अटोमोवाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोवाइल एशोसियशनको बार्षिक साधारणसभा तथा नयाँ नेतृत्वका लागि निर्वाचनको कार्यक्रम भोलि बुधबार सुरु हुँदैछ । यसका लागि देशभरबाट तीन हजारभन्दा धेरै अटोमोवाइल व्यवसायी राजधानी काठमाडौंमा भेला हुँदैछन् । नाडाको नयाँ कार्यसमितिका लागि हालका उपाध्यक्ष करण चौधरी र पूर्वउपाध्यक्ष ध्रुव थापाको नेतृत्वको प्यानल चुनावी प्रचारप्रसारमा रहेको छ । यी मध्ये चौधरीको चुनावी तयारी र उनको भावी योजनाबारे कर्पोरेट नेपालले गरेको कुराकानी सार प्रस्तुत छः
नाडाको नयाँ नेतृत्वका लागि तपाईं दौडधुप गर्दै हुनुहुन्छ । कस्तो छ माहौल ? चुनाव जित्नुहुन्छ ?
सबै अटोमोवाइल व्यवसायीको विश्वास जित्न सके म विजय हुनेछु । मैले आजको दिनमा उहाँहरुको विश्वास जितेको छु भन्नेमा विश्वस्त छु । त्यसका लागि मैले आफूले गर्नसक्ने सबै प्रयास र तयारी गरेको छु ।
तपाईंको उम्मेदवारी किन ? चुनाव जितेमा के कुरालाई प्राथमिकता दिनुहुन्छ ?
मैले आज अध्यक्षको उम्मेदवारी दिँदै गर्दा अग्रजहरुलाई सोधेर के गर्दा उचित होला ? भनेर साधेर काम गर्ने सोचेको छु र त्यसै गर्दै पनि आएको छु । अबका दिनमा अग्रजलाई सम्मान गर्दै नाडाको नेतृत्व अब युवाको हातमा जानुपर्छ भन्ने मेरो मान्यता हो । जोसँग नाडालाई अघि बढाउने सोच छ । कार्यशैली पनि भिन्न र नविन हुन्छ, उसले नाडाको नेतृत्व गर्नुपर्छ भन्ने मेरो मान्यता हो । यति हुँदाहुँदै पनि म सर्वगुणसम्पन्न छैन । त्यसैले अब मैले मेरो टिममा भएका सबैलाई समेटेर सँगै अगाडि लैजानुपर्छ जसका कारण म पूर्ण हुनेछु । यसैका कारण मेरो टिममा व्यवसायी, उद्योगीलगायत सबै समेटिनु भएको छ । यो टिममार्फत नाडामा केही गरेर देखाउनु नै मेरो प्रमुख उद्देश्य हुनेछ । सरकार पनि हाल केही गर्नुपर्छ भनेर अघि लागिरहेकै बेलामा नाडाले पनि केही गर्नुपर्छ भनेर लाग्नु जरुरी छ । मेरो मुख्य फोकस युवालाई मौका दिनुपर्यो भन्ने नै हो ।
तपाईंको नाडाको उपाध्यक्ष पनि । अघिल्लो निर्वाचनबाटै तपाईंलाई कतिपयले भावी अध्यक्षको रुपमा हेरेको देखिन्थ्यो । यो बीचमा तपाईंले के कस्तो भूमिका निर्वाह गर्नुभयो र तपाईंलाई नाडाका सदस्यहरुले भोट दिने ?
मेरो हालको कार्यकालमा हाम्रो टिमले नियमित रुपमा सरोकार निकायसँग छलफल गरि विभिन्न बिषयमा नीतिगत सुधार गर्न कोसिस गरेको छ र धेरै बिषयमा सफल पनि भयौं । बिधुतीय सवारीमा भन्सारको विषय हो वा कोरोना महामारीको समयमा खोप उपलब्ध गराउने कुरा होस्, अरु थुप्रै बिषयमा हालको कार्यसमितिले काम गरेको छ । अटोमोवाइल क्षेत्रका धेरै नीतिगत कुरा, व्यवसायीको समस्याका कुराहरुमा पनि सरकारसँग कुरा गर्ने, समस्या राख्ने, समाधानका लागि पहल गर्ने काम यो कार्यसमितिले गर्दै आएको हो ।
यो बीचमा तपाईं जिल्ला जिल्ला पनि घुम्नुभयो । साना अटोमोवाइल व्यवसायीलाई पनि भेट्नुभयो । कोभिड महामारीको पीडामा गुज्रिएर आएका उनीहरुको समस्या कस्तो पाउनुभयो । तपाईं अध्यक्ष भए कसरी समाधान गर्नुहुन्छ ?
