हवाई टिकटमा १३ प्रतिशत कर थप्दा पर्यटन क्षेत्र निरुत्साहित भयोः अध्यक्ष ढकाल

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल सरकारले लगाएको हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले नेपालको पर्यटन क्षेत्रलाई निरुत्साहित गरेको बताएका छन् । 

बिहीवार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो भएको र यसले नेपालमा यात्रा गर्ने विदेशीहरु कम भएको बताए । 

Advertisement

पर्यटन व्यवसायमा नकारात्मक असर परेको यो कर हटाउनुपर्ने ढकालको जोड थियो । उनले सरकारले हवाई टिकटमा गत वर्षको बजेटमार्फत सरकारले व्यवस्था गरेको १३ प्रतिशत अतिरिक्त कर करेक्शन गर्न आवश्यक रहेको बताए । 

उनले सरकारले रोयल्टीमा ५ प्रतिशत शुल्क लगाउने नीतिले नेपालमा गुणस्तरीय अन्तर्राष्ट्रिय होटलमा लगानी आउन र सञ्चालनमा समेत कठिन भएको बताए । ढकालले भारतीय र गैरआवासीय भारतीय नागरिकहरुको विवाहको इभेन्ट भारत भन्दा बाहिर गर्ने प्रचलन रहेको भन्दै उक्त इभेन्ट नेपालमा गर्नसक्ने गरी नीतिगत रुपमा व्यवस्था गर्न आवश्यक रहेको बताए । 

उक्त विवाहका इभेन्ट नेपालमा ल्याउनसके नेपालले धेरै लाभ लिनसक्ने अवस्था रहेको बताउँदै उनले सीमामा पर्यटनसँग सम्बन्धित सबै कुराहरु सहज बनाउन आवश्यक रहेको बताए । 

ढकालले भने, ‘पाँच तारे होटलका ५ प्रतिशत सर्भिस चार्जको कारणले गुणस्तरीय विदेशी ब्राण्ड नेपालमा आउनको लागि असजिलो भइरहेको छ । गत वर्षको बजेटले हवाई टिकट र लक्जरी भ्याट थप गरेको छ । त्यसले नेपालको पर्यटन क्षेत्रलाई निरुत्साहित गरेको छ । उक्त भ्याटमा करेक्शन हुनुपर्छ भन्ने हाम्रो माग छ । भारतीय र गैरआवासीय भारतीय नागरिकहरुको विवाहको इभेन्ट भारतभन्दा बाहिर गर्ने प्रचलन रहेछ । उनीहरु थाइल्याण्ड, फिलिफिन्स, इण्डोनेसिया, दुबईमा गइरहनुभएको छ । यो इभेन्टहरु धेरै सख्यामा भइरहेको छ । भारतसँग खुला सीमाना भएकाले नेपालमा विवाह इभेन्ट प्रोत्साहन गर्ने हिसाबले कानूनहरु बनाउनसके छोटो समयमा धेरै पर्यटन ल्याउन सकिने हुन्छ । विवाहको लागि उहाँहरुले ल्याउने सुनका गहनाहरु समेत सहज रुपमा ल्याउने वातावरण बनाउन सक्नुपर्छ । त्यसबाट धेरै ठूलो फाइदा लिन सकिन्छ ।’ 

उनले थपे, ‘सीमामा पर्यटनसँग सम्बन्धित सबै कुराहरु सहज बनाउन सकियो भने धेरै राम्रो हुन्छ । पर्यटन बोर्डलाई निजी क्षेत्रको समेत सहभागिता गराएर अझ प्रभावकारी बनाउन आवश्यक छ । सरकारले भैरहवा र पोखरा दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलहरु धेरै ठूलो लगानीमा बनाए पनि सञ्चालनमा आउन सकेको छैनन् । सरकारले विमानस्थल तत्काल सञ्चालनमा ल्याउनुपर्छ । तत्काल सञ्चालनमा ल्याउन सकियो भने नेपालमा पर्यटनको धेरै सम्भावना रहेको छ ।’

ढकालले पर्यटन बोर्डलाई प्रभावकारी बनाउनको लागि निजी क्षेत्रको समेत सहभागिता गराउन माग गरे । उनले पर्यटन बोर्डमा निजी क्षेत्रको सहभागिताले मात्रै पर्यटन प्रवद्र्धन थप प्रभावकारी बनाउन सकिने बताउनु भयो । अध्यक्ष ढकालले सरकारले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरु तत्काल सञ्चालनमा ल्याउन आवश्यक रहेको भन्दै विमानस्थल सञ्चालनमा ल्याउन सक्दा मात्रै नेपालमा पर्यटनको धेरै सम्भावना देखिएको बताउनु भयो । 

Advertisement

Advertisement