माइक्रोबसको अस्वस्थ प्रतिस्पर्धा रोक्न ‘सुरक्षित माइक्रोबस यात्रा’ अभियान शुरु

Advertisement

काठमाडौंः महानगरीय ट्राफिक महाशाखाले ‘सुरक्षित माइक्रोबस यात्रा’ अभियान शुरु गरेको छ । काठमाडौँ उपत्यकामा धेरै मानिसहरु माइक्रोले ठक्कर दिएर दुर्घटना भएको भन्दै यसलाई कम गर्न ‘सुरक्षित माइक्रोबस यात्रा’ यात्रा शुरुवात गरेको हो ।

महाशाखाले मंगलबार साँझ न्यूरोड गेटमा यात्रु लिन पर्खेका माइक्रोबसका चालकलाई जनचेतनामूलक शिक्षा प्रदान गर्नुका साथै शिक्षा लिइसकेका माइक्रोबसमा स्टिकर टाँसेर छाडिदिएको थियो ।

भदौ १४ गतेदेखि ‘सुरक्षित मोटरसाइकल यात्रा’ अभियान शुरु गरेको महाशाखाले मंगलबारबाट ‘सुरक्षित माइक्रोबस यात्रा’ अभियान शुरु गरेको हो । महाशाखाका प्रमुख सर्वेन्द्र खनालले यात्रुलाई आफ्नो सवारी साधनमा राखेर लैजानका लागि एक अर्को चालकबीच प्रतिस्पर्धा हुने र तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना हुने भन्दै उक्त दुर्घटनालाई कम गर्नका लागि महाशाखाले यो अभियान सञ्चालन गरेको जानकारी दिए ।

शुरुमा न्यूरोडबाट शुरु गरिएको उक्त अभियानलाई काठमाडौँ उपत्यकाभरी सञ्चालन गरिने महाशाखाले जनाएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सवारी चालकलाई ट्राफिक जनचेतनामूलक शिक्षा दिएर चालक तथा सहचालकको बोली वचनमा परिवर्तनमा आउने बताए । उनले यो कामको शुरुवात गरेर महाशाखाले राम्रो काम गरेपनि पूर्वाधारका लागि सरकार गम्भीर हुनुपर्ने स्पष्ट पारे ।

प्रशिक्षण दिएका माइक्रोबसमा स्टीकर टाँसेपछि पुनः प्रशिक्षण दिनु नपर्ने भएकाले स्टिकर टाँस्ने व्यवस्था गरिएको महाशाखाले जनाएको छ । यो अभियानलाई प्रत्येक दिन सञ्चालन गर्ने महाशाखाले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement