रु. दुई करोड खर्चेर अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउँदै सरकार, प्रम हेलिकप्टर चढेर जाने

Advertisement

काठमाडौं । सरकारले अर्को महिना (मे २९) मा सगरमाथा आधार शिविरमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने तयारी गरेको छ । 

त्यसका लागि रु. दुई करोड खर्च गर्न सरकार तयार भएको छ । यसअघिको सगरमाथा दिवसमा कुनै पनि सहयोग नगरेको सरकारले यस बर्ष भने दुई करोड रुपियाँ दिन तयार भएको हो । उक्त रकम विनियोजन गर्नुको कारण प्रधानमन्त्री पुष्पकमल दाहाल आफै सो कार्यक्रममा सहभागी हुने भएकाले हो । दाहाल हेलिकप्टर चढेर सगरमाथा दिवसको कार्यक्रममा सहभागी हुने योजना बनेको छ । 

Advertisement

अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा प्रधानमन्त्री दाहाल पनि सहभागी हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले बताए । पर्वतारोहणसँग सम्बन्धित् संघसंस्था र व्यवसायीले भने सगरमाथा दिवस मनाउन दुई करोड रकम छुट्टाउने निर्णय सकारात्मक भए पनि अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन जरुरी रहेको बताए । 

खुम्बु गाउँपालिका अध्यक्ष मिङ्मा छिरि शेर्पाले दुई करोड रुपियाँ खर्चेर सरकारले सगरमाथा दिवस मनाउन खोज्नु सकारात्मक भए पनि कस्तो कार्यक्रम गर्न लागेको हो ? आफूलाई थाहा नभएको बताए । दुई करोड रुपियाँ खर्च गरेर अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउनुभन्दा राष्ट्रिय सगरमाथा दिवस भनेर मनाउनु जरुरी रहेको बताए । 

शेर्पाले भने, ‘गत बर्ष ७० बर्ष पुगेको अवसरमा रजत जयन्ती भनेर हामीले अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनायौं । यस वर्ष हामीले नाम्चेमा सानो कार्यक्रम गरेर सगरमाथा दिवस मनाउन लागेका छौं । सगरमाथामा पहिलो पाइला टेकेको ७० वर्ष पुगेको अवसरमा गत बर्ष हामीले सबै सरकारी निकायका प्रतिनिधिलाई बोलाएर अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन पर्छ भनेर माग पनि गरेका थियौ । यो कुरा अहिले पनि राख्छौं । सरकारले राष्ट्रिय दिवसको रुपमा हरेक वर्ष यो दिवस मनाउनुपर्यो ।’ 

गत बर्ष मे २९ मा तेन्जिङ नोर्गे र एडमण्ड हिलारीको सम्मानस्वरुप कार्यक्रम आयोजना गरेकोमा हरेक बर्ष कीर्तिमानी आरोही र गाइडहरुको सम्मान गर्ने कार्यक्रम गर्नुपर्ने उनको भनाई छ । शेर्पाले हिमालमा काम गर्नु जोखिमपूर्ण काम भएकाले उनीहरुको वृद्धावस्था र मृत्यु हुँदा वा अपाङ्ग हुँदा उनको परिवारलाई सामाजिक सुरक्षाको व्यवस्था गर्न कोषको व्यवस्था हुनुपर्ने बताए । उनले अहिलेसम्म हिमाल आरोही, गाइड, पर्वतारोहण क्षेत्रमा आवद्धहरुको लागि सरकारले केही नगरेको गुनासो गरे । 

सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामा काजी शेर्पाले पनि सरकारले अन्तर्राष्टिय सगरमाथा दिवस सगरमाथा आधार शिविरमा मनाउने कुरा सकारात्मक भएको बताए । अन्तर्राष्टिय सगरमाथा दिवस सगरमाथा आधार शिविरमा मनाउँदा विश्वको ध्यान खिच्ने उनले बताए । शेर्पाले भने, ‘सरकारले पनि आफ्नै आँखाले त्यहाँको समस्या देख्ने, बुझ्ने मौका पाउने छ । अन्तर्राष्टिय सगरमाथा दिवस भनेर सरकारले करोडौं पैसा खर्च गरेर काठमाडौंको टुँडिखेलमा मनाउनुभन्दा सगरमाथाको क्षेत्रमा मनाउँदा नै फरक हुनेछ ।’

