कोरोनाकालमा व्यापार र राजश्वको शब्दचित्र

Advertisement

सुमन दाहाल 

काठमाडौं । भन्सार प्रशासनको सञ्चालन र वैदेशिक व्यापारको सहजीकरणका सन्दर्भमा आर्थिक वर्ष ०७६/७७ एक विषम परिस्थितिको वर्ष रह्यो । कोरोनाले हाम्रो जीवनमा नसोचेको परिवर्तन ल्याइदिएको छ ।

Advertisement

विश्वव्यापी कोरोनाको संक्रमणले वैदेशिक व्यापार र भन्सारतर्फको राजश्व सङ्कलनमा ज्यादै ठूलो प्रभाव पार्यो । अत्यावश्यक वस्तुहरुको ओसारपसारका लागि अन्तर्राष्ट्रिय व्यापार कुनै पनि कारणले रोकिनु नहुने हुन्छ । प्रायःजसो सबै देशहरुले कोरोनाको प्रभावबाट बच्न नयाँ नियम र विधिको अनुशरण गरे र कोरोनाको असर कम गर्न र तत्काल त्यसबाट उन्मुक्ति पाउनका लागि देखिएको चुनौतिको सामना गर्न भन्सार प्रशासनको भूमिका महत्त्वपूर्ण देखियो ।

सबै देशका भन्सार प्रशासनहरुले सीमामा हुने झण्झटलाई कम गर्दै व्यापारको लागत घटाउन गरेको उदाहरणहरु यो कोरोना कालमा भएका महत्त्वपूर्ण उपलब्धी रहे । अझ भन्नुपर्दा कोरोनाका कारण भन्सारहरुले व्यापार सहजीकरण सम्झौता र संशोधित क्योटो अभिसन्धिले परिकल्पना गरेको पूर्ण डिजिटल जाँचपास प्रक्रिया र प्रभावकारी जोखिम व्यवस्थापनको आवश्यकता र महत्त्वलाई राम्ररी बुझे र अनुशरण गरे ।

विश्वव्यापी कोरोना संक्रमण भइरहँदा भन्सार कार्यालयहरु सञ्चालनमा अन्यौलता र त्रासको वातावरण श्रृजना भएता पनि जिम्मेवारीवोधका साथ नेपालको भन्सार प्रशासनले आफ्नो कार्यसम्पादनलाई नियमित र प्रभावकारीरुपले सञ्चालन गर्यो । दैनिक औषत ५ अर्बको हाराहारीमा हुने गरेको वैदेशिक व्यापारको परिमाण कोरोना संक्रमण र ०७६ चैत्र दोश्रो हप्ताबाट लकडाउन शुरु भएसँगै घटेर दैनिक १ अर्बमा पुग्यो । एकातर्फ संक्रमण वढदै गयो अर्कोतर्फ संक्रमणसँग जुध्ने अभ्यास पनि हुँदै गयो र विस्तारै व्यापारको परिमाण पनि बद्दै जान थाल्यो ।

२०७७ असार मसान्तसम्म आइपुग्दा सामान्य अवस्थाको तुलनामा करिव ८० प्रतिशतको हाराहारीमा व्यापारले आफ्नो आकार लिएको थियो ।

कोरोनाकालमा व्यापार र राजश्वको शब्दचित्र:

