भन्सारमा रोकिएका मल तीन दिनभित्र छुटाउ: कृषि तथा जलस्रोत समिति

Advertisement

काठमाडौं । संसदको कृषि तथा जलस्रोत समितिले रासायनिक मल कारखाना स्थापना, वितरण प्रणाली र आपूर्तिमा देखिएको समस्या समाधान गर्न अध्ययन समिति बनाएको छ । 

समितिको सोमबारको बैठकले सांसद काशीनाथ अधिकारीको संयोजकत्वमा रासायनिक तथा जैविक मलको आयात, वितरण तथा अन्य प्रक्रियाका बारेमा स्थलगत अध्ययन समेत गर्ने गरी समिति गठन गरिएको समितिका सभापति गगन थापाले जानकारी दिए । 

Advertisement

सभापति थापाका अनुसार रासायनिक मल आयातमा निजी क्षेत्रको सहभागिता तथा सरकारी प्रयासका बारेमा समेत अध्ययन गर्न कार्यादेश तोकिएको छ । उक्त समितिलाई भारतको समेत अनुभव अध्ययन गर्ने जिम्मेवारी दिइएको छ । 

भारतको अघोषित नाकाबन्दीका समयमा विभिन्न भन्सार नाकामा रोकिएको रासायनिक मल तत्काल छुटाउन तथा आवश्यक प्रक्रिया मिलाउन पनि समितिले निर्देशन दिएको छ ।  

खेतीपातीका समयमा किसानले मल नपाएको भन्ने चर्को गुनासो आइरहेको तर वीरगन्ज भन्सार नाका लगायत विभिन्न नाकामा मल रोकिए पनि प्रवेश प्रक्रिया र भन्सार शुल्कका कारण समस्या पैदा भएको जानकारी आएकाले सो समस्या तीन दिनभित्र मिलाउन निर्देश गरेको छ । 

यस्तै समितिले माथिल्लो कर्णाली, पश्चिम सेती र अरुण तेस्रो जस्ता ठूला आयोजनाको स्थलगत अध्ययनका क्रममा देखिएको विषयवस्तुलाई एकीकृत कागजात बनाएर सदनमा नै पेस गर्ने गरी आवश्यक तयारी गरिएको छ । ती आयोजनाबारे अध्ययन प्रतिवेदन तयार गर्न सभापति थापाले संयोजन गर्ने जिम्मा लिनुभएको छ । सभापति थापाको नेतृत्वमा रहेको ऊर्जा सङ्कट कार्ययोजना अनुगमन समितिले आवश्यक तयारी गर्नेछ । 

यस्तै खाद्यान्न, तरकारी र फलफूलको गुणस्तरमा गुणस्तर मापन गर्ने प्रयोगशाला, विषादिको प्रयोग, सोसम्बन्धी नीतिगत व्यवस्था लगायत विषयमा अध्ययन गर्न सांसद रामेश्वर ढुङ्गेलको संयोजकत्वमा अर्को समिति गठन गरिएको छ । रासस 

Advertisement

Advertisement