पूरै टिमसहित हामीले पूर्वदेखि पश्चिम भ्रमण गरेका थियौं । त्यस क्रममा धेरै व्यवसायी साथीहरु भेट्यौं । उहाँहरुको सल्लाह सुझाव र समस्याबारे गहन छलफल गरेका थियौं । मोफसलका साथीहरुको धेरै खालको समस्याहरु छन् । भ्रमणका क्रममा अझ बढि समस्याहरु बुझ्ने मौका मलाई मिल्यो ।
नाडका वर्तमान अध्यष कृष्ण दुलालज्युले प्रादेशिक संरचनाको थालनी गर्नुभएको छ । यस सरचनालाई अझै प्रभावकारी बनाउने र त्यहाँका साथीहरुलाई सबल बनाउने दायित्व पनि भोलिका दिनमा मेरो हुनेछ । त्यस क्रममा मैले गर्ने अधिकतम् प्रयास गर्नेछु । अहिले नै धेरै कुराको प्रतिवद्धता भन्दा पनि भोलि काम गरेर देखाउने कुरा हो ।
मोफसलमा तपाईंको प्रतिस्पर्धी पनि भोट माग्न हिंडेको देखिन्थ्यो । तपाईं पनि हिंडनुभयो । उहाँले आफ्नो पक्षमा धेरै राम्रो माहौल रहेको दावी गर्दै आउनु भएको छ । तपाईंको माहौल कम हो र ?
आज नाडामा मोफसलको भूमिका महत्वपूर्ण छ । सोही अनुरुप हाम्रो प्यानलमा उहाहरुले उचित प्रतिनिधित्व हुने गरी टिम पनि निर्माण गरेका छौं । मैले मोफसलका व्यवसायी साथीहरुको विश्वास जितेको छु भन्ने लाग्ने । किनभने उहाँहरुमा म प्रति बढी भरोसा र विश्वास देखिन्छ । जिल्लामा हिंड्दा पनि निकै राम्रो माहौल हाम्रो टिम जाँदा देखिन्थ्यो । पोखरामा पनि हामीले अपेक्षा गरेको भन्दा राम्रो माहौल थियो जुन सबैले देखेको कुरा हो ।
तपाईंको प्रतिस्पर्धीको कुरा गर्दा उहाँले लायन्स क्लबमा आवद्ध धेरै नाडाका सदस्यले आफूलाई भोट दिने र सजिलै जित्ने दावी गर्दै आउनु भएको छ । लायन्समा आवद्ध नाडाका सदस्यबाट तपाईंलाई भोट आउँदैन् ?
नाडा र लायन्स दुई भिन्न संस्था हुन् । यो दुवै संस्थाको उद्देश्य र कार्यशैली नै फरक छ । त्यस कारण दुवै संस्थाका भोटरहरु पनि फरक हुनुहुन्छ । आज लायन्सका साथीहरुले लायन्सलाई अलग राखेर नाडाको हितका लागि उचित निर्णय गर्नु जरुरी छ । उहाँहरुले तुलना गर्नुपर्छ । यदि म सक्षम छु । मेरो टिम सक्षम छ भने हामीलाई भोट दिनुस् भनेर अपिल गर्दछु ।
ध्रुव थापाले आफूले अहिलेसम्मकै समावेशी टिम आफूले बनाएको दावी गर्नुभएको छ । तपाईंको टिम कस्तो छ ?
