धौलागिरिमै पहिलोपटक कृषि तथा पशुविज्ञान पढाइ शुरु

Advertisement

फलेवासः धौलागिरिमै पहिलोपटक तीनवर्षे कृषि तथा पशुविज्ञान सङ्कायमा कक्षा शुरु भएको छ । पर्वत सदरमुकाम कुश्माबजारसँगै जोडिएका बागलुङ नगरपालिका–१४ बलेवामा स्थापना भएको धौलागिरि पोलिटेक्निकल इन्स्टिच्युटले तीनवर्षे कोर्षमा कृषि तथा बाली विज्ञानको पढाइ शुरु गरेको हो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीको झण्डै ६ करोडभन्दा बढीको लागतमा भवन तथा अन्य पूर्वाधार निर्माण भए पनि पहिलो सत्रका रुपमा कक्षा शुरु भएको हो । प्राविधिक शिक्षा लिनका लागि लाखौँ रुपैयाँ खर्चेर पोखरा, काठमाडौँ लगायतका सुविधा सम्पन्न ठाउँमा जान बाध्य यस क्षेत्रका विद्यार्थी तथा बेरोजगार युवायुवतीलाई मध्यनजर गर्दै तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माको पहलमा उक्त इन्स्टिच्युट स्थापना भएको हो ।

उक्त इन्स्टिच्युटमा यस वर्ष भेटेरिनरीसम्बन्धी कक्षा सञ्चालन गरिने र आगामी वर्षदेखि कृषिजन्य उत्पादन तथा प्राविधिक तर्फका अन्य कक्षा सञ्चालन गरिने धौलागिरि पोलिटेक्निकल इन्स्टिच्युटका प्रमुख बज्रमोहन पौडेलले जानकारी दिए। आवेदन माग भइरहेको र छठ पर्व लगत्तै कक्षा सञ्चालन गरिने समेत उनले बताए ।

यस इन्स्टिच्युटमा एक विषयमा ४० जनासम्मले अध्ययन गर्न सकिने बताइएको छ । उक्त विषय निजी क्याम्पसमा अध्ययन गर्नका लागि ६ देखि दश लाख रुपैयाँसम्म खर्चिनुपर्ने भए पनि सरकारी लगानीमा सञ्चालित उक्त पोलिटेक्निकल इन्स्टिच्युटमा अध्ययन गर्दा एक लाख २५ हजारमा पढ्न सकिने पौडेलको भनाइ रहेको छ ।

कृषि तथा पशु विज्ञान अध्ययनका लागि सबैजसो भौतिक पूर्वाधार निर्माणको काम सकिएको छ । गाईभैँसी फार्म, भेँडाबाख्रा फार्म, कृषिजन्य उत्पादनका लागि करेसाबारीको व्यवस्थापनसमेत भइसकेको सिटिइभिटीका साइड इञ्चार्ज लेखनाथ जोशीले जानकारी दिए । उनका अनुसार अहिले महिला छात्रबास तथा कर्मचारीको आवास निर्माणको काम भइरहेको छ ।

उक्त शिक्षालयमा तीन वर्ष अध्ययन गरेपछि नेपाल सरकारको नायब सुब्बा बराबरको रोजगारी गर्नका लागि योग्य नागरिक उत्पादन हुने भएको छ । अहिलेसम्म जिल्लाको पकुवा र मुडिकुवामा सञ्चालित प्राविधिक शिक्षालयमा १५ महिने कोर्षसम्म पढाइ हुने भए पनि यो इन्स्टिच्युटमा भने तीनवर्षे डिप्लोमा कोर्ष अध्ययन गर्न सकिने भएपछि बढी मात्रामा धौलागिरि क्षेत्रका बासिन्दा लाभान्वित हुने जोशीले बताए ।

यसमा भर्ना हुनका लागि एइई परीक्षामा न्यूनतम १।६ जिपिए प्राप्त गरेको हुनुपर्नेछ । उक्त श्रेणीमा एइई पास गरेका र बेरोजगार भएकाले समेत भर्ना भएर अध्ययन गर्न सक्ने जोशीले जानकारी दिए । आवेदन खुलेसँगै नेपालका धेरै जिल्लाबाट भर्ना हुनका लागि विद्यार्थी आएको बताइएको छ ।

आफ्नै गाउँमा बसेर प्राविधिक शिक्षा लिन पाउने भएपछि यस क्षेत्रका युवायुवती हर्षित बनेका छन् । अन्य शिक्षा लिन रोजगारीको ग्यारेण्टी नहुने तर यहाँ पढ्यो भने रोजगारी सजिलै पाउने भएपछि आफूहरु दश जोड दुई छाडेर यहाँ पढ्न आएको बलेवाका एक विद्यार्थी रमेश पौडेलले बताए । शुरुमा केही कम भए पनि बिस्तारै प्राविधिक शिक्षा पढ्ने विद्यार्थीको आकर्षण बढ्दै जाने प्राचार्य बज्रमोहन पौडेलले बताएका छन् ।

 

Advertisement

Advertisement