सगरमाथाको काखमा सगरमाथा दिवस मनायो भन्ने विश्व बजारमा पनि राम्रो सन्देश जाने भन्दै शेर्पाले आफूहरुले हरेक वर्ष नाम्चे बजारमा आफ्नै खर्चमा अन्तर्राष्टिय सगरमाथा दिवस मनाउँदै आएको बताए । उनले आफूहरुले यो दिवस मनाएको १३ वर्ष भएको सुनाए । 

नेपाल पर्वतारोहण संघका प्रमुख सल्लाहकार तथा एसियन ट्रेकिङका अध्यक्ष आङ छिरिङ शेर्पाले सरकारले अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइरहँदा हिमाल आरोहणका क्रममा ज्यान गुमाउने तथा अंगभंग हुनेका परिवारका लागि पनि हेर्ने व्यवस्था गर्नुपर्ने बताए । हिमाल आरोहणबाट ठूलो रोयल्टी संकलन गर्ने सरकारले हिमाल आरोहणमा ज्यान गुमाउने आरोहीहरुको श्रीमती, आमाबाबुको जीवनयापन, बालबच्चाको पालन पोषण र शिक्षाका लागि छात्रवृत्ति दिने कुराको सुनिश्चितता गर्नुपर्ने उनको भनाइ छ । 

शेर्पाले भने, ‘परिवारको आम्दानीको स्रोत नै जो थियो, उसको मृत्यु भयो वा बेपत्ता भयो वा अंगभंग भयो भने त परिवारको आम्दानी नै नहुने भयो । आम्दानी नभएपछि बाँकी रहेको परिवार कसरी बाँच्ने ? बालबच्चा कसरी हेरचाह गर्ने ? कसरी पढाउने ? सरकारले तिनको छोराछोरीलाई कम्तिमा स्नातक तहसम्म पढ्न छात्रवृत्ति दिनुपर्छ भन्ने हाम्रो अनुरोध हो ।’ 

उनले पर्यटन क्षेत्रलाई उद्योगको रुपमा मान्यता दिन आफूहरुले धेरै अगाडिदेखि भन्दै आए पनि सरकारले सुनुवाई नगरेको बताए । शेर्पाले पर्यटन उद्योग जलविद्युत र कृषिपछिको सबैभन्दा ठूलो उद्योग भएको दावी गर्दै यो कुरा सरकारले नबुझेको हो कि ? भने । 

स्वर्गीय लाक्पा नुरु शेर्पाको श्रीमती च्यामु शेर्पाले सरकारले हाम्रो पसिना मात्र खाइरहेको बताइन् । उनले भनिन्, ‘हाम्रो श्रीमानहरुले हिमालमा बगाएको पसिना, दुःख गरी कमाएर त सरकारले विदेशी तथा नेपाली आरोहीहरुबाट लाखौं, करोडौं रुपियाँ रोयल्टी संकलन गर्छ । तर त्यसबाट हामीले केही पनि पाएको छैन् । पाउँछ भन्ने पनि आशा हट्दै गएको छ ।’

आफ्नो श्रीमानले हिमालमा काम गर्थ्यो, त्यहीं बिलायो भन्दै शेर्पाले घरको कमाउने मान्छे नहुँदा परिवारमा के बित्छ ? सरकारलाई केही चासो नरहेको बताइन् । उनले भनिन्, ‘सरकारबाट केही सहयोग मिल्छ भन्ने आशा पनि छैन् । पैसा कमाउन धेरै दुःख हुन्छ । श्रीमानहरु हिमालमा जान्छन् र घर परिवारमा फर्किएर आउला नआउला भन्ने मनमा चिन्ता हुन्छ । घर परिवारको खर्च हेर्दै आएको श्रीमान नहुँदा श्रीमतीहरुलाई धेरै गाह्रो हुन्छ । परिवारको हेरचाह गर्न, घरमा छोरा मान्छे नहुँदा कति पीडा हुन्छ ?’ 

स्वर्गीय लाक्पा रिता शेर्पाको श्रीमती लेमी शेर्पा पनि गत वर्ष वसन्त ऋतुमा आफ्नो श्रीमानको सगरमाथामा निधन भएपछि दुई छोरी टुहुरा भएको बताइन् । श्रीमानको साथ यसरी छुटछ भन्ने आफूले कहिले पनि नसोचेको भन्दै उनले भनिन्, ‘अहिले साथ पनि छुटियो र दुई छोरीहरुलाई कसरी हुर्काउने ? भन्ने कुरामा म चिन्तित छु । सरकारले हामीलाई आर्थिक रुपमा पनि सहयोग गरिदिए निकै सहजीकरण हुन्थ्यो ।’ 

तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन पहिलो पटक सगरमाथामा आफ्नो पाइला राख्न सफल भएका थिए । 
 

Advertisement