काठमाडौँ । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले आफूले पाउने सुविधाको २० प्रतिशत रकम अनाथ असहायका लागि सहयोग गर्ने घोषणा गर्नुभएको छ । उहाँले पदमा रहेसम्म राज्यबाट पाउने सेवासुविधाको २० प्रतिशत गाउँपालिकाभित्रकै अनाथ, असहाय र अपाङ्ग बालबालिकाका लागि सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
त्यस्तै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कुमेरबहादुर शाहीले नेपाल सरकार हाल स्थानीय तहमा कर्मचारी समायोजनको प्रक्रियामा रहेकाले कर्मचारी पूरा हुने बित्तिकै प्रत्येक वडामा शिविर सञ्चाल गरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने बताउनुभयो । गरीब, असहाय तथा अनाथ बालबालिकाको पोषण, शिक्षा, पठनपाठनलगायत कुरामा खर्च गर्ने गरी सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
शाहीले गाउँपालिकाले दिने सेवासुविधामा कुनै राजनीतिक पूर्वाग्रह नगरी सम्पूर्ण जनताका पक्षमा विकास निर्माणका कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गाउँपालिकाभित्र शुद्ध खानेपानी, गुणस्तरीय शिक्षा, पूर्ण सरसफाइ, टोलटोलमा स्वास्थ्य शिक्षा, विद्युत् र स्वरोजगारलाई प्रथामिकता दिने उहाँले बताउनुभयो ।