नेपालगन्ज भन्सारबाट रु ११ अर्ब ५९ करोड राजस्व सङ्कलन

Advertisement

बाँके । नेपालगन्ज भन्सार नाकाबाट गत वर्षको तुलनामा यस वर्ष राजस्वमा वृद्धि भएको छ । नेपालगन्ज भन्सार अधिकृत ध्रुवराज विश्वकर्माका अनुसार यस वर्षको फागुनसम्ममा गत आवभन्दा १.३५ प्रतिशतले राजस्व सङ्कलन बढी भएको छ । 

गत वर्षको साउनदेखि फागुनसम्ममा रु ११ अर्ब ४३ करोड ६२ लाख २९ हजार राजस्व सङ्कलन भएको छ भने चालू आवको फागुनसम्म रु ११ अर्ब ५९ करोड नौ लाख ४३ हजार राजस्व सङ्कलन भएको छ ।

Advertisement

यस वर्षको आठ महिनामा रु सात करोड ८९ लाख ९५ हजारबराबरको सामान बरामद भएको छ भने गत वर्ष दुई करोड १५ लाख ६३ हजारबराबरको सामान बरामद गरेर भन्सार बुझाइएको छ । 

फागुनसम्मको लक्ष्य रु १८ अर्ब ७७ करोड ४८ लाख २९ हजारको लक्ष्यमा रु ११ अर्ब ५९ करोड नौ लाख ४३ हजार राजस्व सङ्कलन भएको अधिकृत विश्वकर्माले बताए । जसको लक्ष्यको ६१.७४ प्रतिशत सङ्कलन भएको छ । 

उनका अनुसार यसवर्षको फागुनसम्मको आयात रु ४६ अर्ब १७ करोडबराबरको सामान आएको छ । गत वर्षको फागुनसम्मको रु ४३ अर्ब ३० करोडबराबरको सामान आयात भएको थियो । यो ६.६१ प्रतिशतले बढेको हो । 

यो वर्षको फागुनसम्ममा रु एक अर्ब ५६ करोडबराबरको सामान निर्यात भएको छ भने गत वर्ष रु एक अर्ब ५७ करोडबराबरको सामान निर्यात भएको छ । गत वर्षको तुलनामा यो वर्ष १.१९ प्रतिशतले निर्यात घटेको छ ।

यस वर्ष भारतबाट मात्रै ९२।८७ प्रतिशतले सामान आयात भएको छ । सात प्रतिशत सामान चीन, इन्डोनेसिया, मलेसियालगायत अन्य देशबाट आयात भएको भन्सार कार्यालयले जनाएको छ । 

यसै वर्ष भारतमा मात्रै ९९.०७ प्रतिशत सामान निर्यात भएको छ । प्रमुख भन्सार अधिकृत विश्वकर्माका अनुसार यात्रु शाखाबाट मात्रै दैनिक साढे रु दुई लाख राजस्व सङ्कलन हुने गरेको छ । सबैभन्दा धेरै आयल निगमबाट राजस्व सङ्कलन हुने गरेको उनको भनाइ छ । 

उनका अनुसार ५१ प्रतिशत राजस्व सङ्कलन आयल निगमबाट मात्रै हुने गरेको छ । चालू आवको चैत महिनाको राजस्वको लक्ष्य रु दुई अर्ब ४५ करोड तीन लाख ७४ हजार रहेकोमा १७ गते शनिबारसम्म ८० करोड १० लाख ३३ हजार राजस्व सङ्कलन भएको छ । यो भनेको लक्ष्यको ३२.६९ प्रतिशत राजस्व सङ्कलन भएको हो । 

भन्सार अधिकृत विश्वकर्माका अनुसार राजस्व आउने प्रमुख मालबस्तुमा पेट्रोलियम पदार्थ, शुद्ध फलाम, चामल, आलु, टायल, स्टील वायर, सुपारी, भटमासको पीना, एमएस बीलेट, अलकत्रा, फलामे पत्रु र तयारी कपडा आदि रहेका छन् । नेपालबाट जडीबुटीलगायतका वस्तु भारततर्फ निकासी हुने गरेको छ ।
 

Advertisement