बीमा कम्पनीको मुद्दती निक्षेपलाई ‘एयरमार्क’ गर्न पहिलो पटक मार्गदर्शन जारी, के छन् शर्त ?

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘बीमकको मुद्दती निक्षेप लगानीको ‘एयरमार्क’सम्बन्धी मार्गदर्शन, २०८१’ जारी गरेको छ । प्राधिकरणले बिहीबार उक्त मार्गदर्शन जारी गरेको हो ।

बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेप राख्दा खातालाई नियामक निकाय अर्थात् प्राधिकरणको नाममा ग्रहणाधिकार (एयरमार्क) गर्नुपर्नेछ । अहिले आएर त्यसका लागि पहिलो पटक छुट्टै मार्गदर्शन जारी गरिएको हो । 

Advertisement

मार्गदर्शनले विशेषगरी ‘एयरमार्क’ गर्ने प्रक्रियालाई अनलाइन प्रणालीबाटै गर्न  बाटो खुला गरेको छ । यसअघि कागजीरुपमा (म्यान्युल्ली) एयरमार्क प्रक्रिया पूरा गर्नुपर्दथ्यो । तर, अब बीमा कम्पनीहरुले अनलाइनबाटै यस्तो काम गर्नसक्ने प्राधिकरणका उपनिर्देशक साम्भराज लामिछानेले बताए ।  यसको लागि आवश्यक अनलाइन प्रणालीको पनि विकास गरिसकेको उनले बताए । 

लामिछानेले भने, ‘एयरमार्कसम्बन्धी मार्गदर्शन नै ल्याएको यो पहिलो पटक हो । यद्यपि, बीमा कम्पनीहरुले मुद्दती निक्षेपमा लगानी गर्दा सम्बन्धित् खाता प्राधिकरणको नाममा एयरमार्क गर्नुपर्ने पूरानै व्यवस्था हो । तर, पहिला म्यान्युल्ली यसको प्रक्रिया पूरा गर्नुपर्ने थियो । अब भने अनलाइनबाटै यसको सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिन्छ ।’ 

बीमा कम्पनीहरुले बैंकको मुद्दती निक्षेपमा पैसा राख्दा सम्बन्धित खातालाई प्राधिकरणको नाममा मुद्दती अवधीसम्म एयरमार्क गर्नुपर्छ । त्यो अवस्थामा प्राधिकरणको पूर्वस्वीकृत बिना कम्पनीले पैसा झिक्न पाउने छैनन् । मुद्दती निक्षेपको अवधी सक्किएपछि प्राधिकरणले त्यसलाई फुकुवा गरिदिनेछ । त्यसपछि कम्पनीले त्यो पैसा फिर्ता लिन सक्नेछ । सर्वसाधारणको पैसा जथाभावी रुपमा खर्च हुन नदिने उद्देश्यले पनि यस्तो व्यवस्था कायम राखिएको छ ।

यसका लागि कम्पनीले मुद्दती निक्षेप खातालाई ‘एयरमार्क’ गर्न र फुकुवा गर्न प्राधिकरणमा निवेदन दिनुपर्नेछ जुन पहिला मान्युअल्ली हुन्थ्यो । बीमा कम्पनीहरुले कागजपत्र बोकर प्राधिकरणको कार्यालयमै पुग्नुपर्ने थियो । तर, अब यससम्बन्धी सबै काम अनलाइन प्रणालीबाटै हुनेछ । 

यसका लागि सम्पूर्ण कम्पनीले एयरमार्क प्रणालीको विकास र प्रयोग गर्नुपर्ने मागदर्शनमा उल्लेख छ । एयरमार्क प्रणाली प्रयोग गर्न कम्पनीले आधिकारिक लगइन आइडीको प्रयोग गर्नुपर्नेछ । यसका लागि प्राधिकरणबाट सम्बन्धित कम्पनीको अधिकारीलाई प्रदान गरिएको आधिकारिक युजरनेम र पासवर्डको प्रयोग गर्नुपर्ने मार्गदर्शमा उल्लेख छ । 