२०७६ चैत्र ११ देखि लकडाउन भई २०७७ असार मसान्तमा खुलेको थियो । चैत्र १ देखि १० गतेसम्मको अवस्थालाई हामीले सामान्य अवस्था मानेर अध्ययन गर्दा लकडाउन शुरु भए पश्चात अर्थात चैत्र ११ पश्चात व्यापार र राजश्व सङ्कलन एक्कासी घटेको र सामान्य अवस्थामा आइपुग्न झण्डै ८ महिना लागेको थियो । कोरोना​ कालमा मानिसहरू घरबाट निस्कन डराइरहेका थिए । उपभोग्य सामानहरू लिन बजार समयमा खुल्दैनथ्यो भने लिन जाने मानिस पनि हच्किइरहेका थिए । लगभग कर्फ्यूको समय जस्तो थियो । तर पनि उपभोग्य वस्तुहरूको आयात भने गतवर्षको नर्मल अवस्थामा भन्दा धेरै गुणा बढी भइरहेको थियो । यसको अर्थ के सामान खपत बढेको थियो, तर पक्कै पनि होइन । यो हाम्रो खुला सिमानाको कारण हुने दैनिक अवैध ओसारपसार रोकिएको कारण भएको थियो । यतिले मात्र पनि हामिलाई हाम्रो खुला सिमानाका कारण भइरहेको वैदेशिक व्यापारको अपचलनलाई प्रतिविम्बित गर्दछ ।

कालमा भन्सार प्रशासन सञ्चालनको भगिरथ प्रयास सम्झदा २०१९ को डिसेम्वर तिर चीनमा एउटा भाइरस आयो रे भन्ने समाचार सुन्दा सुन्दै त्यो भाइरसले युरोपमा तहल्का मचाउन थाल्यो । आफूलाई नपरुन्जेल मानिसले चेत्दैन भने जस्तै यूरोप लगायतका देशहरुमा कोरोनाले तहननहस पार्दैगर्दा हामी त्यसको समाचार सुनेर मात्र वसिरहेका थियौं, तर जब चैत्रको पहिलो हप्ता तिर वीरगञ्जमा एकजनालाई देखियो । मैतिदेवीमा विदेशबाट आएकी एक युवतीलाई पनि देखियो रे भने पछि सातो जान थाल्यो । मानौं घरको ढोका वाहिर आएर वाघ वसेको जस्तो लाग्न थाल्यो । चैत्रको ११ अर्थात २४ मार्च २०२० देखि सरकारले लकडाउन नै गयो । त्यसपश्चात त हिँडडुल र आवातजावत पुरै ठप्प भयो । के गर्दा के हुने हो भन्ने कसैलाई पत्तो थिएन ।

समाचारका भरमा हामी आफैं डाक्टर बनिरहेका थियौं । अरेका भरमा चलिरहेका थियौं । जब लकडाउन भयो, सबै सरकारी निजी संस्थाहरु बन्द भए । कोरोनाको संक्रमणका डरले कतिपय अस्पतालले समेत इमर्जेन्सी बाहेक अन्य सबै सेवाहरु तथा वार्डहरु बन्द गरे । तर भन्सारले छुट पाएको थिएन, किनकी भन्सार एउटा अत्यावश्यक सेवामा पर्दछ र राज्यको सबै सेवा बन्द भइरहँदा पनि अत्यावश्यक सेवा अन्तिमसम्म चलिरहनु पर्दछ भन्ने हामी भन्सारकर्मीहरुलाई राम्ररी थाहा थियो । जिम्मेवारीबोध थियो । जब जनजीवन ठप्प भयो, बाटोमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र भन्सारकर्मीहरुको मात्र आवातजावात थियो, लकडाउनका ८ महिनामा मैले शनिबार पनि भनिन । कुनै पनि दिन म घरमा बसिन । डर त मलाई पनि थियो, तर त्यो भन्दा बढी जिम्मेवारीको चिन्ता थियो ।

