प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान आवश्यक भइसक्योः उपाध्यक्ष भुसाल

Advertisement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुपर्ने आवश्यकता निर्माण भइसकेको बताएकी छन् । 

बिहीवार नेपाली काँग्रेसका स्वर्गीय नेता प्रदीप गिरीको स्मृति सभामा उनले जनमत पाउनेले ५ वर्ष शासन गर्नसक्ने अवस्थाको सिर्जना गर्नेगरी प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान आवश्यक देखिएको बताइन् । 

Advertisement

प्रत्यक्ष निर्वाचन विधिमा वा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने विधि नै अहिलेको आवश्यकता रहेको भुसालको भनाई छ । उनले राजनीतिक स्थिरता कायम भएमात्रै विकास निर्माण अघि बढाउन सकिने बताइन् । भुसालले राजनीति झैं आर्थिकरुपमा पनि नेपाल अहिले चुनौतिमा रहेको बताइन् । 

उनले सहकारीले आर्थिक मार्गमा ठूलो दरार ल्याउने काम गरिरहेको बताइन् । भुसालले भनिन्, ‘म पहिला प्रत्यक्ष निर्वाचित कार्यकारी भन्नेमा एकदमै सहमत हो । तर मैले पछिल्ला राजनीतिक घटनाक्रम र अन्तर्राष्ट्रिय स्तरमा भइरहको घटनाहरु हेर्दा को आउने हो ? के हुने हो भन्दा, कता जाने हो भन्ने प्रश्न त हुन्छ । तर जनताले जसलाई समर्थन गर्दछन्, जसले जनमत पाउँछ उसले ५ वर्ष शासन गर्नसक्ने अवस्थाको सिर्जना गर्नुपर्छ । अन्यथा हामी यही राजनीतिक अस्थिरताभित्र एक वर्षमा तीन पटक प्रधानमन्त्रीको विश्वासको मत लिने, त्यही सापेक्षतामा हामी संघीयताको मुख्यमन्त्री फेर्ने अनि यसका निम्ति हुने÷नहुने जे थियो, त्यो हुने काम हुन्छ ।’ 

उनले थपिन्, ‘प्रत्यक्ष निर्वाचन विधिमा वा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने विधितिर हामी जानुपर्छ । यसले राजनीतिक स्थिरता कायम हुन्छ । राजनीतिक स्थिरता कायम भयो भने मात्रै विकास निर्माण अघि बढाउन सक्छौँ । राजनीतिमा जस्तै अहिले आर्थिक रुपमा चुनौति बनेको छ । सहकारीको समस्या जटिल छ । सहकारीले आर्थिक मार्गमा ठूलो दरार ल्याउने काम भएको छ ।’

भुसालले राजनीतिक स्थायित्व दिने र अहिलेको परिवर्तनलाई बलियो बनाउने गरी अघि बढ्न जरुरी रहेको बताइन । उनले अहिले नयाँ सहमतिमा अघि बढ्ने आवश्यकता रहेको बताउँदै राजनीतिक अस्थिरता पैदा भएको र यसलाई स्थायित्वका लागि अघि बढाउन जरुरी रहेको बताइन् । 

Advertisement

Advertisement