दुर्गा प्रसाइँको आन्दोलनबाट डराए ठूला दल, टिकटक नियमन नगरी सोझै बन्द गर्ने निर्णय

Advertisement

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । नियमन गर्ने ठाउँ हुँदाहुँदै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । 

टिकटकबाट सामाजिक सद्‍भाव बिगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको जनाइए पनि व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाइँद्धारा घोषित आन्दोलनको कारण मुख्य देखिन्छ । 

Advertisement

गणतन्त्रको विरोधमा र राजसंस्थाको पक्षमा साथै नेपालमा हिन्दु राष्ट कायम गर्ने, साना ऋणीहरुको ऋण मिनाहा गर्ने, भ्रष्टाचारीलाई कारवाही गर्ने जस्ता मुद्दा उठाउँदै प्रसाइँले मंसिर ७ बाट काठमाडौं केन्द्रीय आन्दोलनको घोषणा गरेका छन् । काठमाडौंमा लाखौं मानिस उतार्ने बताइरहेको बेलाइरहेको बेला उनको पक्षमा झन लहर देखिन थालेपछि गणतन्त्रवादी ठूला दलहरु त्रसित भएका हुन् । 

मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ, त्यसका लागि कुनै डेडलाइन तोकिएको छैन् । उनले भनिन्, ‘टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ । त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ ।’

पछिल्लो समयमा टिकटक लोकप्रिय सामाजिक सञ्जाल बनेपनि बिकृति पनि भित्राएको छ । यसलाई नियम र प्रविधिमार्फत नियमन गर्ने ठाउँ हुँदाहुँदै सरकारले बन्द गर्ने निर्णय गर्नुमा त्रास नै मुख्य कारण देखिन्छ । 

चीनले विकास गरेको यो सञ्जाल भूराजनीतिक कारणले भारत, अष्ट्रेलिया, बेल्जियम, क्यानडा, नर्वे, न्यूजिल्याण्ड, डेनमार्क लगायतका देशले बन्द गरेका छन् ।

Advertisement