मन्त्रीले सामाजिक सञ्जालमा स्पष्टीकरण सोध्नु केटाकेटीपन हो, म जवाफ दिन्नः महानिर्देशक अधिकारी

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूलाई सोधिएको भनिएको स्पष्टीकरणको जवाफ नदिने अडान लिएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले मन्त्रीले सामाजिक सञ्जालबाट स्पष्टीकरण सोध्ने कुरा केटाकेटीपन हो हो भन्दै हवाई सुरक्षा जस्तो संवेदनशील विषयमा फेसबुकबाट सोधिएको प्रश्नको जवाफ दिनु जरुरी नरहेको बताए । 

Advertisement

अधिकारीले भने, ‘संवेदनशील विषयमा सामाजिक सञ्जालमा सोधिएको स्पष्टीकरण केटाकेटीपन हो । यस्तो स्पष्टीकरणको जवाफ दिनु जरुरी छैन् । राज्यको कतिपय कुराहरुमा गोपनियता कायम गर्नुपर्छ । यो हवाई सुरक्षाको विषय हो । उड्डयन क्षेत्रको संवेदनशीलतालाई ध्यान दिएको देखिएन् । मन्त्रीले यो आवेशमा आएर गरेको निर्णय हो । उहाँ जत्तिको परिपक्व मान्छेले यस्तो गर्दै जाने हो भने देश अर्को गतिमा जान्छ । यो विषयमा परिपक्क निर्णय गर्नुपर्ने देखिन्छ ।’ 

नेपालको कानुनले कुनै पनि निजी कम्पनीलाई विमानस्थल, हेलिपोर्ट निर्माण गर्न दिन सक्दैन् भन्दै त्यो कानुनी परिकल्पना बाहिरको विषय हो भने । अधिकारीले काभ्रेमा सिम्रिक एयरलाई हेलिपोर्ट निर्माण गर्न दिने पर्यटन मन्त्रालयको निर्णय गैरकानुनी भएको संकेत गर्दै मन्त्रालयको निर्णय कार्यान्वयन नहुने बताए । 

सोही कुरामा विवाद बढ्दै गएपछि पर्यटनमन्त्री सुदन किराती र अधिकारीबीच मनमुटाव बढदै गएर मन्त्री स्पष्टीकरण सोध्ने निर्णयमा पुगेका थिए । मन्त्रीले फेसबुकबाट स्पष्टीकरण सोधेपछि अधिकारीले जवाफ दिन अस्वीकार गरेका हुन् । पर्यटन मन्त्रालयले महानिर्देशक अधिकारीलाई नौ बुँदे स्पष्टीकरण सोधेको छ ।

मन्त्री किरातीले गत जेठ २६ गते मन्त्रिस्तरीय निर्णय गर्दै सिम्रिक एयरलाई काभ्रेपलाञ्चोकको बनेपा– १४, राउतगाउँको माथिल्लो भाग इटापु डाँडामा हेलिपोर्ट निर्माण गर्न सैद्धान्तिक सहमति दिएका थिए । उक्त निर्णयको अहिले चर्को आलोचना भइरहेको छ । सिम्रिक एयर मिडिया व्यवसायी रामेश्वर थापाको लगानी रहेको कम्पनी हो ।  

Advertisement

Advertisement