रवि लामिछानेको पार्टीका नेता भन्छन्– यस्तै अवस्था रहे रास्वपाको औचित्य सकिन्छ

Advertisement

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक नेताले यस्तै अवस्था रहे आफ्नो पार्टीको औचित्व सक्किने भन्दै चाँडोभन्दा चाँडो सरकार छोडेर बाहिर आउनुपर्ने बताएका छन् । 

रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई अँगालो हालेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोक्न गएपछि मिसन ८४ ले पनि हावा खाइसकेको तर्क गरेका छन् । 

Advertisement

जनताले कांग्रेस र कम्युनिष्टको विकल्प चाहेको बेला रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी जन्मिएका थिए । युवाहरुको आशा र सपना पूरा गर्छु भनेर गत निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टी, सभापति तथा गृहमन्त्री रवि लामिछाने्माथि लागेको सहकारीको रकम अपचलनको आरोपले गर्दा समस्यामा परेको छ । 

नयाँ जोश, जाँगरका साथ निर्वाचनमा होमिएको रास्वपालाई आम नेपालीहरुले छोटो समयमा नै विश्वास गरे पनि पूराना दलहरु यो पार्टीका सभापतिको कमजोरीलाई समाएर आफूहरुको अवरोध हटाउने प्रयासमा छन् । पार्टी घेराबन्दीमा परेको बेला रास्वपाकै नेता समेत सभापति लामिछानेको आलोचनामा उत्रिन थालेका छन् । 

कार्कीले सभापति रवि लामिछानेको वरपर भ्रम छर्नेहरु रहेको र उनीहरुले पार्टी र सभापतिलाई सिध्यारहेको टिप्पणी गर्दै भने, ‘हामीले प्रश्नहरुको जवाफ दिइरहेका छौँ । कति प्रश्नको जवाफ प्रष्ट दिएका छौं, कतिको अलिकति घुमाउन खोजिरहेका छौं र कतिपय प्रश्नहरुको जवाफ नदिएर तर्किरहेका छौं ।’ 

आफूहरुको पार्टी छोटो समयमा ठूलो भएको, अस्वभाविक गति र रूपको बनेको जस्तो देखिएको भन्दै कार्कीले जम्प गरेर हिँडे जस्तो हुँदा कहिले कता कहिले कता ठोक्किरहेको बताए । ठोक्किएको विषयमा पार्टीभित्र समीक्षा नै हुन सकेन भने । 

पार्टीभित्र गम्भीरता नदेखिएको कार्कीको तर्क छ । उनले फट्याङ्ग्रा उफ्रिए जस्तो पार्टी बन्यो भन्दै भने, ‘संसद्मा गइयो, संसदवाट सरकारमा, सरकारवाट फिर्ता अनि फेरि सरकारमा, त्यसपछि उपनिर्वाचनमा भाग लियौं, हाम्रो उम्मेदवारको जमानत जफत भयो । सबै तीब्र गतिमा भइरहेको छ ।  यो गति अस्वभाविक भयो ।  कतै हाम्रै शक्ति हामी माथि त आइलाग्ने होइन भन्ने डर भयो । हाम्रो उफ्राइ हेर्दा जता पनि लड्नसक्ने देखियो ।’ 

यद्यपि कार्कीले रास्वपासँग नीति नभएको कुरा अस्वीकार गरे । पुरानो विचार वा सिद्धान्त मान्दिन भन्नु पनि सिद्धान्त हो नि भन्दै उनले तर समयक्रमसँगै रास्वपा पनि पूराना दल जस्तै संगठन बढाउने पार्टीमा पदाधिकारी राख्ने भागबण्डामा हिस्सा खोज्न थालेको बताए । कार्कीले सरकारमा जानु रास्वपाको गल्ती हो भने । 

उनले भने, ‘हामीले सरकारमा जान्न भनेर नै भोट मागेको हो । नो नट एगेन अभियान हामीले चलाएको हो । हामीले पूरानो प्रवृत्ति बिरुद्ध लड्ने भनेका थियौं । तर अहिले प्रवृत्ति पनि स्वीकारेको पूराना व्यक्ति पनि स्वीकारेको अवस्थामा पुगेका छौँ । हुँदाहुँदा सबै यस्तै त हो नि भन्नेमा पुग्यौँ । राजनीति भनेको यस्तै रहेछ भन्न थालिसक्यौँ । अब तिनै पुराना नेता अनि प्रवृत्ति बोकेर हिँडेको हो कि भन्ने शंका उब्जेको छ ।’

Advertisement

Advertisement