विद्युत प्राधिकरणले मनायो बार्षिकोत्सव, इक्रा नेपालले डबल ए प्लस रेटिङ दिएको छः घिसिङ

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शुक्रबार आफ्नो ३८औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न लागेकोलगायतका कुरालाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरे । 

उनले गएको आर्थिक बर्षमा १२ अर्ब ३३ करोड रुपियाँ खुद नाफा गरेको बताउँदै सञ्चित नाफा ३६ अर्ब ६७ करोड रुपियाँ पुगेको बताए । घिसिङले आर्थिक वर्ष २०७२–७३ सम्म आइपुग्दा वार्षिक घाटा आठ अर्ब ९० करोड रुपियाँ र सञ्चित नोक्सानी बढेर ३४ अर्ब ६१ करोड रुपियाँ पुगेको उल्लेख गर्दै आर्थिक वर्ष २०७३–७४ मा एक अर्ब ५० करोड रुपियाँ खुद मुनाफा आर्जन गरी प्राधिकरणले नाफा कमाउन शुरु गरेको बताए । 
प्राधिकरणको शेयर सर्वसाधारणलाई समेत जारी गर्नेगरी तेस्रो चरणको वित्तीय पुनःसंरचना प्रश्ताव स्वीकृतिका लागि सरकार समक्ष पेश गरिएको घिसिङले बताए । उनले प्राधिकरणको प्राथमिक शेयर सर्वसाधारणलाई निष्काशन गरी संकलन गरिएको रकम ठूला जलविद्युत आयोजनाहरुको निर्माणमा लगानी गरिने बताए । 

Advertisement

घिसिङले संस्थाभित्र आर्थिक पारदर्शिता, जवाफदेहिता र सुशासनलाई कडाइका साथ लागू गरिएको बताए । उनले प्रशासन तथा वितरण चुहावट १३.४६ प्रतिशतमा सिमित गरेर प्राधिकरणको इतिहासमा नयाँ रेकर्ड कायम गर्न सफल भएको दावी गरे । 

उनले भने, ‘सरकारले प्राधिकरणको आर्थिक वर्ष २०६७–६८ सालसम्मको २७ अर्ब १९ करोड रुपियाँ सञ्चित घाटालाई अपलेखन गरिदिएपश्चात् पनि घाटामा जाने क्रम रोकिएको थिएन् । घाटा अपलेखन गरिएको पाँचौ वर्ष अर्थात् आर्थिक वर्ष २०७२–७३ सम्म आइपुग्दा वार्षिक घाटा आठ अर्ब ९० करोड र सञ्चित नोक्सानी फेरि बढेर ३४ अर्ब ६१ करोड रुपियाँ पुगेको थियो । आर्थिक वर्ष ०७३–७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेर नाफाको गौरवमय इतिहास शुरु गरेको प्राधिकरण त्यसपछिका आर्थिक वर्षहरुमा निरन्तर नाफामा छ ।’ 

घिसिङले थपे, ‘गत आर्थिक वर्षसम्म आइपुग्दा वार्षिक १२ अर्ब ३३ करोड रुपियाँ नाफा आर्जन गरी सञ्चित नाफा ३६ अर्ब ६७ करोड पुगेको छ । सर्वसाधारणलाई समेत सेयर जारी गर्नेगरी प्राधिकरणको तेस्रो चरणको वित्तिय पुर्नसंरचना प्रस्ताव स्वीकृतिका लागि सरकार समक्ष पेश गरिएको छ । प्राधिकरणको प्राथमिक शेयर सर्वसाधारणलाई निष्काशन गरी संकलन गरिएको रकम मुख्यरुपमा ठूला जलविद्युत आयोजनाहरुको निर्माणमा लगानी गरिनेछ । प्राधिकरणको सम्पूर्ण सम्पत्तिको वास्तविक मूल्यांकन गराइएको छ भने क्रेडिट रेटिङ गर्ने संस्था इक्रा नेपालले प्राधिकरणको समग्र अवस्थाको अध्ययन गरी डबल ए प्लस रेटिङ दिएको छ ।’ 

उनले हाल ९८ प्रतिशत जनतामा विद्युतको सेवा पुगेको बताए । आगामी दुई वर्षभित्र देशभित्र पूर्ण रुपमा विद्युतीकरण गर्ने गरी आवश्यक कार्य अगाडी बढाइएको घिसिङले बताए । 

Advertisement

Advertisement