एमसीसीको बर्दघाट सुस्ता पश्चिममा ४०० केभी सबस्टेशन निर्माणको ठेक्का भारतीय कम्पनीलाई

Advertisement

काठमाडौं । एमसीए–नेपालले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा ४०० केभी नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी ठेक्का लिङ्कसन इण्डिया प्रालिलाई प्रदान गर्दै उक्त कम्पनीसँग सोसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार उक्त सबस्टेशनको निर्माण ३९ महिनाभित्र सम्पन्न गरिनेछ ।
बर्दघाट सुस्ता पश्चिममा बिहीबार आयोजित हस्ताक्षर कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपालका लागि अमेरिकी राजदूत डीनआर. थम्पसन, स्थानीय अधिकारी तथा निर्वाचित जनप्रतिनिधि सहभागी थिए ।

कार्यक्रममा राजदूत थम्पसनले नेपालको ऊर्जासम्बन्धी आवश्यकता सम्बोधनका लागि कम्प्याक्ट उपयोगी रहेको सुनिश्चित गर्नेसन्दर्भमा अमेरिकी सरकार नेपालको सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताए । 

Advertisement

उनले घरेलु उपभोग, विस्तारित व्यापारिक एवं औद्योगिक संस्थाहरू तथा सीमापार विद्युतीय व्यापारका लागि भरपर्दाे एवं धान्न सकिने विद्युत् उपलब्ध गराइरहेको नेपालको विद्युत् प्रसारण क्षमतामा यस ४०० केभी नयाँ बुटवल सबस्टेशनले सुधार ल्याउने बताए । 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले यो सबस्टेशन आफूहरुको प्राथमिकतामा रहेको संरचना हो भन्दै यसले सीमापार ऊर्जा व्यापार उल्लेख्य रूपमा उकास्नका लागि विद्यमान २२० केभी सबस्टेशनलाई सघाउने बताए । 

एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले आफूहरुले प्रसारण लाइन र सबस्टेशनहरूको निर्माणसम्बन्धी सम्पूर्ण कार्यलाई तीव्रतापूर्वक अगाडि बढाइरहेको बताए । उनले बाँकी दुई वटा सबस्टेशनको निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नका लागि खरीद प्रक्रियाको अन्तिम चरणमा रहेको बताए । 

एमसीए–नेपालले सरकारको लगानी तथा अमेकिरी सरकारको मिलेनियम च्यालेञ्ज कर्पाेरेशनबाट आर्थिक अनुदान प्राप्त विद्युत् प्रसारण आयोजना अन्तर्गत यस सबस्टेशनका अतिरिक्त नुवाकोटको रातमाटेमा र तनहुँको दमौलीमा पनि एक एक वटा सबस्टेशन निर्माण गर्दैछ । ती सबस्टेशनका लागि निर्माण कम्पनीको छनोट हुँदैैछ ।

Advertisement

Advertisement