कोरोना केबाट र कसरी सर्छ भन्ने यकिन कसैलाई थिएन । जेबाट पनि कोरोना सर्छ भन्ने लाग्न थाल्यो । काकरभिट्टाबाट छुटेका तरकारी फलफुलका ट्रकहरु स्वयं सभासदहरु सहितको समूहले रोक्न लगायो कोरोना आउँछ भनेर । भैरहवाबाट छुटेका तरकारी खाद्यान्न दाङमा नष्ट गरियो सबै जनता मिलेर । धुलावारीमा एउटा प्लाइउडको ट्रकमा स्थानीयले आगजनी गर्न लाग्दा बल्लबल्ल बचाइयो । नागढुँगामा सयौं ट्रकहरु रोकिए । यस्ता धेरै घटना घट्न थाले । व्यवसायीहरुले हामीलाई थर्काउन थाले । गन्तव्यसम्म पुग्न नदिने हो भने सरकारले भन्सारबाट मालवस्तुलाई जाँचपास नगरोस भन्न थाले । लकडाउन शुरु हुने वित्तिकै मैले एउटा तत्काल समस्या समाधानका लागि उप–महानिर्देशकको नेतृत्वमा टीम गठन गरें । त्यो टीमले देशभरी आपूर्तिमा देखिएको समस्याका लागि तत्काल समाधानमा काम गर्न थाल्यो ।

मालवस्तुहरुमा पनि कोरोना हुन्छ र यसबाट पनि संक्रमणको डर हुन्छ भन्ने जनमानसमा परिसकेपछि मैले प्रयोगशालाका प्रमुखलाई निसंक्रमण विधि बनाउन लगाएँ । उनको समूहले अष्ट्रेलिया सरकार देखि विधि भन्सार संगठनले समेत सिफारिस गरेको क्लोरिनेटेड स्प्रे गर्ने विधि तयार पारे पछि त्यसलाई देशभरीका सबै भन्सारमा कार्यान्वयनमा ल्याइयो । निसंक्रमणको त्यो विधिले जनमानस र स्वयं सरकारका उच्चपदस्थलाई समेत विश्वास दिलायो ।  पछि त्यो विधिलाई स्वास्थ्य मन्त्रालयसहितको सिसिएमसीले पुनः परिमार्जन सहित देशभरी उपयोगमा ल्यायो । राज्य सञ्चालनमा आफूले गरेको शुरुवातलाई अन्य निकायले अनुशरण गरेर देशभरी फैलाउँदा आफूलाई कति आनन्द मिल्दो रहेछ भन्ने मैले प्रत्यक्ष अनुभूत गरें ।

मालसामानको आयात नियमित र सुचारु थियो एकाएक आयल निगमले ग्याँसको आयात कम हुन सक्ने भन्दै आधा सिलिण्डर ग्याँस बेच्न थाल्यो । त्यसपश्चात जनमानसमा डर पैदा भयो । सामान नपाउने भयो बजारमा वा नाकाबन्दी हुन लाग्यो भन्ने त्रास यत्रतत्र फैलियो । कोरोनाका कारण चीन तर्फका नाकाहरु बन्द थिए, त्यसले पनि आम उपभोक्तामा भारतले पनि नाकाबन्दी गर्नेछ भन्ने आशंका फैलियो । त्यसपश्चात हामीलाई अझ बढी चिन्ता हुन थाल्यो जनतालाई आश्वास्त कसरी पार्ने भनेर । सो समयमा मैले दैनिक मालवस्तुको आयात विवरण तयार गरी माननीय अर्थमन्त्री, अर्थ सचिव, राजश्व सचिव, वाणिज्य सचिव र गृह सचिवलाई पठाउन थालें । दैनिक एउटा सूचना वेभसाइटमा राखी मिडियामा दिन थालें ।

फेसवुक लगायतका सामाजिक सन्जालहरुमा लेख्न थालें । मालवस्तुको आयात नियमित रहेको र बजारमा उपभोग्य मालवस्तुको अभाव नरहेको विवरण दैनिक र छिनछिनमा दिन थालेपछि जनमाहोल पूरा परिवर्तन भयो । हुँदाहुँदा आयल निगमले समेत आधा सिलिण्डर ग्याँस नबेचेर पुरै सिलिण्डर बेच्न थाल्यो । प्रायः सबै छापाहरुले भन्सारले गरेको समन्वय र सूचना प्रवाहमा खुसी व्यक्त गरे । चिनियाँ भन्सार प्रशासन र भारतीय भन्सार प्रशासनसँग भर्चुअल वैठकहरु गरें जसबाट दुई भन्सार बीच कार्य समन्वय बढ्यो भने नाकावन्दी हल्ला मात्र भएको सूचना सबैलाई प्रेषित गरेँ । यसपछि कर्मचारीहरुलाई कसरी आश्वस्त पार्न सकिन्छ भनेर सोच्न थालें । कर्मचारीहरुले कम जोखिमका सामानहरु छुनु नपरोस भन्नका लागि हरियो लेनको सङ्ख्या बढाउन लगाएँ । औषधी लगायत  स्वास्थ्य सामग्रीहरुको जाँचपास २ घण्टा भित्र गरिसक्न निर्देशन दिएँ । हतार नभएका सामानहरुलाई समय केहि समय क्वारिण्टीनमा राखेर मात्र जाँचपास गर्न लगाएँ ।