प्राधिकरणले उपलब्ध गराएको युजरनेम र पासवर्डको सुरक्षाको जिम्मेवारी पनि प्रयोगकर्ता स्वयंमले लिनुपर्ने मागदर्शनमा उल्लेख छ । यद्यपि, कम्पनीले प्राधिकरणमा पठाएको एयरमार्क सम्बन्धी विवरणको प्रतिलिपि सुरक्षित रूपमा अभिलेख राख्नु पर्ने मार्गदर्शनमा उल्लेख छ ।

यस्तो छ बीमा कम्पनीका लागि एयरमार्क प्रक्रिया
कम्पनीले सम्बन्धित खाता एयरमार्क गर्न अनलाइनबाटै प्राधिकरणमा ‘ब्लक रिक्वेष्ट’ पठाउनुपर्नेछ । त्यसका लागि मुद्दती निक्षेपको नम्बर, मुद्दती निक्षेप सुरु भएको र परिपक्क हुने मिति पनि प्रमाणीकरण गर्ने गरि निवेदन दिुनपर्नेछ । निवेदनमा मुद्दती निक्षेपको रसिद र रकम (सीमाभित्र रहेको हुनुपर्ने)को जानकारी समेत समावेश गर्नुपर्ने मागदर्शनमा उल्लेख छ ।

मुद्दती निक्षेपको खाता खोलिएको वा लगानी गरेको ७ कार्य दिनभित्र एयरमार्क प्रणालीबाट ब्लक रिक्वेष्ट पेश गर्नुपर्नेछ । त्यस अवधिपछि पेश गरेको ब्लक रिक्वेष्टलाई स्वीकार नगरिने मार्गदर्शनमा उल्लेख छ । कम्पनीबाट ब्लक रिक्वेष्ट प्राप्त भएपछि प्राधिकरणले संलग्न कागजातहरूको आधारमा एयरमार्क प्रणालीबाटै स्वीकृत गर्नेछ । 

त्यसपछि कार्यान्वयनका लागि एयरमार्क प्रणाली मार्फत सम्बन्धित बैंक तथा वित्तीय संस्थामा पठाउनेछ । त्यसपछि यो कार्यान्वयनमा जानेछ । 
एयरमार्क गरिएको मुद्दती निक्षेप परिपक्क भएपछि रकम झिक्न प्राधिकरणबाटै फुकुवा गनुपर्छ । त्यसका लागि कम्पनीले सोही प्रणालीमार्फत प्राधिकरणमा अनब्लक रिक्वेष्ट पठाउनुपर्छ । 

मुद्दती निक्षेप परिपक्व हुनु भन्दा सात कार्य दिन अघि नै कम्पनीले यस्तो प्रस्ताव प्राधिकरणमा पठाउनुपर्नेछ । त्यसपछि प्राधिकरणले आवश्यक कागजपत्र हेरेर अनलाइनबाटै त्यो स्वीकृत गर्नेछ । त्यसपछि एयरमार्क प्रणालीबाटै बैंकलाई पैसा फुकुवा गर्न सिफारिसर्नेछ । त्यसपछि बीमा कम्पनीले मुद्दती निक्षेपको पैसा झिक्न पाउने छन् । 

के गर्नुपर्छ बैंक तथा वित्तीय संस्थाले ?
मार्गदर्शनअनुसार यसका लागि बैंक तथा वित्तीय संस्थाले पनि एयरमार्क प्रणाली प्रयोग गर्नुपर्नेछ । बीमा कम्पनी र  प्राधिकरणबाट  प्रमाणित गरिएका मुद्दती निक्षेपहरू ब्लक र अनब्लक गर्न बैंकहरुले एयरमार्क प्रणालीको प्रयोग गर्नुपर्ने मागदर्शनमा उल्लेख छ । 

बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो कोर बैंकिङ प्रणालीबाटै बीमा कम्पनीले मुद्दती निक्षेपमा गरेको लगानीलाई प्राधिकरणको नाममा एयरमार्क गर्नुपर्ने बताइएको छ । ब्लक रिक्वेष्टको स्वीकृति जानकारी आएपछि बैंकले यथाशीघ्र मुद्दती निक्षेपलाई प्राधिकरणको नाममा एयरमार्क गर्नु पर्नेछ । प्राधिकरणबाट अनब्लक रिक्वेष्टको प्रमाणीकरण भएपछि बैंकले उक्त मुद्दती निक्षेप फुकुवा गर्न सक्नेछन् ।

Advertisement

Advertisement