भोलिदेखि काठमाडौं महानगरभित्र सुर्तीजन्य वस्तु बिक्री र प्रयोगमा पूर्ण निषेध

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि  (बिहीबार)देखि महानगरभित्र सुर्तीजन्य वस्तु बिक्री र प्रयोगमा पूर्ण निषेध गर्ने भएको छ । 

महानगरपालिकाले आफ्नो निर्देशनविपरीत सुर्तीजन्य पदार्थ बिक्री गरेमा पहिलो र दोस्रोपटक जफत गर्ने र तेस्रोपटक पनि फेला परे पसल नै सिल गर्ने चेतावनी दिएको छ ।

Advertisement

स्वस्थ शहर निर्माण गर्ने अभियानस्वरूप बिहीबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी सुर्तीजन्य पदार्थ बिक्री र प्रयोग निधेष गर्न लागेको जनाइएको छ । महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलका अनुसार २९औँ महानगर दिवसको सन्दर्भ पारेर जनस्वास्थ्य र वातावरणमा हानी पुर्याउने सुर्तीजन्य वस्तुको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने निर्णय भएको हो ।

महानगरपालिकाले सुर्तीजन्य पदार्थ बिक्री र प्रयोग नियन्त्रण गर्न महानगर प्रहरी परिचालन गर्ने जनाएको छ । महागरभित्रका पसलमा त्यस्ता सामग्री देखे पहिलो दिन नगर प्रहरीले प्रश्न गर्दैन । सामान बोकेर हिँड्नेछ । दोस्रो दिन पनि सामान देखे जफत नै गर्नेछ । तेस्रो दिन पनि बेचबिखन गरे पसल सिल गर्नेछ । 

विभागले यस्ता सामग्रीहरुको बिक्री र प्रयोग रोक्न यही गएको मंसिर १२ गते १५ दिने सुचना जारी गरेको थियो । सुचनामा सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने कुरा उल्लेख छ । 

Advertisement

Advertisement