एकल अंकको ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने अवस्था आउँदैछः गभर्नर

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रमा राष्ट्रिय वाणिज्य बैंकको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । बैंकको ५९औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । 

विगतमा कुनै समय ६० प्रतिशतसम्म निष्क्रिय कर्जा देखिएको र निकै खराब अवस्था व्यहोरिरहेको वाणिज्य बैंक अहिले निकै व्यावसायिक र प्रतिस्पर्धी बनेको गभर्नर अधिकारीले बताए । पछिल्लो समय अर्थतन्त्रमा सुधार हुँदै गएको बताउँदै  उनले भन्नुभयो, “अर्थतन्त्रमा निकै राम्रो अवस्था हुँदै गएको छ । बाह्य क्षेत्रमा सुधार छ ।बैंक तथा वित्तीय संस्थामा पनि कर्जा असुलीमा केही समस्या बाहेक अरु ठूला कुनै समस्या छैनन् ।”

Advertisement

बैंक वित्तीय क्षेत्रको वित्तीय स्वास्थ्यमा समस्या आउन नदिन नियामक निकाय नेपाल राष्ट्र बैंकले विभिन्न किसिमका ‘प्रोभिजनिङ’ को व्यवस्था ल्याउँदा उनीहरुको नाफा केही घटेको देखिएपनि समग्रमा यसले सकारात्मक प्रभाव नै देखाएको उनले बताए । “बैंक वित्तीय संस्थाको नाफा केही घटेको जस्तो देखिन्छ । घट्नुको कारण प्रोभिजनिङ हो । असल कर्जा दिँदा पनि अनिवार्य प्रोभिजनिङ गर्नैपर्छ । दिगो र सुरक्षित बैंकिङका लागि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो”, गभर्नर अधिकारीले भने ।  पछिल्लो समय मुलुकको समग्र आर्थिक स्थिति शिथिल हुँदा कर्जा असुलीमा केही समस्या देखिएको गभर्नर अधिकारीले बताए ।  

बैंक वित्तीय संस्थालाई अप्ठेरोमा पर्न नदिन राष्ट्र बैंकले नीतिहरुमा सहजीकरण गरिरहेको उहाँले बताए । “नीतिगत दर घटाइएको छ । तरलताको अवस्था निकै राम्रो छ । लगानी गर्नसक्ने अवस्था रहेको छ । बाह्यक्षेत्रतर्फ हामीसँग विदेशी मुद्रा सञ्चितीको अवस्था राम्रो छ । कर्जाको माग क्रमशः बढ्दै जानेछ भन्ने अपेक्षा हामीले गरेका छौं”, उनले भने, “अहिले नै वाणिज्य बैंकले दश दशमलव पाँच प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने अवस्था आइसकेको छ । अब अधिकांश वाणिज्य बैंकले एकल अंकको ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने अवस्था आउँदैछ । यसकारण कर्जाको माग पनि बढ्नेछ भन्ने अपेक्षा हाम्रो छ ।”

यसैगरी पूर्वगभर्नर डा तिलक रावलले पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाहरुको वित्तीय स्वास्थ्य खराब देखिँदै गएको बताए । “अहिले वित्तीय क्षेत्रलाई हेर्दा त्यति सुखद स्थिति म देख्दिन । बैंक तथा वित्तीय संस्थाको मुनाफा घट्दो छ । प्रतिशेयर आम्दानी घटिरहेको छ भने खराब कर्जा बढिरहेको छ । उनीहरुलाई वार्षिक साधारणसभा गरेर आफ्नो वित्तीय स्वास्थ्यको अवस्था बारे जानकारी दिन पनि अप्ठेरो भइरहेको छ” उनले भने । 

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको व्यवसायिकता र कार्यशैलीमा निकै सुधार भएको बताए । आगामी दिनमा प्राथमिकताका क्षेत्रमा लगानी गरेर थप प्रतिस्पर्धी बैंकका रुपमा वाणिज्य बैकलाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।  
 

Advertisement

Advertisement