सरोकारवाला मन्त्रालयमा काम गर्ने कर्मचारीदेखि यस क्षेत्रको नेतृत्व गर्ने मन्त्रीसम्मलाई हिमाली पर्यटन के हो ? थाहा हुँदैन ।

हिमाली पर्यटनः न जनशक्ति, न पूर्वाधार

Advertisement

–लाक्पाफुटी शेर्पा
पर्वतारोही तथा पर्यटन व्यवसायी
हिमाली पर्यटन प्रवद्र्धनका लागि नेपालले जति काम गर्नुपर्ने हो, जति पूर्वाधार तयार गर्नुपर्ने हो, जति जनशक्ति विकास गर्नुपर्ने हो, त्यो नै गरेको छैन । अहिले जति हिमाली पर्यटन चलेको छ, साहसिक पर्यटन चलेको छ, त्यो केबल निजी क्षेत्रको प्रयास र लगानीमा चलेको हो । यसमा सरकारको प्रयास एकदमै नगन्य छ । व्यवसायी र हिमाल आरोहीहरू आफैं लागेर प्रचारप्रसार गरिरहेका छन् । विदेशमा गएर नेपाललाई चिनाउने काम गर्दै आएका छन् । 

नेपालको पर्यटन क्षेत्रका विभिन्न विधा÷पक्षको कुरा गर्दा हिमाल नै सबैभन्दा बलियो आधार हो । यसका लागि त सरकारले ठूलो लगानी गरेर पूर्वाधार विकास गर्नुपर्ने थियो । जनशक्ति विकास गर्नुपर्ने थियो, जुन हुन सकेको छैन । हामी नेपाललाई चिनाउनुपर्दा सबैभन्दा पहिला सगरमाथाको नाम लिन्छौं । त्यस्तै, लुम्बिनी, पशुपतिनाथ, स्वयम्भू, पोखराको नाम लिन्छौं । हिमालहरू भएकामा गर्व गर्दै गर्दा त्यो क्षेत्रको संरक्षण, विकास गर्नुपर्छ र त्यसबाट देश र सबै जनताले लाभ लिनुपर्छ भन्ने सोच राज्यको हुनुपर्छ । यो दायित्व के निजी क्षेत्रको मात्रै हो र ? 

Advertisement

पहिलो आवश्यकता जनशक्ति 
हिमाली पर्यटनका लागि चाहिने व्यावसायिक जनशक्ति अहिलेसम्म खासै नेपालमा उत्पादन हुन सकेको छैन । म नेपाल पर्वतारोहण प्रतिष्ठानको दुई कार्यकाल कार्यकारी निर्देशक भएर काम गर्दा हिमालय क्षेत्रसँग सम्वन्धित शिक्षाको विकास हुनुपर्छ भनेर धेरै काम गर्ने प्रयास गरें । त्यसअघिसम्म हिमाल चढ्ने र झर्ने कुरामा मात्रै हिमाली पर्यटन सीमितजस्तो थियो । तर त्यसो होइन । हिमाली पर्यटनको बहुआयामिक क्षेत्र छ, जसको विकासका लागि चेतना र शिक्षाको जरुरी छ भन्ने कुराको बोध गराउने प्रयास प्रतिष्ठानले गरेको हो । 

हिमाल चढ्ने र हिमाली क्षेत्रमा सेवा दिने, व्यवसाय गर्ने जनशक्ति विकास गर्न सकेनौं भने हाम्रो हिमाल उपेक्षित हुन सक्ने अवस्था सिर्जना हुन्छ । भोलि हामीले कुनै हिमाली क्षेत्रमा काम गर्ने जनशक्ति पनि नपाएर विदेशी खोज्नुपर्ने अवस्था आउन सक्छ । त्यो स्थिति आउन नदिन नयाँ पुस्तालाई तालिम र सैद्धान्तिक ज्ञान दुवै दिन जरुरी छ । बेलैमा यसोे गर्न सकेनौं भने भोलिलाई चाहिने जनशक्ति कहाँबाट ल्याउने ? 

हिमाली पर्यटनका लागि आवश्यक जनशक्ति विकास गर्नुपर्छ भनेर धेरै पहल गरिएको छ । राजनीतिक र प्रशासनिक तहमा गएर कुरा गर्ने, सरोकारवालाहरूबीच छलफल गर्ने, दबाब दिने, लबिइङ गर्ने काम हामीले गर्दै आएका हौं । तर, समस्या,सरोकारवाला मन्त्रालयमा काम गर्ने कर्मचारीदेखि यस क्षेत्रको नेतृत्व गर्ने मन्त्रीसम्मलाई हिमाली पर्यटन के हो ? थाहा हुँदैन । बुझाउन गाह्रो छ । कर्मचारीहरूको सरुवा भइरहेको हुन्छ । नयाँ कर्मचारीलाई बुझाउन धेरै समय लाग्छ । पर्यटनमन्त्रीको पनि त्यही समस्या छ । कुनै पनि मन्त्री पूरा कार्यकाल काम गर्न नपाउँदै फेरिन्छन् । नयाँ मन्त्री आएपछि नयाँ विचार हुन्छ । पुरानोले गरेको कुरा मैले किन गर्ने ? भन्ने सोच हुन्छ । आवश्यकता के हो ? भन्दा पनि नयाँ नीति नयाँ कार्यक्रमको कुरा हुन थाल्छ । 