त्यतिखेर मास्क, सेनिटाइजर, पन्जा पाइदैन थियो बजारमा । मैले देशविदेशी दाताको सहयोगमा ५००० मास्क र पन्जा प्राप्त गरी सबै कार्यालयमा पुर्याउन लगाएँ । थप बजेट मन्त्रालयबाट लिएर सबै कार्यालयमा मास्क पन्जा र पिपिइका लागि पठाएँ । भन्सार कर्मचारीहरुलाई पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सरह जोखिम भत्ता उपलब्ध गराउन दर्जनौं पटक मन्त्रालयमा अनुरोध गरें तर अफसोच नै भन्नुपर्छ सुनुवाइ भएन । भैरहवाका एकजना कर्मचारीलाई काठमाडौंमा आएको बेला कोरोना संक्रमण भएको खवर आयो । सबै त्रसित भयौं । भैरहवाबाट निजसँगै आएका कर्मचारीहरुको पनि परीक्षण गराइयो ।

त्यसपश्चात कृष्णनगरका २ कर्मचारीमा संक्रमण देखियो लगत्तै विराटनगर अनि वीरगञ्ज हुँदै विभागका समेत धेरै कर्मचारीहरुमा संक्रमण देखियो । नेपालगञ्जका एकजना कर्मचारी आइसियुको पनि अन्तिम उपचारसम्म पुगि निको भए । विराटनगरमा विरामी भएका कर्मचारीहरुलाई विराटनगर भन्सारकै आवास क्षेत्रमा क्वारेण्टीन बनाएर राखियो । लगभग सबै भन्सारमा कर्तव्यवोधको पूरापुर पालना गरे । थोरबहुत संक्रमण देखियो तर भन्सारका कर्मचारीहरुले काम बन्द गरेनन् । भन्सारबाट छुटेका मालवाहक सवारीहरुलाई विभिन्न स्थानहरुमा रोक्न थालियो स्थानीय प्रशासन र सुरक्षाकर्मीहरुले । त्यसको लागि दैनिकजसो गृहसचिव लगायत गृहका सहसचिवहरुलाई अनुरोध गरें । तराइका लगभग सबै प्रजिअहरुसँग दैनिक कुरा गरेँ । दिनमा कम्तिमा एकपटक वाणिज्य सचिव र सहसचिवलाई अनुरोध गरेँ । एउटा ह्वाट्सप ग्रुप बनाएर छिनछिनको सूचना दिन र लिन थालें सबै कर्मचारीहरुबाट । यसले हामीलाई धेरै सजिलो बनायो आपतकालमा ।

आयात निर्यातलाई निर्वाध सञ्चालन गराउनु र अवरोध गर्नेलाई कारबाही गर्नु भनी अर्थमन्त्रीलाई अनुरोध गरेर सिसिएमसीबाट निर्णय गराइयो यसले धेरै हदसम्म ढुवानी सहज बन्यो । विस्तारै बजारहरु खुल्न थाले । लकडाउन व्यवस्थित हुन थाल्यो । कोरोनालाई हामीले पनि चिन्यौं र जुध्नका लागि अपनाउनुपर्ने विधि पनि बुझ्यौं । लकडाउन पूर्व झण्डै १ अर्व दैनिक राजश्व सङ्कलन भइरहेकोमा लकडाउन शुरु भएको पहिलो हप्तामा दैनिक १५ करोड मात्र राजश्व सङ्कलन भयो । यसपछि २०, २५, ४०, ५० हुँदै ५ महिनामा झण्डै झण्डै १ अर्वको हाराहारीमा राजश्व उठ्न थाल्यो । यसबाट जनजीवनमा सकारात्मक सन्देशहरु जान थाले ।

