गृह नपाएपनि खुसी छुः लालबाबु, ‘देउवा सरकारले प्रक्रिया नपुर्याई गरेका निर्णय सबै खारेज हुन्छन’

Advertisement

काठमाडौंः नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले एक÷दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने र त्यो विस्तारित मन्त्रिमण्डलमा माओवादी केन्द्र पनि सहभागी हुने दावी गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लबमा बोल्दै पण्डितले अबको दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने बताए । उनले भने, ‘एक दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुन्छ, माओवादी केन्द्र पनि सरकारमा सहभागी हुन्छ ।’

पण्डितले एमाले र माओवादी केन्द्रबीचको एकता अन्तिम चरणमा पुगेकोले एकता पनि चाँडै घोषणा हुने जिकिर गरे । उनले आफूले भर्खरै जिम्मेवारी सम्हालेकोले केही दिन मन्त्रालयको नीति तथा कार्यक्रम अध्ययनमा समय खर्चिने बताए ।

पण्डितले राष्ट्रिय सम्पदा तथा प्राकृतिक स्रोतलाई नेपालको हितमा मात्रै प्रयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘वातावरणलाई सन्तुलित बनाउन, स्वच्छ बाउनको लागि दत्तचित्त भएर काम गर्छु ।’

तपाईं त गृह मन्त्रालयको जिम्मेवारी दिए मुलुकमा अपराध जिरोमा झार्छु भन्नुहुन्थ्यो तर तपाईंलाई अर्के मन्त्रालयको जिम्मेवारी दिइएकोमा कत्तिको सन्तुष्ट हुनुहुन्छ ? भनेर सोधिएको प्रश्नमा उनले भने, ‘यो प्रधानमन्त्रीय प्रणाली हो, कुनै बेला पनि जिम्मेवारी हेरफेर हुन्छ, मैले असन्तुष्टि किन राख्ने ? म त अझै धेरै सन्तुष्टि हुनेगरि काम गर्छु, जनताको हितमा काम गर्छु ।’

प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकारको प्रमुख नीति तथा कार्यक्रमहरु विकास केन्द्रित गतिविधिमा केन्द्रित हुने पण्डितले बताए । उनले भने, ‘हाम्रो चाहना छ, सम्पूर्ण नेपालीहरु सुखी हुनुपर्छ, खुशी हुनुपर्छ, त्यसैको लागि हामी काम गर्छौं ।’

अघिल्लो सरकारले गरेका कतिपय निर्णयहरु गलत भए वा प्रक्रियागत रुपमा ठिक नभए ती निर्णयहरुलाई आफूहरुले खारेज गर्न सक्ने पनि मन्त्री पण्डितको भनाई थियो । उनले भने, ‘अघिल्लो सरकारले गरेका निर्णयहरु हामी हेर्छौं, प्रक्रियागत छैनन् भने ती सबै निर्णयहरु होल्ड गर्छौं, नियमसंगत नभएका निर्णयहरु खारेजी गरिन्छ ।’

मन्त्री पण्डितले भविष्यमा संविधान संशोधन हुने भए पनि अहिले नै संशोधन नगरिने स्पष्ट पारे । उनले भने, ‘सुरुवातमै संविधान संशोधन हुँदैन्, भविष्यमा हुन्छ ।’ उनले वातावरणलाई स्वच्छ बनाउन आफूले गम्भीर पहल लिने बताए ।

मन्त्री पण्डितले पार्टीभित्र सबै नेताहरुलाई उचित व्यवस्थापन हुने बताए । उनले भने, ‘एमालेभित्र मात्रै होइन, अब त माओवादी पनि एउटै पार्टी हो, सबै नेता तथा कार्यकर्ताको उचित व्यवस्थापन हुन्छ ।’

Advertisement

Advertisement

Advertisement