खेलकूद मन्त्रीको प्रश्न- ०.३१ प्रतिशत बजेटले कसरी खेलकूदको विकास गर्ने ?

Advertisement

काठमाडौंः युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रालयमा सीमित स्रोत साधन र बाध्यताका कारण पर्याप्त बजेट नभएको गुनासो गरेका छन् ।

राष्ट्रियसभाको आइतबारको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको जावाफ दिँदै उनले राष्ट्रिय बजेटको ०.३१८ प्रतिशत अर्थात् रु चार अर्ब मात्र बजेट विनियोजन भएको बताए ।

खेल क्षेत्र दुरवस्थामा रहेकाले भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताउँदै विश्वकर्माले आगामी तीन वर्षभित्र खेलकूद परिषद् पुनःनिर्माण पूरा हुने बताए । देशभरका ७५३ वटै स्थानीयस्तरमा रंगशाला निर्माण गर्न मन्त्रालयले समन्वयकारी भूमिका निर्वाह गरिएको छ भन्दै उनले स्थानीय तहदेखि नै खेल क्षेत्रको विकास गरिने बताए ।

विश्वकर्माले खेलाडीको कोठा सम्मानले भरिए पनि उनीहरुको उचित संरक्षण गर्न नसकिएको भन्दै सरकारले खेलाडीको स्वास्थ्य बीमा, जीवन बीमा एवं भत्ताको व्यवस्था गर्ने बताए ।

स्थानीय, प्रदेश एवं केन्द्रीयस्तरमा नियमितरुपमा प्रतियोगिता सञ्चालनका लागि प्रोत्साहन गरिएको छ भन्दै उनले उच्चस्तरको प्रविधियुक्त तालीम तथा पूर्वाधारका लागि पर्याप्त बजेट नभएको बताउनुभयो । भौगोलिक क्षेत्रमा खेलको विकास गरेर पर्यटन प्रवद्र्धन गर्न सकिने विश्वकर्माको भनाई छ ।

आगामी मंसीरमा आठौंँ राष्ट्रिय खेलकूद प्रतियोगिता नेपालगञ्जमा आयोजना गर्न मन्त्रालय केन्द्रित भएको जानकारी दिँदै विश्वकर्माले त्यस क्षेत्रमा पूर्वाधार निर्माणका लागि केही बढी खर्च भएको स्पष्ट पारे ।

काठमाडौँ र पोखरामा हुने तेह्रौँ दक्षिण एशियाली खेलकूदका लागि आफूले सीमित साधन स्रोतको परिचालन गरिरहेको मन्त्री विश्वकर्माको भनाइ थियो । मितव्ययी तवरले अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा योग्य खेलाडी र प्रशिक्षक पठाइने प्रतिबद्धता व्यक्त गर्दै उनले घुम्न जाने परम्परालाई तोडिने बताए ।

Advertisement

Advertisement

Advertisement