पहिलो पटक प्रत्यक्षरुपमा सगरमाथा देख्दा.....

Advertisement

फुर्पा शेर्पा
विश्वको सर्वोच्च शिखर सगरमाथा हर्ने, चुम्ने धेरेैलाई रहर हुन्छ । मेरो पनि रहर थियो, आफ्नै आँखाले सगरमाथा हेने । चुचुरोमा पनि पक्कै एक दिन पुगिएला, तर पहिला आधार शिविरसम्म कहिलेसम्म पुग्ने होला ? भनेर लामो समयदेखि छटपटी हुँदै आएको थियो । त्यो छटपटी पूरा भएको छ । 

सगरमाथा हेर्न जाने जाँचोपाँचो केही समयअघि मात्रै मिलेको हो 
। एउटा शेर्पाकी छोरी भएको नाताले पनि हिमाल नदेखी र हिउँसँग नखेली मेरो जीवन सार्थक हुनै सक्थेन् । त्यसमाथि पत्रकारिता गर्दैगर्दा र पर्यटन विधामा कलम चलाउँदै गर्दा हिमालसँग नजिक हुने इक्छा जाग्दै गयो । त्यो मनोकांक्षा मलाई यही पत्रकारिता पेशाले पूरा गरिदिएको छ । यो अवसर जुराइदिएको छ । यस वसन्त ऋतुमा सगरमाथा आधार शिविरसम्म पुगेर सर्वोच्च शिखरलाई नियाल्ने मौका मिल्यो । 

Advertisement

पर्यटन पत्रकारिता गर्दैगर्दा कहिले पर्यतीय उडानमार्फत हाम्रा पर्वतमालाहरुको सौन्दर्य देख्न पाइएला ? कहिले पदयात्राको अनुभव गर्न पाइएला ? कहिले हिमाल आरोहणको जोखिमपूर्ण प्रयास गर्न पाइएला ? भन्ने व्याग्रतामा म हुन्थे । व्यक्तिगतरुपमा ती कुराहरु गर्न मेरो आर्थिक सामर्थ थिएन् । सगरमाथाको चुचुरोमा टेक्ने सपना सार्थक होला नहोला, तर कुनै पिक चढेर भए पनि आत्मबल बढाउनुपर्छ भन्ने मलाई लागिरहेको थियो । तर कसरी ? कस्ले मलाई साथ र सहयोग देला ? भन्ने प्रश्न उठिहाल्थ्यो । 

धन्य भगवन ! समयलाई कहाँ पुर्याउँछ भन्ने कुरा आज आएर थाहा पाएँ । मैले कहिल्यै नसोचेको तर कल्पना मात्रै गरेको कुरा आज आएर पूरा हुँदैछ । सगरमाथा आधार शिविरसम्म टेक्न सफलता मिल्यो । यो इच्छा मेरो सानोदेखि पनि होइन् । पत्रकारितामा लागेपछि जागेको हो । समाचार संकलनमा जाँदै गर्दा र आफ्नो परिचय ‘फुर्पा शेर्पा’ भन्दै गर्दा धेरैले सोध्ने प्रश्नहरु हो, ‘हिमाल पनि चढिसकेको होला है ?! बेसक्याम्प धेरै पल्ट पुगिसक्यो होला ? हिमालतिर बस्ने खाने सुविधा कस्तो हुन्छ ? हिमाली क्षेत्रमा पदयात्रामा जान कत्तिको गाह्रो हुन्छ ? तर ती सबै प्रश्नको उत्तर दिनसक्ने सामर्थ मसँग थिएन् । 

सगरमाथा आधार शिविर पुगेसँगै अब भने मैले पनि खुलेर जवाफ दिनसक्ने अवस्थाको सुरुवात भएको छ । म तेस्रो पटक सगरमाथा आधार शिविरसम्म पुग्न सफल भएको छु, त्यो पनि एकै बर्षको अन्तरालमा । 

मान्छेको जीवन समयको खेल जस्तो लाग्छ । मनले जान अन्तै खोजिरहेको हुन्छ । समयले अर्कैतिर लगिरहेको हुन्छ । सन् २०१६ मा अमेरिका जाने सोचका साथ आवेदन गरेको थिए । तर म सौभाग्य नै मान्छु, अमेरिकी दूतावासले मेरो आवेदन दुई पटक अस्वीकार गरिदियो । त्यसपछि अष्ट्रेलिया जान तीन लाख रुपियाँभन्दा धेरै खर्च गरें । त्यो पनि सफल भएन् । दुवै असफलताले मलाई आफ्नै मुलुकमा बसेर सेवा गर्न अभिप्रेरित गरिरहेको छ । मैले विस्तारै यी असफलताहरु भुल्दै गएको छु । 

अहिले म पत्रकारिता विषयमा स्नाकोत्तर अध्ययन गर्दैछु । यो विषयमा स्नाकोत्तर अध्ययन गर्ने संभवतः म नै पहिलो शेर्पा महिला हो । नेपालमै बसेर पत्रकारिता गर्दा धेरै अनुभव हासिल गर्ने, धेरै कुरा सिक्ने, धेरै ठाउँ घुम्ने मौका मिलेको छ । र, अहिले सगरमाथा आधार शिविरसम्म यात्रा गर्ने अवसर प्राप्त भयो । 