सम्पूर्ण अटो क्षेत्रलाई प्रतिनिधित्व गर्ने चार पाङग्रे, दुई पाङग्रे, व्याट्री, लुब्रिकेन्ट, टायर, स्पेयर पार्टस्, हेभी इक्युपमेन्ट, सबै क्षेत्रलाई समेटर टिम बनाएको छु । हाम्रो समूहमा अनुभव र जोशको उत्तम समिश्रण छ त्यसैले अनुकलता र प्रतिकुलता दुवैमा अटोमोवाइल क्षेत्रलाई सन्तुलित तरिकाले विकास गर्दै अघि बढ्न हाम्रो टिम सक्षम छ ।
नाडाको चुनावमा निर्णायक भूमिका रहने ठूला व्यवसायिक घरानाहरु हुन् । लक्ष्मी हुण्डाई, जगदम्बा मोटर्सलगायतको समर्थन थापालाई देखिन्छ । तपाईंलाई को कोस्को साथ रहन्छ ?
आज म खुशी र गौरवान्वित छु कि मलाई धेरै साना, मझौला र ठूला व्यवसायका साथीहरुले साथ दिन्नु भएको छ ।
दुई पाँग्रेमा यामहा, हिरो, होण्डा, सुजुकी, बजाज, रोयल इन्फिल्ड, टायरमा सियाट, बीकेटी, डेल्टा, मिकेलिन, ब्याट्रीमा एक्साइड, लुकास, गल्प, हिताची, लुब्रिकेन्टमा गल्फ, पीएलओ, म्याक्स, एचपी, एसटीसी, ईएनआई, गाडिमा सुजुकी, टाटा, महिन्द्रा, अशोस लेल्याण्ड, आइसर, जीप, स्कोडा, फोटोन, चाङगन, जेसीबी, टाफे स्कोट्स, भक्सवागन, रेनल्ट, एमजीको समर्थन छ । यति ठूलो समर्थन मेरो लागि गर्वको विषय हो । मप्रतिको विश्वास र भरोसा हो ।
ध्रुव थापाले यस पटकको चुनावमा सहयोग गर्ने भनेर नाडाका अध्यक्ष र पूर्वअध्यक्षले आश्वासन दिएको दावी गर्दै आउनु भएको छ । तपाईंलाई वर्तमान अध्यक्ष, पूर्वअध्यक्षहरुको साथ छैन् र ?
क–कसले उहाँलाई कसरी सहयोग गर्छु भन्नुभएको छ यो बारेमा मलाई थाहा भएन । तर पूर्वअध्यक्षज्यूहरुले नाडाको नेतृत्वमा मेरो लागि पूर्णरुपमा सहयोग गर्ने बाचा गर्नुभएको छ । वर्तमान अध्यक्षज्यू पनि मेरो साथमा हुनुहुन्छ ।
सहमतिको संभावना कति छ ? चुनाव आइसक्यो । मिलेर जान सकिन्न ?
अझै पनि म अन्तिम समयसम्म सहमतिमा कसरी जान सकिन्छ ? भनेर लागिपरेको छु । त्यति गर्दागर्दै पनि सहमतिमा जान सकिएन भने प्रजातान्त्रिक रुपमै चुनावमा जानुको विकल्प रहँदैन ।
तपाईंका आलोचकले तपाईंलाई कान्छो भन्छन् । नाडाको नेतृत्वको लागि उमेर मापदण्ड हुनसक्छ र ?
म कार्यरत संस्था सिजी मोटरकोर्प र समग्र अटोमोबाईल क्षेत्रलाई नै अगाडि बढाउन लागेको १६ बर्ष भयो । मैले करिव १० बर्ष निजी कम्पनी पनि चलाएँ । कुनै पनि लिडरसिप भूमिका लागि उमेरको मापदण्ड हुँदैन जस्तो लाग्छ । येदि कोही सक्षम, सबल छ र केही गर्नुपर्छ भन्ने जोशको साथ अगाडि सरेको छ भने उसले मौका पाउनुपर्छ भन्नेमा म विश्वास गर्छु ।
अर्को कुरा नाडाको देखाउने कुरा नाडा अटो शो मात्रै भयो । अरु नयाँ कुरा भएन पनि गरिन्छ । नयाँ ढंगले अगाडि बढ्ने केही कुरा छन् ?
