प्राधिकरणको सामान आपूर्तिमा ‘तेण्डेल’मार्फत एकाधिकार बढाउँदै घिसिङका चार भाई

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पहिलो पटक कुलमान घिसिङ २०७३ भदौ २७ गते नियुक्त भए । त्यसको करिव एक बर्षपछि उनका चार भाई मिलेर तीन करोड चुक्ता पुँजीको तेन्डेल हार्डवयर नामक आपूर्ति कम्पनी खडा भयो । 

कम्पनी खडा हुनासाथै प्राधिकरणका हार्डवयरका सामानहरुको आपूर्तिमा तेन्डेलले विस्तारै प्रवेश पाउन थाल्यो । त्यो क्रम बढ्दै गएर तेन्डलले आर्थिक बर्ष २०७८–७९ मा ६० करोड ५१ लाख रुपियाँको कारोबार गर्न सफल भयो भने आर्थिक बर्ष २०७९–८० मा ७१ करोड ४० लाख रुपियाँको कारोबार गर्न सफल भयो । यो सफलता चालु आवमा एक अर्ब नाघ्ने देखिन्छ । कम्पनीको लेखापरीक्षण प्रतिवेदनको प्रमाण कर्पोरेट नेपालसँग सुरक्षित छ । 

Advertisement

कृपासिंह तामाङका पाँच भाई छोरामध्ये कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक भएपछि उनका बाँकी चार भाई गणेश घिसिङ, अनिल घिसिङ, सानुकान्छा घिसिङ र सुरेश घिसिङ मिलेर ७५–७५ लाख रुपियाँ लगानीमा तेण्डेल खडा गरिएको थियो । जबकी कृपासिंहको परिवार रामेछाप बेथानचोकको सामान्य आर्थिक अवस्थाको परिवार हो । सामान्य आर्थिक अवस्थाको परिवारका सदस्यले यति ठूलो लगानी देखाएर जोखिम मोलेर आपूर्ति कम्पनी खोल्नु, त्यो पनि दाजु प्राधिकरणको कार्यकारी निर्देशक भएपछि, अर्थपूर्ण देखिन्छ । 

त्यसो त कुलमान घिसिङ कार्यकारी निर्देशक नहुँदै निर्देशक मात्रै हुँदा भाई गणेश घिसिङले सुनकोशी इन्जिनियरिङ प्रा.लि. नामक कम्पनी स्थापना गरे पनि सोचेअनुसार प्राधिकरणबाट विजनेश नपाउँदा कम्पनी लाखौं रुपियाँ घाटामा थियो । कुलमान घिसिङ कार्यकारी निर्देशक हुनासाथै विशेषगरी गणेश घिसिङले प्राधिकरणको ठेक्कापट्टा र आपूर्तिको काम मात्रै हेर्दैनन् राजनीतिक तथा प्रशासनिक तहसम्मको कनेसक्न मिलाएर दाईलाई सहजीकरण गर्दै आएका थिए । अनौपचारिक कुराकानीमा प्राधिकरणको सम्वन्धित विभागका कर्मचारीहरुले ठेक्कापट्टा र आपूर्तिमा गणेश घिसिङको एकलौटी चल्ने गरेको गुनासो गर्दै आएका छन्  । 

तेण्डेलले प्राधिकरणको मात्रै नभएर प्राधिकरणका सहायक कम्पनीको ठेक्कापट्टाबाट समेत लाभ लिँदै आएको छ । काठमाडौंको बौद्ध रामहिटी, काभ्रेको पाँचखाल र बनेपामा समेत कार्यालय सञ्चालन गरेको यो कम्पनीमार्फत आपूर्तिको काम नगर्दा ठेकेदारहरुलाई समेत काम गर्न कठिनाई हुने गर्छ । उसैमार्फत काम गर्दा ठेकेदारहरुलाई पनि बिल पास गरी भुक्तानी लिन समेत सहज हुने गर्छ । कुल १७ वटा बैंकमा खाता खोली कारोबार सञ्चालन गर्दै आएको तेन्डेलले यति धेरै खाता खोल्न आवश्यक ठान्यो ? यो पनि अर्थपूर्ण देखिन्छ । 

अहिले कुलमान घिसिङका भाईहरुको आर्थिक हैसियत बदलिएको छ । लाखको कारोबार गर्ने हैसियत अर्बमा पुगेको छ भने प्राधिकरणदेखि उर्जा मन्त्रालयसम्म राम्रो पहुँच पनि बनेको छ । आफ्नै बलबुताले संघर्ष गरेर सफलता हासिल गर्नेलाई राज्य र समाजले प्रोत्साहन र प्रसंशा गर्नुपर्छ । तर, सत्ताको प्रभाव र पहुँचमा हैसियत बनाउन खोज्नु अख्तियारको दुरुपयोग हो । 

लोडसेडिङ न्यूनीकरण गर्न भूमिका खेलेको ठानेर जनताले कुलमान घिसिङलाई सहानुभूतिको नजरले हेर्ने गरेपछि पछिल्लो समयमा उनी एकपछि अर्को विवादमा पर्दै आएका छन् । 

undefined

Advertisement