सगरमाथा आधार शिविरसम्मको मेरो पछिल्लो पदयात्रा जति कष्टपूर्ण रह्यो त्यति नै अविश्वमरणीय पनि रह्यो, जुन म कहिल्यै भुल्न सक्दिन् । नयाँ वर्ष २०८० विश्वकै उच्च ठाउँमा मनाउने अवसर मिल्यो । मेरो लागि भौतिकरुपमा कष्टपूर्ण यात्रा भए पनि खुशीको अवसर हो । मैले जीवनमा कहिल्यै पनि यति लामो पैदल यात्रा र उकाली ओराली गरेको थिइन् । शेर्पाको छोरी भए पनि हिमाल प्रत्यक्षरुपमा देखेको थिइन् । हिमाली क्षेत्रमा मानिसहरु कसरी बाँचेका छन् ? देखेको थिइन् । हिमाली क्षेत्रमा मानिसहरु कसरी पदयात्रा गर्छन् ? कत्तिको कष्ट भोग्छन् ? देखेको थिइन् । हिमालमा पुगेर हिउँ खेलेको थिइन् । 

सगरमाथा आधार शिविरसम्म जति कठिन भयो, त्योभन्दा बढी नाम्चे फर्किने क्रममा भोग्नुपर्यो । आधार शिविरबाट गोरक्षेपसम्म फर्किने क्रममा निरन्तर हिउँ परिरहेको थियो । हिउँमा हिँड्ने क्रममा धेरै पटक मेरो खुट्टा चिप्लिए र लड्न पुगें । यो यात्राले मलाई पीडासँगै हिमाली वातावरणसँग मिल्ने र अभ्यस्त गराउँदै थियो । 

सगरमाथा आधार शिविरसम्म अवसर विश्व कीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पाले जुराइदिनुभएको हो । मेरो यात्रा खास लोबुचे हिमाल आरोहणका लागि थियो । त्यसका लागि मैले पूर्वतयारी पनि गरेको थिए । मौसमको प्रतिकुलताले लाबुचे चढ्न नसके पनि सगरमाथा आधार शिविरसम्म पाइला टेक्ने मौका भने मिल्यो । आधार शिविरमै लाक्पा देन्डी शेर्पाको बारेमा लेखिएको पुस्तक पनि विमोचन गर्ने कार्यक्रमा सहभागी हुने अवसर मिल्यो, जुन मेरो लागि अमूल्य अवसर थियो । उहाँले १० दिनमा तीन पटक सगरमाथा आरोहण गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल हुनुभएको थियो । त्यस्तै, ५९ दिनभित्र विश्वकै पहिलो र दोश्रो सर्वोच्च शिखर सगरमाथा र केटुको सफल आरोहण गरेर दोश्रो पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल हुनुभएको थियो । 

सगरमाथाको बारेमा धेरै पटक समाचार लेखे पनि प्रत्यक्षरुपमा देख्न नपाइरहेको अवस्थामा आफ्नै आँखाले देख्न पाउँदा अर्कै आनन्द महशुस भइरहेको थियो । सगरमाथा हेरिरहँदा आफैलाई विश्वास गर्न गाह्रो भइरहेको थियो । सपना आंशिकरुपमा पूरा भएको महशुस भयो । एक पटक चुचुरोमा पुग्नैपर्छ, मैले आँट गर्नुपर्छ, अठोट गर्नुपर्छ भन्ने भावना आयो । नेपाललाई विश्वमाझ चिनाएको सगरमाथालाई शब्दमा चित्रण गर्न सकिरहेको थिइन् । चार–पाँच दिनको आधार शिविर बसाईमा निरन्तर हिउँ परिरहेको, टेलिफोन र इन्टरनेट सेवाले राम्रोसँग काम गर्न नसकिरहेको अवस्था, योजनाअनुसार लोबुचे आरोहण गर्न नसकेको तनाबमा मोवाइलमा धेरै शब्द कोर्नसक्ने अवस्था थिएन् । काठमाडौं फर्किएपछि केही कोर्नुपर्छ भन्ने लाग्यो । काठमाडौंबाट अप्रिल ११, २०२३ बाट सुरु भएको मेरो सगरमाथा यात्रा अप्रिल २६ मा काठमाडौं फर्किएर अन्त्य भएको थियो । 

प्रकृतिले नेपाललाई दिएको यो सुन्दर सम्पदा हरेक साहसीहरुले एक पटक प्रत्यक्षरुपमा हेर्नुपर्छ । चुचुरोमा पुग्न शरीरले वा मौसमले साथ नदिए पनि कम्तिमा आधार शिविरसम्म पदयात्रा गर्नुपर्छ भन्ने मेरो सबैलाई सुझाव छ । सगरमाथाको सुन्दरता म अहिले बर्णन गर्न सक्द्न् ि। हरेकले आफैले यो सुन्दरको प्रत्यक्ष महशुस गर्नुपर्छ । 

Advertisement

Advertisement