लिम्बू, परशुराम रम्तेल र शुशीला श्रेष्ठ गरी चार उपाध्यक्ष बनाइएको छ । संघीय परिषद् अध्यक्षमा राजेन्द्र श्रेष्ठ रहेका छन् । मोहम्मद इस्तियाक राइलाई महासचिवको जिम्मेवारी दिइएको छ । सांसद समेत रहेका प्रदीप यादव उपमहासचिव छन् । 

सरकारले सय रुपियाँको नयाँ नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको केही दिनमा नै पार्टी विभाजन र सरकार परिवर्तनको खेल सुरु भएको हो । चुच्चे नक्सासम्वन्धी नेपालको निर्णयप्रति भारतीय विदेशमन्त्री एस जयशंकरले आपत्ति पनि जनाएका थिए । 

Advertisement

Advertisement