विनाशकारी भूकम्पको दुई बर्ष पूरा, अधिकांश घरहरु अझै पुनर्निर्माण हुन सकेन

Advertisement

काठमाडौंः विनाशकारी भूकम्पको मंगलबार दुई बर्ष पूरा भएको छ । दुई बर्ष बितिसक्दासमेत भूकम्पले क्षति पुर्याएका निजी घरमध्ये जम्मा ४० प्रतिशत घरको मात्रै पुनर्निर्माण कार्य जारी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।  

प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा छ लाख २६ हजार ६९५ घर क्षति भएको सूची दर्ता भएको थियो । तीमध्ये ४० प्रतिशत घरधनीले घर पुनर्निर्माण सुरु गरेको प्राधिकरणले जनाएको छ । 

Advertisement

ती जिल्लाका पाँच लाख ६२ हजार २७८ लाभग्राहीले अनुदानका लागि सम्झौता गरेका र तीमध्ये पाँच लाख ४३ हजार ६०६ लाभग्राहीले आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेको जनाइएको छ । पहिलो किस्ता नै पूर्णरुपमा वितरण नभइसकेको अवस्थामा दोस्रो किस्ता कहिलेदेखि वितरण गर्ने भन्ने कुरामा प्राधिकरण आफै अन्योलमा देखिन्छ । 

दोस्रो किस्ता भुक्तानीका लागि ३४ हजार १९४ निवेदन परेकोमा १४ हजार ५५७ लाभग्राहीका घर प्रमाणितसमेत भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलले दावी गरे ।  यो बीचमा लाभग्राही आफैंले निर्माण गरेका घर १८ हजार ६३३ पुगेको छ । 

प्राधिकरणले अति प्रभावित १४ जिल्लाबाहेक प्रभावित १७ जिल्लामा ९० हजार लाभग्राही पहिचान गरी अनुदान सम्झौता र पहिलो किस्ता वितरण गर्दै आएको छ । पोखरेलले भूकम्पपीडितलाई सामूहिक रुपमा तीन लाख ऋण दिने कार्यविधि अर्थमन्त्रालयमा पुगेको र चाँडै कार्यान्वयनमा आउने दावी गरे । 

उनले अर्काे हप्तादेखि भूकम्पले क्षति पुर्याएका निजी घरका पुनःपरीक्षण गरिने बताए । भूकम्पले काठमाडौँ उपत्यकाभित्र क्षति पुर्याएका ७५० सम्पदामध्ये बौद्धनाथ स्तूप, नागार्जुन नपास्थित जमाचो पार्टी, कीर्तिपुरको लोहदेग, इचंगुनारायण सत्तल, हनुमानढोका भित्रको नाट्येश्वर मन्दिर, तलेजु भवानी मन्दिर लगायतको निर्माण सम्पन्न भएको र पाटन दरबार क्षेत्र, वसन्तपुर दरबार क्षेत्र, स्वयम्भु क्षेत्र, पशुपति क्षेत्र र चाँगुनारायण परिसर पुनःनिर्माण जारी रहेको जनाइएको छ । 

भूकम्पले क्षति पुर्याएका एक हजार ५९ विद्यालय, ९२९ स्वास्थ्य संस्था र पाँच हजार २३३ खानेपानी योजनाको पुनर्निर्माण पनि भइरहेको जनाइएको छ । पुनर्निर्माणका लागि दाताहरुले चार खर्ब रुपियाँको प्रतिवद्धता गरे पनि राजनीतिक खिचातानीले गर्दा कानुन निर्माण र प्रमुख कार्यकारी अधिकृत नियुक्तमा ढिलाई ढिलो भएको थियो । 

Advertisement

Advertisement