नेपाल-भारतका सीमावर्ती क्षेत्रका सुरक्षा प्रमुखको बैठक सम्पन्न

Advertisement

वीरगञ्ज: आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर नेपाल–भारत सीमावर्ती क्षेत्रका सुरक्षा प्रमुखको द्विपक्षीय बैठक आज यहाँ सम्पन्न भयो ।
बैठकमा निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गराउन निर्वाचन हुनु अगाडि ७२ घण्टासम्म नेपाल–भारत सीमाबन्द गर्ने, सीमा क्षेत्रमा हुने अवैध ओसारपसार, चेलीबेटी बेचबिखनलाई नियन्त्रण गर्ने, अपराधजन्य घटना नियन्त्रणका लागि नेपाल–भारत दुवै देशका सुरक्षा अधिकारीले एकअर्कालाई सूचना आदानप्रदान गर्ने, सुरक्षा संयन्त्रलाई प्रभावकारी बनाउने र लागुऔषध ओसारपसार नियन्त्रण गर्ने लगायत बिषयमा सहमति भएको हो ।

शान्तिपूर्ण निर्वाचनका लागि सीमापारीबाट हुने आपराधिक गतिविधिलाई सूक्ष्म तरिकाले निगरानी गरेर त्यस्ता समूहलाई निरुत्साहित गर्न तथा सीमावर्ती भारतीय क्षेत्रमा उच्च सतर्कता अपनाएर सुरक्षा व्यवस्थालाई अत्यन्तै कडा पार्ने बिषयमा पनि बैठकमा सहमति भएको पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले बताए ।

त्यस्तै नेपालबाट अवैधरुपमा भारततर्फ जाने मदिरा नियन्त्रण गर्ने, मानव बेचबिखन र नक्कली नोटको कारोबारलाई निरुत्साहित गर्न भारतीय पक्षले अनुरोध गरेको बैठकमा सहभागी एक अधिकारीले बताए ।

यसैगरी बैठकमा आपराधिक गतिविधि र लागुऔषध ओसारपसार नियन्त्रण गर्ने बिषयमा नेपाल–भारत दुवै देशका सुरक्षा अधिकारीले समन्वय र सहकार्य गर्ने बिषयमा पनि सहमति भएको जनाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहको अध्यक्षतामा भएको सो बैठकमा बारा, रौतहत, चितवन, नवलपरासी (पूर्व)का प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर, उद्धवबहादुर थापा, केशवराज भट्ट, शम्भु मरासिनी तथा सुरक्षा अधिकारीको सहभागिता रहेको थियो भने भारततर्फबाट पूर्वी चम्पारणको मोतिहारी जिल्ला मजिस्टे«ट रतनकुमार सिंह, पश्चिम चम्पारणको बेतिया जिल्लाका मजिस्ट्रेट डा निलेश डेबरेलगायत भारतीय सुरक्षा अधिकारीको सहभागिता थियो ।

Advertisement

Advertisement

Advertisement