सरकारले कोरोना विरुद्धको खोप सामग्री ल्याउने भयो । त्यसको सहज जाँचपासका लागि पनि भन्सार प्रशासनले एउटा शीघ्र जाँचपास विधि तय गर्यौँ । यिनै तमाम प्रयासहरुको सम्मानस्वरुप नेपाल चेम्वर अफ कमर्सले भन्सार दिवसको अवसर पारेर एक  कार्यक्रम गर्यो र मलाई सम्मान गर्यो । यो सम्मानले भन्सार प्रशासनको जिम्मेवारीवोध अझ बढेको थियो भने मेरो आत्मविश्वास झन् बढेको थियो । भन्सार प्रशासन एउटा राजश्व सङ्कलन गर्ने निकाय मात्र नभएर जनताको आडभरोसका लागि, आमउपभोक्ताको हित संरक्षणका लागि, आपूर्ति श्रृङ्खला व्यवस्थित गर्नका लागि, राज्यको उपस्थितीको अन्तिम समयसम्मका लागि डटिरहने निकाय रहेछ भन्ने ज्ञान त्यतिखेर सबैलाई महसुस भएको थियो ।

निष्कर्षः

कोरोना व्याधिका कारणले विश्वलाई नै एक किसिमको निरासा र हीनता उत्पन्न गरायो । मानिसले सयौं वर्ष लगाएर गरेको आधुनिक विज्ञानको विकासलाई क्षणभरमै निकम्मा सावित गराइदिएको आभाष भयो । मानिसहरूमा आमरूपमा नैरास्यता छायो । तर त्यसको कारणले हाम्रा काम कारबाहीहरूमा धेरै परिवर्तन ल्याइदियो ।

यसले भर्चुअल प्रणालीको व्यापकता ल्याइदियो । जुम र टिम जस्ता भर्चुअल मिटिङका विधिहरूमा उभार ल्याइदियो । जसले गर्दा अब रूपैया खर्च गरेर गरिने बैठक छलफल तथा अन्तरक्रियाहरू विना खर्चमै हुने भए । यसबाट मानव समुदायको फजुल खर्च भइरहेको अब घण्टाको भन्सार विभाग समय पनि बचायो । भन्सारमा पनि भर्चुअल विधिको प्रयोग बढेर गयो ।

जोखिम व्यवस्थापनका विधिहरूमा आमुल परिवर्तन आयो । हाम्रो जस्तो खुला सीमाना भएका देशमा हुने अवैध चोरी पैठारी निकासी त्यससमयमा ठप्प भए । यसबाट हामिले सीमामा कडाइ गर्न सकिएमा व्यापार कसरी व्यवस्थित हुने रहेछ भन्ने ज्ञान प्राप्त गर्न सक्यौं । यो ज्ञान नर्मल अवस्थामा हामीले प्राप्त गर्न असम्भव थियो । तसर्थ, प्रत्येक चुनौतिले सम्भाबनाको ढोका खोल्छ भने जस्तै कोरोना कालमा भन्सार प्रशासन सञ्चालनको अनुभवले हामीलाई वैध व्यापार व्यवस्थापनमा ठूलो ज्ञान र सीप प्रदान गरेको छ । यसको प्रभावकारी उपयोगका लागि हामी सबैको योगदान आज समयले मागिरहेको छ ।

(भन्सार स्मारिकाबाट साभार, लेखक दाहाल नेपाल सरकारका सहसचिव हुन् ।)

Advertisement

Advertisement