पर्यटनसँग सम्वन्धित सबै निकायमा काम गर्ने पियनदेखि मन्त्रीसम्ममा पर्यटनको ज्ञान आवश्यक छ । हिमाली पर्यटनको विकास हुन नसक्नुको मूल कारण पनि यही ज्ञानको अभाव हो । जसरी मानिसको उपचारका लागि आँखाको छुट्टै, मुटुको छुट्टै डाक्टर हुन्छन्, त्यस्तै हिमाली पर्यटन हेर्ने कर्मचारी पनि छुट्टै विकास गर्नुपर्छ । सोही क्षेत्रको ज्ञान भएको मन्त्री र सचिव पर्यटन मन्त्रालयमा आउनुपर्छ । त्यसका लागि सरकारले नै सोहीअनुसारको पाठ्यक्रम विकास गरी परराष्ट्र, राजस्वमा जस्तै छुट्टै सेवा–समूहमा लोक सेवा आयोगले कर्मचारी भर्ना गर्ने पद्धतिको विकास गर्नु जरुरी देखिन्छ । 

पाठ्यक्रम विकास गर्ने क्रममा प्रतिष्ठानमा म र मेरो टिमले डेढ वर्ष त्रिभुवन विश्वविद्यालय धाएर ब्याचलर इन माउन्टेन इन्जिनियरिङ र मास्टर्स इन माउन्टेन इन्जिनियरिङको पढाइ सुरु ग¥यौं । विदेशी विश्वविद्यालयले सम्बन्धन दिन्छौं भन्दा पनि नमानी हामीले विदेशबाट ल्याउने होइन, नेपालकै लाइसेन्स हुनुपर्छ भनेर लाग्यौं । मलाई खुसी के छ भने, हिमालसम्बन्धी एकेडेमी हामीले नेपालमा ल्याउन सक्यौं । 

अहिले हामीले पढाएका विद्यार्थीहरूले ठूला–ठूला एजेन्सी चलाउन थालिसकेका छन् । हिमाल चढ्ने मात्रै होइन, हिमाल चढ्नका लागि व्यवस्थापन गर्ने काम उनीहरूले गर्छन् । हिमाल आरोहणसँग सम्बन्धित सुरक्षा, वातावरणजस्ता कुराहरू हेर्ने व्यावहारिक र सैद्धान्तिक ज्ञान भएका मानिस उत्पादन गर्ने कार्यको सुरुवात भए पनि यो अपर्याप्त छ । यसका लागि सरकारको विशेष पहल र लगानी आवश्यक पर्छ । 

अहिले विश्वविद्यालय तथा कलेजमा पढाउने प्राध्यापकहरू हेर्दा प्रायः अरू सबै विषयका विज्ञ छन् । तर, हिमाली पर्यटनसम्बन्धी ज्ञान भएको पाइँदैन । शिक्षाको विकास गर्दा सबै विषयको ज्ञान भएको मानिस उत्पादन गर्न पहल हुनुपर्ने हो । त्योभन्दा पनि चिन्ताको विषय अहिले सरकारले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई न्याथम (नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान) सँग गाभ्ने भनेर लागेको छ । यो नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान देशको लागि आवश्यक छ । न्याथमसँग गाभ्नु भनेको यसलाई चिहान बनाउनु हो । यो काम नहोस् पनि । 

सबै ‘पिक’ आरोहणका लागि खोल्नुपर्छ
नेपाल आउने पर्यटक हिमाल आरोहण गर्न, पदयात्रा गर्न, साहसिक पर्यटनका लागि आउने गर्छन् । तर, सरकारले हाम्रा हिमशिखर खोल्न कन्जुस्याइँ गर्दै आएको छ । धेरै ‘पिक’ हरू अझै आरोहणका लागि खुला गरिएका छैनन् । ती सबै खुला गरेर सुरक्षा र आवश्यक पूर्वाधार निर्माणमा सरकारले ध्यान दिनुपर्छ । तिनीहरूको प्रवद्र्धन गर्न–गराउन भूमिका खेल्नुपर्छ । त्यसका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्न सक्छ । 

हिमाल भन्दैमा हिमाली क्षेत्रका मानिसले मात्रै त्यसको लाभ लिने होइन । यो लाभ सबै नेपालीले लिने हो, लिनु पनि पर्छ । नेपालीले मात्रै होइन, विदेशीले पनि हिमालको लाभ लिएका छन् । तर, यहाँ  हिमालको लाभ हिमाली क्षेत्रमा बस्नेहरूले मात्रै लिए भन्ने सोच बन्यो । त्यो बिल्कुलै होइन । सरकारले हिमाल आरोहीहरूबाट करोडौं रोयल्टी संकलन गरेको हुन्छ । तर, एक रुपियाँ पनि हिमाल आरोहणका क्रममा घाइते हुने र ज्यान गुमाउने पीडित परिवारको जीवनयापन र तिनका सन्तानको पाठनपाठन, लालनपालनमा खर्च गरेको छैन । हिमाल चढ्न आउने विदेशीले पनि यसको लाभ आफूले पनि लिएको छु भनेर महसुल गरेको छैन । 

