उद्योगीको सुझाव– बरु लोडसेडिङ नै गरिदिनुस्, बिजुलीको ३८ रुपियाँ तिरेर उद्योग चलाउन सक्दैनौ

Advertisement

काठमाडौं । उद्योगीहरुले बिजुलीको मूल्य प्रतियुनिट ३८ रुपियाँसम्म तिरेर उद्योग चलाउन नसक्ने बताउँदै बरु लोडसेडिङ गरिदिए उद्योग बन्द गर्ने बताएका छन् । उनीहरुले बिद्युत महशुल घटाउनुपर्नेमा बढाउने कुरा गर्न नहुने बताएका छन् । 

नेपाल विद्युत प्राधिकरणले भारतीय बिजुली महंगो दरमा किन्नु परेको भन्दै सोही बढेको दायित्व उद्योगहरुले व्यहोर्नुपर्ने प्रस्ताव अघि सारेका थियो । प्राधिकरणले बिहीबार उद्योगहरुलाई बोलाएर यस किसिमको प्रस्ताव राखेकोमा उनीहरुले अस्वीकार गरेका थिए । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा भने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरुका लागि महशुल नबढाउने बताएका थिए । 

Advertisement

यद्यपि भारतबाट महंगो बिजुली किन्नुपर्दा अर्बौं रुपियाँको थप दायित्व बढ्ने र प्राधिकरण धरासायी हुने भन्दै थप दायित्व उद्योगलाई बोकाउनुपर्ने दबाब घिसिङमाथि छ । प्राधिकरणका कर्मचारीहरुले उद्योगीहरुलाई थप दायित्व नबोकाउने हो भने महंगो बिजुली किन्न नहुने भन्दै दबाब दिएका छन् । 

यता उद्योगीहरुले महंगोमा बिजुली किन्नुपरे बरु उद्योग नै बन्द गर्ने बताएका छन् । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले शुक्रबार कर्पोरेट नेपालसँग बिक्री नभएका कारण कतिपय सिमेन्ट उद्योग बन्द हुने अवस्थामा पुगेको पनि बताए । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सबै कुराको मूल्य बढाएको तर सिमेन्टको मूल्य थोरै रहेकाले ती उद्योग बन्द हुने अवस्थामा पुगेको उनको भनाई छ । 

थापाले भने, ‘समस्या परेको कुरालाई हेरेर हामीले बरु पिक आवरमा खपत कम गरेर सहयोग गर्न सक्छौं । तर प्रतियुनिट ३८ रुपियाँ तिराउने कुरा स्वीकार्य हुँदैन् । लोडसेडिङ नै गरिदिनुस । बरु उद्योग नै बन्द गछौं ।’ उनले पेट्रोलियम पदार्थको भाउ पनि निकै बढेकाले जेनेरेटर चलाएर उद्योग सञ्चालन गर्नसक्ने अवस्था नरहेको बताउँदै सरकारले सहुलियतमा पेट्रोलियम पदार्थ उपलब्ध गराउनुपर्ने बताए । 

थापाले कोभिड महामारी र अरु विभिन्न कारणले संकटमा परेका उद्योगलाई थप व्ययभार थप्ने कुरा उचित नभएको बताए । उनले बिक्री कम भएकाले त्यसै पनि उद्योग कम चल्ने भएकाले पिकआवरमा विद्युत खपत नगर्न समस्या नहुने बताउँदै तर महशुल बढाउने कुरा भने गर्न नहुने बताए । 

भारतीय विद्युत आपूर्तिको अवस्था हेरेर प्राधिकरणले अर्को हप्ता पनि उद्योगीहरुले महशुल बढाउने नबढाउने विषयमा छलफल गर्ने बताएको छ । भारतको अहिलेको महशुल दरअनुसार बिजुली किन्दा प्राधिकरणलाई आठ  अर्ब रुपियाँभन्दा बढी व्ययभार थपिने देखिएको छ । प्राधिकरणले दैनिक सरदर साढे चार सय मेगावाट बिजुली भारतको खुल्ला बजारबाट किन्दै आएकोमा भाउ महंगिएर २० रुपियाँ भारुभन्दा बढी भएपछि किन्न बन्द गरेको थियो । त्यसपछि उद्योगहरुमा अघोषितरुपमा लोडसेडिङ भइरहेको छ । 

घिसिङले आपूर्ति सहज गर्न गए रातिबाटै ३८ रुपियाँ प्रतियुनिट तिरेर भए पनि बिजुली आयात गर्ने बताए पनि शुक्रबार आयात भएको छैन् । अहिले पनि करिव चार हजार पाँच सय मेगावाट घण्टा बिजुली कम भई लोडसेडिङ गर्नुपरेको प्राधिकरणको भार प्रेषण केन्द्रको विवरणबाट देखिन्छ । 

आज उच्च माग हुने बेलुकीको समयमा जम्मा ६५ मेगावाट आयात भइरहेको छ । तर प्रणालीमा उच्च माग एक हजार ६५० मेगावाटको नजिक रहेको छ । ठूला आयोजनाहरुका साथै जलाशययुक्त कुलेखानी जलविद्युत आयोजनाबाट बेलुकीको समयमा बढी उत्पादन गरे पनि माग धान्न नसक्ने देखिएको छ ।   

Advertisement

Advertisement