बुधबारदेखि राजधानीमा राष्ट्रिय मह मेला हुने

Advertisement

काठमाडौं । राजधानी काठमाडौंमा भोलि (बुधबार)देखि मह मेला हुने भएको छ । ‘दैनिक एक चम्चा मह सेवन स्वस्थ र दीर्घ जीवन’ नाराका पाँचौं राष्ट्रिय महमेला आयोजना हुन लागेको हो । 

मह उत्पादन खपत बढाउन फाइदाको पक्षलाई व्यापकरुपमा सर्वसाधरणसम्म सूचना प्रवाह गर्न महमेला आयोजना गर्न लागिएको आयोजक पक्षले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 

Advertisement

स्वदेशी महको बजारीकरण तथा मह उत्पादक किसान, मह बिक्रेता र उपभोक्ताहरूबिचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा नेपाल मौरी पालक महासंघ, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ र व्यवसायिक किट विकास निर्देशनालयको सहआयोजनामा पाँच दिने मह मेला आयोजना हुन लागेको हो । 

मौरी पालक महासंघका अध्यक्ष सुभाषचन्द्र घिमिरेले मह उत्पादक किसानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न तथा विभिन्न स्रोतका महको बारेमा उपभोक्तालाई परिचित गराउनु महोत्सवको उद्देश्य रहेको बताए । 

व्यवसायिक किट विकास केन्द्रका प्रमुख भोजराज सापकोटाले नेपाली मह विश्वमै उत्कृष्ट हुँदाहुँदै पनि बजार नपाएको अहिलेको अवस्थालाई चिर्न महोत्सवले प्रभावकारी भूमिका खेल्ने अपेक्षा रहेको उनले बताए । 

परागसेचन, निर्यातको सम्भावना, खाद्य सुरक्षामा टेवा पुर्याउने मह र यसको उपयोगितालाई सबैसामु चिनाउन महोत्सव आयोजना गरिएको उसापकोटाको भनाई थियो ।

मौरीपालन केन्द्रीय सहकारी संघकी अध्यक्ष जानुकादेवी थापाले नेपालमा उत्पादित महको उत्पादन, खपत र निकासीको प्रशस्त सम्भावना भए पनि सरकारले सुविधा र सहुलियतबारेमा पर्याप्त जानकारी दिन नसक्दा यो क्षेत्र अल्मलिएको बताइन् । 

घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश सिंहले महको उत्पादनदेखि व्यवसायिक समस्या समाधानका लागि महासंघ सहकार्य गर्न तयार रहेको बताए । 

वैशाख ३० सम्म चल्ने मेलामा अर्गानिक महको छुट्टै प्याभिलियन हुनेछ । मेलामार्फत उपभोक्ताले महको किसिमबारे पनि थाहा पाउनेछन् भने बिक्रेताहरुले उपभोक्ताहरुको चाहना र उत्पादक किसानको महका विशेषता पनि थाहा पाउन सक्नेछन् ।

मेलामा मह काढ्ने तरिका, महसम्बन्धी सूचनामूलक जानकारी, मौरीपालनका नवीनतम प्रविधिहरूको प्रदर्शनी, मौरीसँग सम्बन्धित सरोकारवालाहरूबीच अन्तरक्रिया तथा गोष्ठी आयोजना हुनेछन् । यस्तै सांस्कृतिक कार्यक्रम तथा राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुतिका साथै महका पारखी उपभोक्ताहरूलाई विभिन्न स्रोतको महको परिचय परिकार महोत्सव मेलाको आकर्षणको रुपमा रहनेछन् ।

भीर मौरी, कठौरी मौरी लगायत स्थानीय र रैथाने मौरीहरूको मह प्रदर्शनी तथा बिक्री वितरण हुनुका साथै मौरी र मह सम्बन्धी विभिन्न अनुसन्धानको निष्कर्ष तथा सूचनामूलक जानकारी प्रस्तुती पनि रहने आयोजकको भनाई छ ।  

Advertisement

Advertisement