केसीलाई अनशन तोडेर वार्तामा आउन सरकार र प्रमुख दलहरुको आग्रह

Advertisement

काठमाडौंः सरकार, संसदीय समिति र प्रमुख तीन दलका शीर्ष नेताहरुले अनशनरत डा. गोविन्द केसीलाई आन्दोलन छोडेर वार्तामा आउन आग्रह गरेका छन् । उनीहरुले माथेमा आयोगको प्रतिवेदनको मर्मअनुसार चिकित्सा शिक्षा विधेयक अघि बढाउने आश्वासन दिँदै केसीलाई अनसन तोड्न आग्रह गरेका हुन ।

एघारौं चरणको अनशनअन्तर्गत १२औं दिनको आमरण अनसनमा रहेका केसीको स्वास्थ्य अवस्था कमजोर भइरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार एमाले अध्यक्ष केपी ओलीलाई समेत बोलाएर संसदीय समिति, स्वास्थ्य मन्त्री, मुख्यसचिव लगायतको बैठक राखेका थिए ।

झण्डै तीन घन्टासम्म चलेको बैठकमा संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सदस्यहरुले विधेयकको अवस्थाबारे जानकारी गराए । लामो छलफलपछि बैठकले माथेमा आयोगको प्रतिवेदनको मर्म अनुसार विधेयक अघि बढाउने भन्दै केसीलाई आमरण अनसन तोड्न आग्रह गरेको छ ।

संसदीय समितिमा छलफलमा रहेको उक्त विद्ययेक माथेमा आयोगको प्रतिवेदन र आफ्नो सुझाव अनुसार तत्काल पास गर्न केसीले माग गर्दै आएका छन् ।

प्रधानमन्त्री निबास बालुवाटारमा भएको बैठकबारे जानकारी दिँदै शिक्षा सचिव एवं केसीसँग वार्ताका निम्ति गठन भएको सरकारी वार्ता टोलीका संयोजक शान्तबहादुर श्रेष्ठले चिकित्सा शिक्षासम्बन्धी विधेयक संसदमा दर्ता भइसकेको र त्यसमा दफावार छलफल गर्नुपर्ने भएकाले अनसन तोडेर छलफलमा भाग लिन आग्रह गर्ने निर्णय भएको बताए ।

Advertisement

Advertisement

Advertisement