कति छन् कम्पनी ? 
नेपालमा दुई हजारभन्दा धेरै ट्राभल, टे«किङ, एक्सपेडिक्सन कम्पनी छन् । यसमा हजारौंले रोजगारी पाएका छन् । जोखिमपूर्ण काम गर्ने पर्यटन श्रमिकको सामाजिक सुरक्षा प्रणाली छैन । सरकारले पनि कुनै राहत सहयोग गर्दैन । बीमा गरे पनि त्यसको दाबी भुक्तानी लिन धेरै सर्त र कठिनाइ छ । फेरि हिमाली पर्यटनको काम भनेको ‘सिजनल’ हो । ‘अफ सिजन’ मा उनीहरूले कसरी आफू र आफ्नो परिवार पाल्ने ? देशलाई चाँडै आर्थिक लाभ दिन सक्ने क्षेत्र पनि हो यो । कुनै राष्ट्रिय समस्या आयो वा महामारी आयो भने सबैभन्दा चाँडै प्रभावित हुने क्षेत्र पनि यही हो । यस्तो संवेदनशील क्षेत्रलाई विशेष संरक्षण गर्नुपर्नेमा सरकारले भने कर थप्ने काम मात्रै गरेको छ । कर तिरेअनुसार सेवा–सुविधा केही पनि छैन । 

अर्को कुरा म युरोपका हिमालमा स्की खेल्ने पहिलो नेपाली हुँ । स्विट्जरल्यान्ड, फ्रान्स, इटालीका हिमालमा स्की खेल्दा हरेक कुरामा सुविधा छ । तर, यहाँ त्यस्तो केही पनि छैन । स्की खेल ल्याउनुपर्छ भनेर मैले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानबाट यससम्बन्धी तालिम दिन सुरु गरें । स्की ल्याउँदा जाडो समयमा हुने ‘ग्याप’ पूर्ति गर्न सहयोग पुग्छ । नेपालको सुदूरपश्चिममा स्की खेलको राम्रो संभावना छ । अरू ठाउँमा पनि छ । स्की भित्रिएपछि यसतर्फ आकर्षण बढ्दो छ । सुरुका दिनमा स्की के हो ? धेरैलाई थाहा थिएन । अहिलेका युवा गाइड, प्रशिक्षक, आरोहीमा स्कीको मोह बढ्दो छ । हिजोका दिनमा हामीले विदेशबाट प्रशिक्षक ल्याएर तालिम दिनुपथ्र्यो । आज त्यो स्थिति छैन । 

कस्तो छ भविष्य ? 
विश्वमा सबैभन्दा धेरै हिमाल भएको देश नेपाल नै हो । हिमाल हाम्रो हीराको डल्लो हो । हामीले हिमाललाई माया गरे हिमालले पनि हामीलाई माया गर्छ । हिमाली पर्यटन फस्टायो भने हिमाली क्षेत्रको स्याउ बिक्छ । जडिबुटीको पनि सदुपयोग गर्न सहयोग पुग्छ । यस क्षेत्रमा खुलेका र खुल्दै गएका नयाँ होटल र रेस्टुरेन्टहरू सञ्चालन हुन्छन् । थप मानिसले रोजगारी पाउँछन् । आर्थिक गतिविधि बढ्छ । सो क्षेत्रमा नयाँ भौतिक विकासको सम्भावना बढेर जान्छ । तर, यो सबै गर्न स्थिर सरकार चाहिने रहेछ । राजनीतिक अस्थिरताले गर्दा पनि विकासमा बाधा पुगेको छ । सरकारको दायित्व आफ्नो ठाउँमा छ । पदयात्रा र आरोहणमा जाने र काम गर्नेले पनि आफ्नो दायित्व भुल्न हुँदैन । उकालो भारी बोकेर जान सक्नेले तल झर्दा फोहोर झार्न किन सक्दैन ?

हिमालको हिउँ पग्लने, हिमपहिरो जानेजस्ता कुरा प्राकृतिक कुरा हुन् । मौसम परिवर्तनको असर हो । यसलाई कम गर्न नेपालको सरकारले मात्रै होइन, विश्वले नै पहल गर्नुपर्ने हुन्छ । यद्यपि हिमाली क्षेत्रमा हुनसक्ने विपत्तिमा भने राहत र उद्धारलाई चुस्त र प्रभावकारी बनाउनु जरुरी छ । यसमा सरकार, निजी क्षेत्र, यस क्षेत्रमा काम गरेका संघसंस्था र व्यक्तिले सामूहिक जिम्मेवारी निर्वाह गर्नुपर्छ । 

Advertisement