नाडा अटो शो नेपाल कै सबैभन्दा ठूलो प्रदर्शनीमा पर्दछ । त्यस कारण यसले प्राथमिकता लिएको हुन्छ । तर नाडाले सरकारसँग सहकार्य गरेको नीतिगत परिवर्तन, तालिम, सेमिनार, भन्सार र करसम्वन्धी कामहरु धेरै छन् जसको खासै चर्चा हुन्न । अब प्रदेश संरचनासँग नीतिगतरुपमा महत्वपूर्ण भूमिका निर्माण गर्नुपर्ने दायित्व छ । नाडाको दायरा फराकिलो भएकाले यसको भूमिका पनि बढ्ने छ ।
तपाईंले टिम घोषणाका क्रममा अटोमोवाइलको औद्योगिक विकासलाई जोड दिने कुरा गर्नुभएको थियो । त्यो भनेको नेपालमा धेरै भन्दा धेरै गाडि उत्पादन गर्ने सोचाई हो ?
औद्योगिक विकाश भनेको गाडी उत्पादन मात्र होइन अटोमोवाइल क्षेत्रभित्र पर्ने सबै किसिमका संभावना बोकेको अटो कम्पोनेन्ट उत्पादन गर्ने वातावरण बनाउने र उद्योग खोल्ने प्रोत्सहन गर्ने सोचाई हो । नेपालमा एसेम्ब्ली प्लान्टका लागि सहज वातावरण बन्नुपर्छ। कर र छुटसम्वन्धी नियमलाई परिमार्जन गरी सजिलो बनाउनपर्छ जसले रोजगारी व्यापक सिर्जना गर्छ । त्यसप्रति सरकार पनि उदार बन्नु जरुरी छ । किनभने यो मुलुकको औद्योगिकीकरणसँग जोडिएको कुरा पनि हो ।
हाम्रो सडक पूर्वाधार राम्रो भएर, ट्राफिक व्यवस्थापन राम्रो भएन् भनेर सधैं कुरा हुन्छ । तर सरकारको खासै ध्यान गएको देखिन्न । बर्षेनी धेरै मानिसले दुर्घटनामा ज्यान गुमाउनु परेको अवस्था छ । नाडाले यस्ता कुरालाई अल्ली जोड दिएर किन आवाज उठाउन सक्दैन् ?
नाडाले अहिले पनि सरकार र सम्वन्धित निकायसँग सहकार्य गरेर थुप्रै सेफ्टी अवायरनेश कार्यक्रम गर्दै आएको छ । यो अझै प्रभावकारी तरिकाले आगाडि बढ्ने छ । साथै यस्ता कुरामा सबैले आआफ्ना तर्फबाट भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । हरेकले थप सडक चाहिन्छ भन्छन् । तर यो रातारात हुने कुरा होइन । यस बीचमा हामी सबैले ट्राफिक अनुशासन, लेन अनुशासन आदि जस्ता सामान्य कुराप्रति सचेत भई गाडि चलाउँदा पनि ट्राफिक समस्या र दुर्घटनामा कमी आउँछ ।
अहिले विद्युतीय गाडिलाई प्राथमिकता दिनुपर्ने कुरा आइरहेको छ । नेपालमा बिजुली धेरै भएर खेर गएको पनि अवस्था छ । नेपालमा यस्ता गाडिहरुको संभावना कस्तो देख्नुहुन्छ । समस्या के के देख्नुहुन्छ ?
विद्युतीय सवारी साधन अहिलेको आवश्यक देखिएको छ । यो कुरा राज्यको नीतिसँग जोडिएको कुरा पनि हो । विद्युतीय सवारी साधनहरु नाडा आवद्ध आयातकर्ताहरुले बिक्री गर्न सुरु भइसकेको छ । यसलाई चरणबद्धरुपमा नीतिगत तहमै पुनरावलोकन गर्ने, प्रयोग भइसकेको व्याटीहरुको व्यवस्थापन गर्ने, सहज रिचार्ज गर्ने, विद्युत महशुलमा सहुलियत दिएर यस्ता सवारी साधन प्रयोगमा जोड दिने व्यवस्था मिलाउने, गणस्तरीय र सुरक्षित विद्युतीय सवारी साधनको आयातको नीति बनाउन सरकारलाई नाडाले सहयोग गर्नेछ ।